काठमाडौं,२६ जेठ। लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा बर्खे धान रोप्न शुरु भएको छ । केही दिनदेखि लगातारको वर्षात्पछि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको हो । यतिखेर किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् । पानी पर्न थालेपछि सिँचाइ सुविधा नभएका स्थानमा समेत रोपाइँ शुरु भएको किसानको भनाइ छ । क्व्होलासोथर गाउँपालिका–९ घाम्राङमा किसानलाई धान रोपाइँले भ्याइनभ्याइ भएको छ, खाना खाने फुर्सदसमेत छैन् । गाउँका तीन चार घर मिलेर आलोपालो गरेर धान रोप्न शुरु भएको स्थानीयवासी गमप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी आलोपालो गर्छौं, एउटा काममा १०÷१५ दिन अनि अर्काकोमा १०÷१५ दिन गर्दै धान रोप्छौँ ।” सोही गाउँपालिकाको वडा नं ६ पसगाउँमा पनि धान रोपाइँ शुरु भएको छ । मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका कामसार्की गुरुङका अनुसार घेर्मु फाँटमा सिँचाइको सुविधा भएसँगै धान रोप्न शुरु गरिएको बताउनुभयो । किसानले समूह बनाएर यहाँ धान रोप्न शुरु गरिएको उहाँको भनाइ छ । त्यस्तै, दोर्दी गाउँपालिका वडा नं ४ नौथर शेरामा पनि धान रोपाइँ शुरु भएको छ । ग्रामीण तथा उच्च भेगमा मात्र नभई बेँसीका ठूला फाँटमा समेत रोपाइँ हुन थालेको छ । बेँसीशहर नगरपालिका–११ चितीस्थत रामचोक फाँटमा धान रोपाइँ भइरहेको स्थानीयवासी ईश्वर सेडार्इंले जानकारी दिनुभयो । लगातार पानी परेपछि पानीको मुहान खेतमै फुट्न थाल्यो अनि यहाँका किसानले रोपाइँ शुरु ग¥यो उहाँले भन्नुभयो । जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्ले, उन्नत जातहरु मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे ३००४ लगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
