चिनियाँ विदेश मन्त्रालय वक्तव्य प्रति नेपाल रिपब्लिक पार्टीको घोर आपत्ति


kamdardainik.com (First, Fast & Accurate)

चीनले नेपालको भूमि अतिक्रमण गरेको छैन भनी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले हालै दिएको वक्तव्य प्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गर्दछ । कम्युनिष्ट चीन सरकारका तर्फबाट आएको यो भनाई कम्युनिष्ट चरित्र अनुरुप सत्यलाई ढाकछोप गरेर झूठको खेती गर्ने कलाविहिन नाटक बाहेक केही होइन । कालापानी बारे नेपाललाई जानकारी नै नदिई भारतसँग सम्झौता गरेर चीनले नेपालको सार्वभौम सत्तामाथि नांगो आक्रमण गरेको तथ्य सर्वविदित नै छ । यो वस्तु तथ्यलाई नकार्ने आँट आफुलाई शक्ति राष्ट्र भनाउन चाहने चीनसँग नरहेको यथार्थ पनि उक्त वक्तव्यबाट स्पष्ट भएको छ । यस बाहेक चीनले नेपालको भूमि ११ ठाउँमा मिचेको र आधा दर्जन सीमा स्तम्भ उखेलेको आधिकारिक तथ्य समेत सार्वजनिक भैसकेको छ । एकातिर नेपालको सीमा मिच्दै र सार्वभौमसत्ता माथि आक्रमण गर्दै जाने र अर्कातिर नेपाली भूमि अतिक्रमण नगरेको वक्तव्यबाजी गर्ने चीनको दुष्प्रयास कायरता, अनैतिकता र कम्युनिष्ट अधिनायकवादी चरित्रको प्रमाण हो, जसले उसको ढोंगी र षडयन्त्रकारी चरित्र पुनः एक पटक प्रदर्शित गरेको छ । नेपाल रिपब्लिक पार्टी कम्युनिष्ट चीनलाई नेपाली सीमा छोडेर आफ्नो देशमा सीमित हुन चेतावनी दिन चाहन्छ । नेपालको भूमि र सार्वभौमसत्ता माथिको अतिक्रमण नेपाली जनतालाई कुनै पनि हालतमा सहय छैन र यसका लागि नेपालीहरु जुनसुकै मूल्य चुकाउन तयार हुनेछन् भन्ने चीनले जानि राख्नु उचित हुनेछ ।
यसै क्रममा, नेपालमा आफ्नो प्रभाव विस्तार गर्न बुद्धिजमलाई गलत रुपले प्रयोग गर्न लागि परेको चीनको दुस्साहसलाई नेपाल रिपब्लिक पार्टीले गम्भीरतापूर्वक हेरिरहेको पनि हामी स्पष्ट पार्न चाहन्छौं । आफूलाई कम्युनिष्ट भन्ने मुलुकले धर्म र बुद्धिजमको कुरा गर्नु जस्तो ढोंग केही हुन सक्दैन । आफ्नो देश भित्र जे गरे पनि नेपालमा चीनले बुद्धिजमका कुरा गर्न बन्द गर्नुपर्छ । चीनको छाया मात्रले बुद्धिजमलाई हानि सिवाय केही हुन सक्दैन । बुद्धिजमका नाममा लुम्बिनी वा उच्च पहाडी भेगमा चीनको चासो, प्रवेश र सहभागिता कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । चीनको यो षडयन्त्र बारे सतर्क हुन नेपाल रिपब्लिक पार्टी विश्वका समस्त बौद्ध धर्मावलम्बीहरु, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई समेत हार्दिक अपील गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *