एउटा बिहानीको दैनिकी – ज्योतिलाल बन


kamdardainik.com (First, Fast & Accurate)

बिहान ६ पनि बजेको छैन, फोहोर उठाउने गाडीको आवाजले बिउझन्छु र नित्यकर्मपश्चात प्रातस्भ्रमणका लागि निस्कन्छु । त्यतिबेला बिहान पौने सात बजिसकेको हुन्छ । बस्तिहरु सुनसान छन्, एकजना पनि पैदलयात्री देखिदैनन् तर सडकमा भने गाडीहरुको ताँती निकै बढिसकेको छ । कुनै समयविशेषमा मात्रै हैन, प्रायः सबै समय बस्तिहरु यसरी नै सुनसानजस्तै र सडकमा भने गाडीहरु तातीका ताती कुदै रहेका देखिन्छन् यता । यहाँ प्रायः प्रत्येक बयस्क मानिसले आ–आफ्नो निजी कार राखेको पाइन्छ । फुत्त घरबाट निस्कनु, आफ्नो गाडी चड्नु र आ–आफ्नो काममा दौडनु, यहाँका मानिसहरुको नियमित दिनचर्या यस्तै नै हुन्छ । त्यसैले होला यहाँ बस्ती मात्र हैन, मान्छे हिड्ने फुटफाथ पनि अधिकांशत खाली जस्तै देखिन्छन् । धेरैजसो रैथाने अमेरिकीहरु र अन्य कतिपय सौखिनहरुले बिहान अलिक घाम छिप्पिएपछि र बेलुकातिर नाना खाले कुकुरहरु डो¥याएर हिडेको भने बाक्लै देखिन्छ । तर भुस्याहा कुकुर वा अन्य कुनै घरपालुवा पशुहरुको भने कतै केही नामोनिसान नै देखिदैन । यताका अधिकांश बस्ति ओरीपरि प्रसस्त रुखहरु हुन्छन् र धरैजसो बस्ति नजिकै जंगल तथा सफा र स्वच्छ पानी बगिरहेका सानातिना खोला पनि भेटिन्छन् । त्यसैले होला अलि टाढाबाट नियाल्दा त यहाँका बस्तिहरु जंगल जस्तै देखिन्छन् । कतैकतै फोहोरजन्य वस्तुहरु (जुस वा बीयर क्यान तथा अन्य कुनै तायारी खाने चिजका खोलहरु आदि) नभेटिने हैनन् । तर ती लामोसमय टिक्न पाउदैनन्, १ ।२ घंटाभित्र उठिसकेका हुन्छन् ।

अधिकांश सडकहरु ६ देखि १० लेनसम्मका छन् । टलक्क टल्कने चिल्ला पिच भएका ती सडकहरुमा धुलो वा अन्य कुनै फोहोरको नामो निसान नै देखिदैन । गाडीहरु प्रति घंटा सरदर ५० माइलको रफ्तारमा कुदीरहेका हुन्छन् । गुडी रहेका सवारीहरुलाई नियमबद्ध गर्न ट्रफिक प्रहरीहरु कतै छेउ कुनामा गाडि लिएर बसेका त हुन्छन् तर ती सडकमा झ्वाट्ट देखिदैनन् । नेपालमा जस्तो सिट्ठी बजाएर असिनपसिन हुदै हात हल्लाई रहेका ट्रफिक प्रहरी भने कतै देखिदैनन् । विद्युतीय व्यवस्थापन (इलेक्ट्रोनिक सिस्टम) ले निगरानी, नियन्त्रण र व्यवस्थापन गरिरहेको हुन्छ । प्रत्येक सवारी चालकहरु यस्ता सवै नियमका बारेमा जानकार र अनुशासित हुन्छन् । त्यसैले होला यता आक्कल झुक्कल बाहेक सवारी दुर्घटना नहुदो रैछ ।

आवास भवनहरु विभिन्न तहका छन् । व्यक्तिको हैसियतअनुसार उच्च वा निम्न तहको आवस भवनमा बसोबास गरेको पाइन्छ । मिश्रित बसोबास रहेका यी बस्तिहरुमा रैथाने अमेरिकीहरुदेखि संसारका विभिन्न देशबाट आएका आप्रवासीहरु निकै ठूलो संख्यामा रहेको पाइन्छ । यहाँ नेपालीहरु पनि बाक्लै छन्, म बसेको सानो टोलमा मात्रै नेपालीको ८ घर रहेको छ । अधिकांश आप्रवासीहरु अमेरिकी नागरिकता वा ग्रीनकार्ड प्राप्त रहेका छन् र अपवाद बाहेका यी सवै कुनै न कुनै तहका कामदार वा व्यवसायी छन् । आमदानीको तहअनुसार प्रत्येक कामदार वा व्यवसायीबाट २० देखि ३० प्रतिशतसम्म राज्यद्वारा कर कटौति गरिदो रहेछ । यस्तो कर नै अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउने एउटा मुख्य स्रोत रहेको थाहा पाइयो । अमेरिका संसारको सर्वप्रमुख शक्तिशाली र विकसित मुलुक बन्नु पछाडी आप्रवासी कामदारको भूमिका महत्वपूर्ण रहेको पक्षलाई पनि नकार्न सकिदैन ।

यहाँ एकआपसमा निकट छिमेकी भै बसेका विभिन्न बासिन्दाहरुका बीच धेरै गफगाफ, उठबस एवं उतिसारो हिमचिमको संबन्ध त पाइन्न तर जो जुनसुकै देश वा नस्लको भएपनि सम्बन्धमा हार्दिकता भने पाइन्छ । दृषित रुपबाट कसैले कसैमाथि भेदभाव वा इर्ष्या गरेको पनि देखिएन ।

म मुख्य सडकको किनारामा रहेको फुटपाथको बाटोगरी सिधै पश्चिमलागेर लगभग १ कि.मि. अगाडीसम्म पुगें र सोही बाटो हुदै फर्के । यसबीचमा मैले फुटपाथमा हिडिरहेका जम्मा ७ जना मानिसलाई मात्र भेट्न सकेँ । त्यसपछि म आफू बसेको बस्ती नजिकै रहेको साँनो जंगल तिर लागेँ । जंगलको एक छेउमा पिच गरिएको पैदल बाटो हुदै अगाडी बढ्छु म । लगभग १५ दिन पहिलेसम्म पनि हरियालीले छपक्क छोपिएको जंगलका रुखहरु यतिबेलासम्म आइपुग्दा धेरैजसो पात झरेर प्रायः सिक्रो बनिसकेका छन् भने केही पात पहेलिएर झर्ने तरखरमा छन् । चिसो निकै बढेकाले भूँइका झारहरु तुसाराले लगभग छोपिएको स्थितिमा पुगेका छन् । तर जंगलको अर्को छेउबाट बगिरहेको खोलाले भने आफ्नो सफा र संलो पानीलाई कुल कुल आवाज छर्दै निरंतर बगाई रहकै हुन्छ । यस्तै दृष्यहरु हेर्दै म आफू बसेको आवाध. समा पुग्छु । त्यतिबेला बिहानको ८.३० बजिसकेको हुन्छ ।
च्यान्टिली, भर्जिनिया

पूर्ण मासिक पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *