लकडाउनका बेला विद्यार्थीको दैनिकी


kamdardainik.com (First, Fast & Accurate)

कौशलकुमार भट्टराई / विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीमा नेपाल पनि अछुतो छैन। विश्वका अधिकांश देशहरुले अपनाएको बन्दाबन्दी (लकडाउन) को शैली नै यो संक्रमणबाट जोगिने उपयुक्त र सहज उपाय भन्ने ठानिएर यही शैलीको अबलम्वन नेपालले पनि गरेको छ।

लकडाउनका कारण विश्व नै प्रायः ठप्प अवस्थामा पुगेको छ। विश्वका मानिस नै आफ्नो बासस्थानमा बन्दीको झैं अवस्थामा रहेको यो बेला खासगरी बढी भीडभाड हुने तथा चहलपहल हुने क्षेत्रलाई जोखिमयुक्त ठानी त्यस्ता भीडभाडलाई निरुत्साहित गर्ने उद्देश्यले विश्वका सबैजसो देशहरुले संख्या नै तोकेर मानिस जम्मा हुन नपाउने भन्ने नियम नै बनाएर पालना पनि गराउँदै आएको छ।

कोरोना भाइरस कुनै पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्नसक्ने भएका कारण यसको फैलावटलाई रोक्नका लागि एकदमै समस्या परिरहेको अवस्थामा विश्व छ। संक्रमित व्यक्तिको शरीरबाट निस्कने सिँगान, र्‍याल, र्‍यालयुक्त श्वास, थुक, सफा नगरिएका लुगा–सामान आदिका कारण कोरोना भाइरस एक स्थानबाट अर्को ठाउँमा सजिलै सर्न सक्ने भनी स्वास्थ्यकर्मीहरुले जानकारी दिंदै आएका छन्।

कोरोना भाइरस कुनै पनि संक्रमित व्यक्तिको माध्यमबाट अर्को व्यक्तिमा सर्न पुगेको अवस्थामा त्यस्तो सरेको व्यक्तिले आफ्नो हात वा अन्य कुनै माध्यमबाट आफ्नो श्वास वा मुखको माध्यमबाट त्यो भाइरसलाई आफ्नो शरीरमा प्रवेश गराएको अवस्थामा त्यो भाइरस शरीरभित्र पुगेपछि त्यसले आफ्नो संख्यामा तीब्र रुपमा विस्तार गर्ने कारण नै जोखिमको अवस्था भनी स्वास्थ्यकर्मीहरुले जानकारी दिंदै आएका छन्। यस्तो अवस्थामा भाइरसको संख्यामा वृद्धि हुने तथा त्यसकै कारण उच्च ज्वरो आउने, रुघा, सुख्खा खोकी लाग्ने तथा श्वास प्रश्वासमा समस्या आई कतिपय अवस्थामा संक्रमितको मृत्युसम्मको अवस्था समेत आउने गरेको छ। सोही कारण विश्वका सबैजसो देशले लकडाउनको मद्दत लिएका छन् किनकि यसको उपचारका लागि औषधिको आविष्कार हालसम्म भइसकेको छैन।

लकडाउनका समयमा अत्यावश्यक सामानहरु लिन जानुपर्दा मास्कको प्रयोग गर्ने तथा व्यक्ति व्यक्तिका बीचमा भौतिक दूरी कम्तीमा पनि एक मिटरको राख्ने तथा साबुनपानीले पटकपटक हात धुनु उचित हुने भनी सरकारले सुझाउँदै आएको छ।

यस्तो स्वास्थ्य अवस्थालाई ख्याल गरी नेपालले पनि लकडाउन घोषणा गरेको ६ हप्ता भएको छ। नेपालमा गत चैतको ११ गतेबाट लकडाउन घोषणा भएको हो। नेपालको शैक्षिक क्यालेण्डरलाई हेर्दा चैत महिनामा खासगरी कक्षा १० को एसइईको तथा कक्षा ११, १२ को परीक्षा हुने गर्छ। त्यसैगरी कलेजहरुमा पनि यो महिनामा परीक्षाहरु पर्ने गर्छन्। त्यसैले पनि यो शैक्षिक क्यालेण्डर अनुसार परीक्षा सञ्चालन गरी विद्यार्थीको नयाँ भर्ना लिनुपर्ने अवस्थामा रहेका शैक्षिक संस्थाहरु लकडाउनको पालना गरी बसेका छन्।

कतिपय शैक्षिक संस्थाहरुले इन्टरनेटको माध्यमबाट पनि कक्षाहरु सञ्चालनमा ल्याएका छन् तर पनि उनीहरुले परीक्षा भने लिनसक्ने अवस्था छैन। सरकारले लकडाउनलाई ठाउँ, परिस्थिति हेरी केही खुकुलो बनाउने नीति लिने तयारी गरिरहेको कुरा आए पनि शैक्षिक क्षेत्रलाई सञ्चालनमा ल्याइहाल्ने अवस्था देखिएको छैन। यसैगरी यस्तो त्रसित अवस्थामा न विद्यार्थी परीक्षा दिने मनस्थितिमा छन् न त अभिभावकहरु नै आफ्ना सन्तानहरुलाई शैक्षिक संस्थाहरुमा पठाउन सक्ने अवस्थामा छन्। त्यसैले लकडाउनको नीति जेजस्तो आए पनि नेपालका शैक्षिक संस्थामा विद्यार्थीहरु शिक्षाका लागि जानसक्ने अवस्था देखिएको छैन।

यस्तो विषम अवस्थामा रहेका विद्यार्थीहरु पनि निवासस्थानमै बन्दाबन्दीको अवस्थामा थन्किनु परेको अवस्थामा बेचैन देखिएका छन्। गृहकार्य, पढाइ, बिहानै शैक्षिक संस्थामा जाने आउने समस्यामा पर्दै आएका विद्यार्थीहरुले सुरुका दिनमा छुट्टीको रुपमा यो लकडाउनलाई लिए पनि यसको समय बढ्दै गएको अवस्थामा उनीहरु पनि के गर्ने, समय कसरी व्यतित गर्ने भनी अलमलिएको अवस्थामा छन्। समयको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरु कि त इन्टरनेटमा झुम्मिने कि त अनावश्यक रुपमा सुतेर नै आफ्नो समयलाई कटाइरहेको अवस्था देखिन्छ।

यस्तो अवस्थामा उनीहरु रहँदा एकातिर उनीहरुको मनोविज्ञानमा नकारात्मक असर पर्न थालेको छ भने समयको उचित व्यवस्थापन हुन नसक्दा स्वास्थ्य समस्या पनि देखिन थालेको छ। बढी सुतेका कारण शरीर आलस्य हुने तथा मोबाइल, कम्प्युटर, टेलिभिजनमा मात्र केन्द्रित गराउँदा कतिपयकोे आँखामा समेत समस्या पर्ने अवस्था छ।

विद्यार्थीहरुको यस्तो समस्यालाई ख्याल गरी त्यसलाई व्यवस्थित गर्नका लागि समयको व्यवस्थापन तथा प्रयोग निम्नानुसार गर्न सकिनेदेखि दिनको २४ घन्टालाई छुट्याउन सकिने गरी यहाँ प्रस्तुत गरेको छुः

बिहानको ६ बजे उठ्ने। उठेपछि आधा घन्टा अर्थात् ६ः४५ सम्म आफ्नो नित्यकर्म अर्थात् शौचालय जाने, हात–मुख धुने, दाँत माझ्ने तथा नुहाउने। ६ः४५ देखि पौने घन्टा अर्थात् ७ः३० सम्म आफ्नो आस्था अनुुसारको धार्मिक कार्य गर्ने। यसमा घरमै रहेको पूजा कोठामा जाने, पूजाआजा गर्ने, प्रार्थना गर्ने तथा धार्मिक पुस्तकका कुनै श्लोक, कथा पाठ आदि गर्ने।

पूजापाठ वा धार्मिक कार्य सकेपछि केही हल्का खाजा खाने। यसमा आफ्नो इच्छा तथा गच्छेअनुसारको खाजाको प्रयोग गर्नु उचित हुन्छ। त्यसपछि ९ बजेसम्म अर्थात एक–डेढ घन्टा शारीरिक व्यायाम गर्ने, घरको आँगन वा छतमा गई कुद्ने– हिँड्ने जस्ता कार्य गर्ने। त्यसैगरी ९ बजेदेखि १० बजेसम्म पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट आदिबाट समाचार, विश्वका गतिविधि बुझ्ने कार्य गर्ने । १० देखि ११ बजेसम्म घरमा खाना बनाउन सहयोग गर्ने वा आफैंले पकाएर खाना खानुपर्ने अवस्थाका विद्यार्थीले खाना बनाउने। ११ बजे खाना तयार भएपछि खाना खाने तथा आफूले प्रयोग गरेका भाँडाहरु सफा गर्ने। यति गर्दासम्म बिहानको १२ बजिसकेको हुन्छ।

१२ बजेपछि दिउँसो समय सुरु हुन्छ। भर्खरै खाना पनि खाएको हुँदा त्यसपछिको समय आराम गर्नुलाई उचित मानिन्छ। त्यसैले डेढ घन्टा जति टेलिभिजनमा आपूmलाई मनपर्ने किसिमका कार्यक्रमहरु हेर्ने, साथीभाइहरुसँग मोबाइल वा इन्टरनेटको माध्यमबाट हाँसखेल गर्न सकिन्छ।

दिउँसो १ः३० बजेदेखि दुई घन्टा अर्थात् ३ः३० सम्म आफ्नो कोर्सको किताबहरु पढ्ने तथा लेख्ने। त्यसपछि खाजा बनाउन लाग्ने वा खाजा बनाउन सहयोग गर्ने। यसरी एक घन्टाको समय खाजा बनाउनका लागि व्यतित गर्दासम्म दिउँसोको ४ः३० भइसकेको हुन्छ। त्यसपछि खाजा खाने तथा प्रयोग गरेका सामानहरु माझुने वा तिनको व्यवस्थापन गर्दा ५ बजिसकेको हुन्छ। त्यसपछि एक घन्टा अर्थात् बेलुकीको ६ बजेसम्म मनोरञ्जनात्मक कार्यहरु गर्ने। यसमा टेलिभिजन हेर्ने, मोबाइल चलाउने, घरका परिवारजन्यसँग गफगाफ गर्ने गर्न सकिन्छ।

बेलुकी ६ बजे आँगन वा छतमा गएर एक घन्टा शारीरिक व्यायाम गर्ने, बाहिरका स्वच्छ वातावरणमा रमाउने गर्न सकिन्छ। यसो गर्दासम्म बेलुकीको ७ बजेको हुन्छ। त्यसपछि रातिको खानाको तयारीमा लाग्नु उचित हुन्छ। राति हल्का खाना खानु उचित हुने भएकाले सोही अनुसारको खानाको खाने तथा प्रयोग गर्दाको सामानहरु धुने तथा थन्क्याउने कार्य गर्दा रातिको ८ बज्न जान्छ।

त्यसपछि एक घन्टा आफ्ना कोर्सका किताबहरु पढ्ने गर्नुपर्दछ। त्यसपछि अर्थात् रातिको ९ देखि १० बजेसम्म इन्टरनेटको प्रयोग गर्ने जसमा इमेल, फेसबुक, इन्स्ट्राग्राम, भाइबर चलाउने तथा साथीहरुसँग खेलहरु खेल्न सकिन्छ। रातिको १० बजे सुत्ने। रातिको १० बजेदेखि बिहानको ६ बजेसम्म सुत्दा करिब आठ घन्टाको सुताइ हुन्छ, जुन विद्यार्थीका लागि उचित मानिन्छ।

यसरी माथि दिइएका समय तालिका मिलाएर विद्यार्थीहरुले अहिलेको लकडाउनको समयको उपयोग गर्न सक्छन्। ठाउँ, परिस्थिति अनुसार आफ्नो समय तालिका फरक पनि बनाउन सकिन्छ।

नेपालका विद्यार्थी सहर, गाउँ तथा हिमाल, पहाड र तराईमा रहने भएका कारण आफ्नो ठाउँ र अवस्था अनुसारको समय तालिका बनाउन सकिन्छ। सहरमा रहने विद्यार्थीले गर्ने शारीरिक व्यायामको क्रियाकलाप बराबरको कार्य ग्रामीण क्षेत्रमा बस्ने विद्यार्थीहरुले घरका गाईवस्तु, खेतीपातीमा समय दिएर पनि गर्न सकिने देखिन्छ।

(भट्टराई ‘नयाँ विमर्श’ साप्ताहिकका सम्पादक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *