काठमाडौं,६ जेठ २०७७। “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोख्नुभयो ।
हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको घर निर्माण गर्न पुगेको उनीहरुको ज्यालादारी काम दुईसाता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहीन भएको हर्कबहादुरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन । त्यसपछि हिँड्न बाध्य भयौँ । नौ दिनपछि आज आफ्नै प्रदेशको मूलद्वारमा आएका छौँ ।” अर्का मजदुर कर्णबहादुर बुढामगरले नौ दिनसम्म चिउरा र चाउचाउ खाएर मात्र पैदलयात्रा गरेको बताउनुभयो । रासससँग दुःखेसो पोख्दै बुढामगरले भन्नुभयो, “बाटोमा कतै पनि खाना पाइएन । चिउरा र चाउचाउ पनि कठिनले पाउने अवस्था रह्यो ।” यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेर आएको उहाँको भनाइ थियो ।
उहाँले सरकारले घर पुर्याएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताउनुभयो । यता डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख–सुर्खेतको सीमा पुर्याएपछि मात्र आफूहरुले बुझ्ने रासससलाई जानकारी दिनुभयो । “हामीलाई बबई नाकाबाट आफैँले ल्याउने अनुमति छैन”, अध्यक्ष मल्लले भन्नुभयो, “यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।”
दालभात कस्तो हुन्छ भन्ने भइसक्यो
पोखराबाट हिँडेर सात दिनपछि कर्णाली प्रदेशको बबई सीमानाकामा पुगेका मुगु खत्याड गाउँपालिका निवासी पञ्चबहादुर रावतले पैदल अवधिभर खाना नपाएको गुनासो गर्नुभयो । मजदुरीका लागि पोखरा गएका उहाँले नेपाल सरकारले गरेको लकडाउनले काम गर्ने ठाउँ नै बन्द भएपछि कमाउने आधार सकिएको बताउनुभयो । “कमाएको पैसा यो बीचमै सकियो । त्यसपछि त्यहाँबाट हिँडे”, रावतले भन्नुभयो । दाङ पुगेपछि भने रसुवाबाट फर्केका डुङ्गेश्वर गाउँपालिका दैलेखका साथीहरुसँग भेट हुँदा यात्रा अलि सहज भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो सात दिनको १४ छाक चाउचाउ र चिउरा खाएरै पैदल हिँडिएको छ । दालभात कस्तो हुन्छ भन्ने भइसक्यो । बाटोमा खानबस्न कसैले नदिँदा यात्रा झनै कष्टकर बन्यो ।” कर्णाली प्रदेशका थुप्रै बबई पुग्दा पनि मुगु पुग्ने यात्राको टुङ्गो नलाग्दा घर पुग्ने पिरलोले सताएको उहाँले दुःख व्यक्त गर्नुभयो । गाउँकै स्थानीय क्वारेन्टाइनमा बस्ने भन्दै रावतले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा भएर मात्र मुगु सकिने भएकोले घरसम्म पु¥याइदिन सरकारलाई आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले बबई पुग्ने सबै कर्णालीवासीलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको समन्वयमा जिल्ला पठाइने बताउनुभयो ।
स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न र आदेशको पूर्ण कार्यान्वयन गर्न अनुरोध
काठमाडौं,६ जेठ २०७७। कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुव्र्यवहार गर्ने, कानून विपरीतका कार्य गरी मनोबल गिराउने काम भइरहेको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न समेत भनेको छ ।
स्थानीय केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई बिना कारण निकाल्नेलगायतका अमानवीय कार्य भइरहेकोप्रति पनि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वव्यापी महामारीका विरुद्ध लड्न सबैको सामूहिक प्रयास आवश्यक हुनुपर्नेमा आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नहुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ । आदेशको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न भए कानूनबमोजिम हदैसम्मको कारवाही गर्ने मन्त्रायले जनाएको छ ।
नेपाल सरकारको निर्णयले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको बन्दाबन्दीको आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानूनबमोजिम सजाय हुने मन्त्रायले जनाएको छ ।
ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । शिखर इन्स्युरेन्सले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा विभिन्न प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
सो क्रममा महाशाखा प्रमुख ढकालले लकडाउनलाई कडाइका साथ पालना गराउन अग्रपङ्तिमा रहेका ट्राफिक प्रहरीलाई प्राप्त स्वास्थ्य सामग्रीले सङ्क्रमणको जोखिमबाट बच्न सहयोग पुग्ने बताउनुभयो ।
इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई सङ्क्रमणको जोखिमबाट बच्न र मनोबल बढाउने विश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको उल्लेख गर्नुभयो ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार उक्त इन्स्युरेन्स प्रालिबाट एन ९५ मास्क एक हजार ५०० थान, मेडिकल मास्क पाँच हजार, चस्मा एक हजार ५००, फेस सिल्ड (भाइजर) एक हजार ५०० थान, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध भएको छ । उक्त सामग्री सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिसकिएको समेत उहाँले बताउनुभयो ।
