नेकपा सांगठनिक र वैचारिक रूपको अन्योल छ – राधाकृष्ण मैनाली


kamdardainik.com (First, Fast & Accurate)

० नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य स्थिति जटिल हुँदै जाँदा तपाईंले उहाँले अब विश्राम लिनुपर्छ भन्ने आशय सार्वजनिक गर्नुभएको छ, यो उहाँप्रति शुभेच्छ हो कि बदलाको भावना ?
मैले उहाँसँग केको बदला लिनु र ? मैले उहाँको स्वास्थ्य र देशको अवस्था दुईवटै हेरेर यो धारणा सार्वजनिक गरेको हुँ ।
० देशको अवस्था जटिल कुन आधारले भन्दै हुनुहुन्छ ?
जटिल छ नि । एकातिर नेकपाको दुई तिहाइको सरकार छ । केन्द्रदेखि स्थानीय निकायसम्म सबैतिर चुनाव सम्पन्न भएर नेकपामय भएको अवस्था एकातिर छ भने माथि पार्टी एकीकरण भइसकेपछि वैचारिक एकीकरण भइरहेको छैन । नेतृत्व कसलाई सुम्पने भन्ने टुंगो पनि भएको छैन । यसले एकातिर सांगठनिक र वैचारिक रूपको अन्योल छ, अप्ठ्यारोपन छ भने अर्कोतर्फ उहाँको स्वास्थ्य स्थिति साँच्चै नै जटिल छ । मैले सार्वजनिक रूपमा भनिदिएको के हो भने उहाँलाई अझै पनि सरकारमा टाँसिरहुँ भनेर कसैले भनिदियो भने त्यो उहाँमाथिको साँच्चै अन्याय हो ।
० कसरी ? पछिल्लो समय उहाँको सक्रियता त झन् बढिरहेको छ नि ?
उहाँ रोगी त धेरै पहिलेदेखि नै हो । जेलमा पनि रोगका कारण साह्रै सकस थियो उहाँलाई । उबेला युवा हुनुहुन्थ्यो । युवा बेलामा योभन्दा जटिल शारीरिक अवस्था हुँदाहुँदै नि युवापनले र उहाँको बाँच्ने जिजीविषाको जुन उच्च मनोबल हो त्यसको उचाइले पनि धेरै काम गरेको थियो । अब शारीरिक रूपले पनि उहाँ धेरै प्रौढ हुनुभयो । त्यसमाथि मिर्गाैला प्रत्यारोपण गरेकै १२ वर्ष भयो । त्यसमा पनि किड्नी फेल भएर डाइलोसिस गरेर जाँदा साह्रै जटिल हुन्छ । हप्तामा तीनचोटि लाइलोसिस गर्नुपर्दा समय पनि रहँदैन । शरीर पनि भनेजस्तो सक्रिय हुँदैन । पुनः प्रत्यारोपण नै गर्नुप¥यो भने पनि झन् अर्को ठूलो समस्या । त्यही भएर यी सबै कुरा हेरेर मैले उहाँ अझै बाँचेर, चेतना सक्रिय बनाएरै नेकपा, यो सरकार र यो देशलाई अभिभावकत्व दिएर रहनुभयो भने सायद अलि सजिलो होला भन्ने मनशायका साथ मैले उहाँलाई पदीय दायित्वको जो कार्यकारी भूमिका छ, त्यसबाट अलि निष्क्रिय हुुनुपर्छ भन्ने धारणा राखेको हुँ । अलि दौडधुप र धपेडी कम गर्नुभयो भने सायद उहाँकै स्वास्थ्यलाई राम्रो होला भन्ने मेरो आशय हो । उहाँले विश्राम लिँदा पार्टी, सरकार र देशलाई नै पनि उहाँले अलि लामो समयसम्म अविभावकत्व दिन सक्नुहोला भन्ने आशा र भित्री सदाशयतापूर्वक मैले त्यसो भनेको हुँ । त्यो नगर्ने र उहाँ सिसीघिटी त्यहाँ नै रहने हो भने अहिलेसम्म जति उहाँको प्रतिष्ठा छ, त्यसमा उहाँको दुर्नाम बढेर जान सक्ने खतरा छ ।
दिनदिनै शरीर गल्दै गएपछि त समस्या भइहाल्छ नि । दिनका दिन कुद्दा त यो दशा छ देशमा । उहाँले जति प्रगति भयो भने पनि आममानिसले प्रगति महसुस गर्न नसकिरहेको सन्दर्भमा झन् उहाँ नै निष्क्रिए भएर गएपछि सबै विपक्षी शक्तिहरू अथवा विकृति–विसंगतिहरू मौलाएर अगाडि जान्छन् । त्यसले उहाँको जुन अहिले भइराखेको प्रतिष्ठा छ, त्यो पनि गुम्छ । त्यस आशयले उहाँको पनि राम्रै होस् भन्ने मनशायका साथ हामीले भन्ने कुरा भनेका छौं । मान्ने नमान्ने भने उहाँको कुरा हो ।
० उहाँले सार्वजनिक रूपमा मेरो आत्मबल उच्च छ, म तन्दुरुस्त छु भनेको अवस्था छ नि ?
