वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत रुख कटानीको चर्को विरोध


kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं,९ जेठ २०७७। वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको श्रीकृष्ण सामुदायिक वनमा रुख कटानी हुन थालेपछि वनका उपभोक्ताले चर्को विरोध गरेका छन । आज ‘भू माफियालाई भगाऔँ, प्राकृति वन जोगाउ’ भन्ने प्लेकार्ड बोकेका उपभोक्तले सामुदायिक वनको रुख कटानी भइरहेको क्षेत्रमा पुगेर विरोध गरेका हुन् ।

वैज्ञानिक वन व्यवस्थापनका नाममा वर्षौंदेखि जोगाएको वन बन्दाबन्दीको मौका छौप्दै कटान हुन थालेपछि उपभोक्ता आक्रोशित हुँदै रुख कटानीको कार्य तत्काल बन्द गर्न माग गर्दै सङ्घर्षमा उत्रिएका हुन् । बन्दाबन्दीका बेला अत्यावश्यकबाहेका कार्य गर्न नहुने समयमा वन तथा वातावरणीय प्रभावलाई समेत ध्यान नदिई दर्जनौँ सालका काँचा रुख मजदूर लगाएर धमाधम काटिन थालेपछि उपभोक्ताले त्यस कार्यको चर्को विरोध गरेका छन् ।

सामाजिक दूरी कामय गर्दै वन क्षेत्रमा विरोध गर्न पुगेका उपभोक्ताले छानी छानी सिधा सालका रुख मात्रै कटानी भइरहेकाले सो कार्य तत्काल रोकिनुपर्ने बताउनुभएको छ । सामुदायिक वनका पूर्वसचिव जयबहादुर ऐरले सामुदायिक वनका उपभोक्ता वैज्ञानिक वन व्यवस्थापनको विपक्षमा हँुदाहुँदै पनि सामुदायिक वनका पदाधिकारीले साधारण सभामा वनका साधारण सदस्यको कीर्ते दस्तखत गरी प्रस्ताव पास गरेको आरोप लगाउनुभयो ।

वैज्ञानिक वन व्यवस्थापनको कार्य रोक्नका लागि २०० उपभोक्ताको हस्ताक्षरित ज्ञापनपत्र डिभिजन वन कार्यालयमा बुझाउँदासमेत रुख कटानीको आदेश दिइएको उहाँले बताउनुभयो । सामुदायिक वनका निर्वाचित पदाधिकारीले उपभोक्ता समिति छाडेकाले विद्यमान सामुदायिक वनको उपभोक्ता समितिको वैधानिकता नरहेको सामुदायिक वनका उपभोक्ता हरेन्द्र भण्डारीले बताउनुभयो । वैधानिकता नभएको समितिले गरेको कार्यसमेत अवैध हुने भएकाले रुख कटानीको कार्यसमेत अवैधरुपमा भइरहेको उहाँको आरोप छ ।

नगरपालिकाका न्यायिक समितिका सदस्य उत्तरदेव भट्टले वैज्ञानिक वन व्यवस्थापनको कार्य चुस्त र दुरुस्त हुनुपर्नेमा सर्लक्क परेका सिधा सालका रुख मात्रै काटिएको बताउनुभयो । नगर प्रमुख दिलबहादुर ऐरले सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन र रुख कटानीको कार्यबारे कुनै किसिमको समन्वय नगरेको बताउनुभयो । “आपत्कालीन अवस्थामा अत्यावश्यक कार्यबाहेक अन्य कार्य गर्न नपाइने भन्ने छ”, उहाँले भन्नुभयो, “रुख कटानीको कार्य आपत्कालीन कार्यमा पर्दैन, कसरी डिभिजन वन कार्यालयले कटानीको आदेश दियो ।”

सामुदायिक वनका अध्यक्ष दानबहादुर बोहराले वैज्ञानिक वनको कार्ययोजनाअनुसारनै रुख कटानीको कार्य भइरहेको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाअनुसार डिभिजन वन कार्यालयबाट कटानी आदेश लिएर मात्रै रुख कटानीको कार्य भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार आम उपभोक्ताको सहमति, साधारण सभाको निर्णयबमोजिम र कार्य योजनाअनुसार कार्य भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *