काठमाडौं,२ असार। कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले रैथाने बालीको बीउ बैंक स्थापना गरेको छ । लोप हुँदै गएको चिनो, कागुनो, फापर जस्ता प्राङ्गारिक खाद्यान्नको बीउ बैंक स्थापना गरिएको हो । नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रबद्र्धनका गर्न बीउ विकास बैंक स्थापना गरेको जनाएको छ । रैथाने बाली हुने क्षेत्र कर्णालीमा पछिल्लो समय उत्पादन घट्दै गई हाइब्रिड बीउबिजनले प्राङ्गारिक उत्पादनमा ठूलो असर परेको हुनाले जोगाउन रैथाने बीउ विकास बैंक स्थापना गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख पशुराम काफ्लेका बताउनुभयो । ‘कर्णालीका १० वटै जिल्लालाई मध्यनजर गरी बंैक स्थापना गरिएको हो’, उहाँले भन्नुभयो, ‘कर्णालीमै पहिलो पटक बीउ बैंक स्थापना गरिएको छ । दश वटै जिल्लासंँग समन्वय गरी कुन क्षेत्रमा कुन बाली उत्पादन हुन्छ, कुन क्षेत्रमा फलफूल उत्पादन हुन्छ, त्यसै आधारमा बीउ उत्पादन गरी वितरण गरिनेछ ।’ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन जैविक रैथाने बीउ विकास बैंक स्थापना गरिएको नगर प्रमुख जसीप्रसाद चौलागाईँले बताउनुभयो । ‘अहिले रैथाने बालीको उत्पादन लोप हुँदै गइरहेको छ’, उहाँले भन्नुभयो, ‘ यहाँक चिनो, फापर कोदो जस्ता वस्तुहरुको माग अत्यधिक बढिरहेका बेला हामीले यसको उत्पादनमा नगरपालिकाका कृषि सहकारीलाई अनुदान दिएर भए पनि अर्गानिक हबका रुपमा विकास गर्दै जान्छौंँ ।’ रैथाने बालीले चिनिएको कर्णालीमा यसको उत्पादन लोप हुँदै गएकाले नगरपालिका पहिलो पटक यसको उत्पादन र संरक्षणमा लागेको नगर उपप्रमुख विजया विष्टले बताउनुभयो । बीउ बैंकमा मकै, कोदो, फापर, मार्सी धानलगायत वस्तुको उत्पादन तथा बजारीकरण गर्ने लक्ष्य राखिएको छ ।
