काठमाडौं,२२असार। प्रदेश नं ५ का प्रदेशसभा सदस्यले बाढीपहिरो पीडितलाई राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न माग गर्नुभएको छ । गुल्मीको इस्मा र मुसिकोटमा भीषण वर्षाले एउटा गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था रहेको जानकारी उहाँहरुले दिनुभयो । प्रदेशसभा सदस्य खड्गबहादुर खत्रीले गुल्मीमा १७४ घर विस्थापन भएको र ४० घर उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘पशु चौपाया मरेका छन्, बाली सलहले सखाप बनाएको छ ।’ प्रदेशसभाका सदस्य दिनेश पन्थीले पीडितलाई पर्याप्त राहत तथा पुनःस्थापनामा जोड दिनुभयो । सदस्य तुलाराम घर्ती मगरले पाल्पाका विभिन्न स्थानमा पनि बाढीपहिराले क्षति पु¥याएको बताउनुभयो । सदस्य फकरुद्धिन खाँनले आयातमुखी संस्था र संस्थानलाई प्रदेश सरकारको अधीनमा ल्याउन माग गर्नुभयो । उहाँले सलह नियन्त्रणका लागि बनाइएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना प्रदेशसभालाई जानकारी गराउन माग गर्नुभयो । सदस्य वैजनाथ कलवारले मल र बीउ उपलब्ध गराउन नसक्दा किसान मर्कामा परेको र संस्थागत भ्रष्टाचार मौलाएको आरोप लगाउनुभयो । सदस्य अष्टभुजा पाठकले ठेक्का भएका काम पनि समयमा नभएको गुनासो गर्नुनुभयो । सदस्य इन्द्रप्रसाद खरेलले जनताका काममा ढिलासुस्ती भएको बताउनुभयो । सदस्य तारा जिसीले प्रदेशका क्वारेन्टिन स्वास्थ्य मापदण्डानुसार नभएको आरोप लगाउनुभयो ।
