काठमाडौं, १४ जेठ २०७७। प्रेस युनियन अफ दी इयर अवार्डबाट पत्रकार अनिषा श्रेष्ठ सम्मानित हुनुभएको छ । नेपाल प्रेस युनियनका कार्यसमिति सदस्यलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सो अवार्डबाट यस वर्ष पहिलोपटक श्रेष्ठ सम्मानित हुनुभएको युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । प्रेस युनियनको २९ औँ स्थापना दिवसका अवसरमा युनियन जिल्ला कार्यसमिति कास्कीद्वारा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले उहाँलाई सो अवार्ड प्रदान गर्नुभएको हो । अवार्डको राशि रु पाँच हजार र प्रशंसापत्र छ । सो अवसरमा प्रतिनिधिसभा सदस्य केसीले अब पनि यही रूपमा बन्दाबन्दी बढाउँदै जाँदा भयावह अवस्था सिर्जना गर्ने उल्लेख गर्दै उत्पादनशीलता र अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी भएको बताउनुभयो । वर्तमान सरकारले काँग्रेसकै सहयोगका कारण नयाँ नक्सा बनाएको उल्लेख गर्दै उहाँले लिपुलेक हाम्रो पुर्खाले आर्जेको भूभाग भएका कारण यसलाई गुम्न दिनु नहुने बताउनुभयो । राष्ट्रियताका विषयमा सबै पक्षबीच एकता भएमा कसैले पेल्न नसक्ने उहाँको भनाइ थियो । कार्यक्रममा सवारी दुर्घटनामा घाइते भएका प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य सुमन गुरुङलाई रु १० हजार सहयोग हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, सल्लाहकार रवीन्द्र बाँस्तोला, पूर्वकेन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुलीलगायतले युनियनको स्थापना र यसले नेपालको प्रेस जगत्को विकासमा पु¥याएको योगदानमाथि चर्चा गर्नुभयो । प्रेस युनियन कास्कीले यस वर्ष सुप्रेम शारदा पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार र शान्ति पत्रकारिता पुरस्कार वितरण गर्ने जनाइएको छ । –––