उहाँ जेलमा ३०–३२ वर्षको युवा रहँदा शारीरिक अवस्था पनि ठीक थिएन । झनै कमजोर हुनुहुन्थ्यो । उहाँ आफैं बाथरुम जान सक्ने अवस्था पनि थिएन । उठ्न, सुत्न र नुहाउन नसक्ने अवस्था थियो । त्योभन्दा अहिले ज्यादै राम्रो अवस्था हो । त्यस आधारमै उहाँलाई म हृष्टपुष्ट छु, हिँड्न सक्ने अवस्था छ भन्ने पनि लागेको होला । तर त्यतिखेर उहाँको मनोबल उच्च थियो । मनोबल उच्च भएको अर्को कारण के हो भने उहाँको युवा अवस्था पनि थियो । औषधि र उच्च मनोबलले उहाँले त्यतिखेरको रोग पछार्नुभयो । अहिले उहाँ उमेरको हिसाबले पनि प्रौढ हुनुभयो । शरीर अति जीर्ण रूपमा छ । तसर्थ, हिजोकै अवस्था सोचेर अहिले पनि म रोगलाई पछार्छु भन्न त्यति सजिलो हुँदैन । अहिले पनि बाँच्ने जिजीविषा र मानसिक सक्रियता त उहाँको राम्रै होला । तर शारीरिक रूपले त्यसलाई धान्दैन । आज भन्दा ५–६ महिना पहिले उहाँ पर्याप्त सक्रिय भएकै बेलामा त भनेजस्तो देश हाँकिएको छैन, जुन कुरा उहाँ आफैंले अनुभूति गर्दै आउनुभएको छ । कतिपय सन्दर्भमा कर्मचारी प्रशासन र मन्त्रिमण्डललाई कागज गराएर अनेक गर्दा पनि उहाँको सोचाइअनुसार विकासका कुराहरू दौडिएका त छैनन् । आममान्छेका जीविकाका कुरा त उठिराखेका छैनन् । यस्तो बेलामा अझ निष्क्रिय भएर जानुभयो भने त विकृति मात्रै अगाडि आउँछ । उहाँको उपस्थितिमा र उहाँको अनुपस्थितिमा पनि धेरै नेपाली उहाँप्रति खुसी रहून् भन्ने आशाका साथ मैले यो कुरा भनेको हुँ । तर उहाँको स्वभाव अहिले जे भने पनि नकारात्मक बुझ्ने खालको रहेको देखिन्छ । त्यही स्वभावले उहाँलाई राम्रै सोचेर भन्दा पनि उहाँले गलत ठान्दिनुहुन्छ । त्यही सोचाइले उहाँलाई पनि संकट, देशलाई पनि संकट अनि सिस्टमलाई पनि संकट भन्ने मलाई लाग्छ ।
० एकाथरीले त अमेरिकी राष्ट्रपति रुजबेल्टको उदाहरण दिँदै उहाँले ह्विलचियरमा बसेर पनि देश चलाएका थिए भनेर पनि तर्क गरिरहेका छन् ?
उहाँका वरिपरि रहनेहरूलाई त उहाँलाई टेकेर आफ्नो पोजिसन बनाइरहन मन छ । त्यसैले तिनीहरूले त्यो भन्नु स्वाभाविक हो । आफ्नो व्यक्तित्वका कारण उनीहरू वरिपरिक घुमेका छैनन् । वलिजीकै व्यक्तित्वका कारण वरिपरी घुमेर कमाइगरी खाएका छन् भने उनीहरूले त जसरी हुन्छ घेराबन्दी गरेर जानेभन्दा परतिरको त कुरा नै सोच्दैनन् नि । मनमोहनजी त्यस्तो वृद्ध अवस्थामा चुनाव प्रसारमा जानै नसक्ने अवस्थामा हुँदा त लखेटेर गोठाटार पु¥याएर मुर्छा पार्ने स्थितिमा त्यहाँका कार्यकर्ताले बनाए । त्यही शैली त हो नि । त्यही शैलीले उहाँलाई अहिले पनि सकिनसकी जबर्जस्त हिँडाएर केही फाइदा लिन केही तत्व त लागेकै होलान् । त्यसबाट उनलाई फाइदा होला तर देशलाई फाइदा हुँदैन । मलाई ओलीजीको स्वास्थ्य फाइदा भयो भने देशलाई नै फाइदा हुन्छ भन्ने मेरो भनाइ हो ।
० उहाँले अहिल्यै विश्राम लिने हो भने त्यसपछि पार्टीचाहिँ कसरी अघि बढ्ला ? झन् संकट निम्तिदैन र ?
नेकपाभित्रैका नेकपा र सरकार दुवै चलाउने हैसियतका नेताहरू त्यहाँ खासगरी माधव नेपाल–प्रचण्ड कामरेड नै हो । उहाँहरू सत्ताका विकल्पका रूपमा अगाडि आएका छन् । उनीहरूलाई माइनस गरेर अब नेकपा चल्छ जस्तो मलाई लाग्दैन । यदि सकारात्मक कोणबाट सोच्ने हो भने उनीहरूसँग सहमति गरेर यो संकटको बेलामा सहकार्य गरे ओलीजी अगाडि जानुभन्दा अर्को विकल्प पनि छैन । होइन, अहिले पनि गुट नै चलाउने कुरा सोच्ने हो भने सायद उहाँलाई उहाँको स्वास्थ्यले पनि साथ दिँदैन । त्यो गुटले पनि पार लगाँउदैन । जसले गर्दा नेकपामाथि अझ ठुलो संकट आँउछ, अनि त्यो संकटले बिस्तारै देश र सिस्टममाथि नै घेर्छ । त्यो सबै मनशाय राखेर मैले उहाँलाई सद्भावपूर्ण रूपले आफू सजिलो अवस्थामा जानुस् । स्वास्थ्यलाई बचाउनुस्, नेकपालाई उठाउनुस्, सरकारलाई टिकाउनुस्, सिस्टमलाई बचाउनुस् भन्ने आशयले मैले यो सल्लाह दिएको हुँ ।
० प्रधानमन्त्री ओलीलाई स्वास्थ्यका कारण विश्राम लिने अवस्था आइपर्दा पार्टी र सरकारको नेतृत्वमा उहाँले अगाडि सार्नुपर्ने व्यक्तिहरू को–को हुन सक्छन्, स्पष्ट रूपमा बताइदिनुहोस् न ?
एकदमै माइक्रो लेबलमा त म जान चाहन्नँ । किनकि, म आफैं दुइ–चार वर्षदेखि त्यहाँ जोडिएको पनि छैन । मुलभूत रूपमा अहिले त्यहाँको शीर्षस्त नेताहरूमध्येमा प्रचण्डजी नै हुनुभयो, किनकि उहाँ पार्टी एकीकरणबाट आएको व्यक्तित्व हुनुहुन्छ । त्यही रहिराखेर लामो समयदेखि एमाले चलाएको माधवजी हुनुभयो । अब यो विकल्पलाई नै अगाडि लिएर आएर जान सकिन्छ । त्यसो त अरू नेताहरू पनि नभएका होइनन् । वामदेव पनि छन्, अमृत बोहोरा पनि छन् । ईश्वर पोखरेल पनि छन् । अब दोस्रो पुस्ता, तेस्रो पुस्ता हुँदै अगाडि जाने कुरा हो । मुख्य तीनजना नेताका बीचमा समझदारी बनाउँदै सत्ता हस्तान्तरणको प्रक्रिया उहाँले थाल्नुभयो भने राम्रो हुन्छ ।
० भनेपछि प्रचण्ड र माधव नेपालमध्ये एकजनालाई पार्टी र अर्कोलाई सरकारको नेतृत्वमा अघि सार्नुपर्छ भन्ने हो तपाँइको आशय ?
दुईवटामध्ये सल्लाह गरेर कसलाई हुन्छ । उसको नाममा सहमति जुटाएर, त्यसलाई अघि सार्नुप¥यो । मैले फलानोलाई भनेर तोक्दैमा हुने कुरा होइन । दुईवटा महत्वपूर्ण पद ती दुई व्यक्तिलाई नै तोक्दा राम्रो होला । तर, उहाँलाई आवश्यक मान सम्मान, आर्थिक हैसियत तथा अन्य जिम्मेवारी राज्यले नदिनुपर्ने कुनै काण त छैन, मैले त खाली सक्रियता र राजनीतिक दौडधुप घटाएर स्वास्थ्य बचाउनुस् भनेको मात्र हुँ । उहाँकै कारण सरकार दुई तिहाइमा आएको भन्ने कुरा त स्विकारेकै छन् । त्यसैले त्यस रूपले अगाडि जाने हो भनेचाहिँ सुखद पक्ष हो । त्यसो होइन, घण्टी बजाउँदै जान्छु, जहाँ गएर विश्राम हुन्छ, त्यही गएर घण्टी छोडिदिन्छु भन्ने हो भने त्यसले देशलाई पनि फाइदा गर्दैन, स्वयं उहाँकै व्यक्तित्वलाई पनि फाइदा गर्दैन ।
० ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री दिएर जानुपर्ने कुरा पनि गाइँगुइँ सुनिन थालेको छ नि ?
मैले त्यो कुरा पनि सुनेको हुँ । बिस्तारै ओलीजीका नजिकका मान्छेहरू सरकारमा ईश्वरजीलाई अनि पार्टीमा वामदेवजीलाई लिएर उपाध्यक्ष बनाउने अनि कार्यवाहक अध्यक्ष बनाउने भन्ने कुरा पनि उठेका रहेछन् । व्यक्तिगत हिसाबले उहाँहरू व्यक्तित्व नै होइन त म भन्दिनँ तर त्यसरी नेकपा चल्दैन । अहिलेको नेकपालाई त्यो रूपमा सोचियो भने नेकपाभित्र संकट आउँछ । पार्टी एकतालाई प्रभाव पर्छ । सञ्चालनमा कठिनाइ उत्पन्न हुन्छ । जसले गर्दा त्यो संकटले के–के हान्छ, त्यो पछिल्ला कुरा हुन् । अहिलेको तत्कालीन सत्तामा माधव र प्रचण्डजीबाहेक अरूलाई ल्याउन खोजे भने त्यो संकट निम्त्याउने कुरा हो । दुई प्रमुखबाहेक अन्य बाँकी पदहरूमा अन्यलाई पनि समेट्ने ठाउँ छ ।
० सैद्धान्तिक विषय पनि उठिरहेको छ । यसले बिस्तारै नेकपामा समस्या पार्दैन ?
हो, जनताको बहुदलीय जनवाद अर्थात् जबजका पक्षधरबाहेक अरू त नेकपा नै होइनन् भन्ने ठान्ने हो भने त्यो संकट निम्त्याउने कुरा नै हो ।
० एकता प्रक्रिया यसरी ढिलो हुनुमा को जिम्मेवार छन् ?
अझै केन्द्रीय निकाय बनेको छैन, पोलिटब्युरो गठन भएको छैन । यसमा मुल कमजोरी त पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीजीकै हो । यसमा अरूलाई दोष लगाउन सकिँदैन । मूलकुरो यो पार्टी एकता भनेकै सत्ताको एकता मात्र भयो । सत्तामा बाँडफाँड गर्ने एकता मात्र भयो । सैद्धान्तिक एकता भएन । अहिले पनि पार्टी स्वरूपमा वैचारिक एकता भएकै छैन । जबज नै चाहिन्छ भन्ने एउटा धार छ अर्थात् हिजोको पूर्वएमाले नै हाबी हुनुपर्छ भन्ने एउटा धार छ भने भोलि सबै मिलेर जानुपर्छ भन्ने अर्को धार छ । अहिले पनि त्यसलाई वैचारिक मन्थन गरेर कसरी जाने भन्ेर नयाँ स्वरूप र नयाँ वैचारिक ढाँचा दिनु त स्वाभाविकै हो नि । अहिले पनि बाजा आ–आफ्नो पाराले बजाउँदै आएका छन्, एकता पछाडि साँच्चै एकताका स्वर यी होइनन् । यी त एकता पछाडिका अनेकताका स्वर हुन् । यसले त संकट निम्त्याउने मात्रै हो ।
० सराकार गठन भएको करिब दुई वर्ष पुग्न लाग्यो, सरकारको कामको मूल्यांकन कसरी गर्नुभएको छ ?
पेपरमा के लेख्नुभयो त्यो आफ्नो ठाँउमा छ । आम मान्छेले सरकार बनिसकेपछि राहत अनुभूति गरे कि गरेनन् भनेर हेर्ने हो । हिजोभन्दा नयाँपन देखे कि देखेनन, अनुभव गरे कि गरेनन् भनेर मुख्यगरी सरकारलाई त्यहाँ जाँच्ने हो । १०–२० वर्ष पछाडिका योजनाले केही बौद्धिक वर्गलाई प्रभावित पार्न सक्ला तर आममानिसलाई प्रभाव पार्न सक्दैन । अहिलेसम्म सरकार बनिसकेपछि न यहाँ गरिबी घटाउने काम भएको छ, न रोजगारी उत्पादन गर्ने काम भएको छ, न शान्ति सुरक्षा राम्रो छ । यहाँसम्म कि काठमाडौंको भत्काएको सडक मात्र पनि बनाउने काम भएको छैन । स्वयम्भू सीतापाइलाकै बाटो भत्काएको तीन वर्ष भयो, कसैले बनाउँदैन । अन्य बाटाहरूकै हालत उस्तै छ । भएका र भत्काएकै बाटा टाल्ने काम भएको छैन भने रेल र पानीजहाजका कुरा त छोडिदिनुस् न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *