उत्पादन बढाउन पशु आहार विस्तार परियोजना

कृषि
काठमाडौं,२५असार। वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादन बढाउन पशु आहार विस्तार परियोजना सञ्चालन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयले चितवन जिल्लामा सो परियोजना शुरुआत गरेको हो । भरतपुर महानगरपालिका– ६ केशरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थामार्फत परियोजना सञ्चालनमा आएको हो । कूल दुई करोड ४६ लाख लागतको सो परियोजनामा प्रदेश सरकारले एक करोड अनुदान सहयोग गरेको छ । संस्थागततर्फबाट सहकारीले एक करोड ४६ लाख लगानी गरेको छ । परियोजनामार्फत दाना, साइलेज (घाँसको गुन्द्रुक) र टिएमआर (परिपूर्ण दाना)उत्पादन गरी सुपथ मूल्यमा बिक्री वितरण गर्ने उद्देश्य लिइएको निर्देशनालयका निर्देशक हरिकुमार रघु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सहकारीलाई कारखाना भवन निर्माण, अत्याधुनिक मेसिन, ढुवानीका लागि गाडी र ट्र्याक्टर खरिदमा अनुदान प्रदान गरिएको बताउनुभयो । “दुग्ध उत्पादन बढाउने प्रमुख आधार पशु आहारा हो”, उहाँले भन्नुभयो, “अहिले भारतबाट महङ्गो मूल्यमा दाना ल्याउनुपर्ने बाध्यता छ”, उहाँले गाईबस्तुलाई आवश्यक पोषिलो खानेकुरा उत्पादन गर्ने दाना सहकारीमार्फत उत्पादन हुने जानकारी दिनुभयो । “सहकारीले उत्पादन गर्ने दाना व्यवसायी पशुपालन गर्नेलाई निकै फाइदाजनक हुन्छ, जसले गर्दा दुग्ध उत्पादनमा मद्दत पुग्छ”, उहाँले भन्नुभयो । सस्तो र धेरै दूध उत्पादनका लागि पनि सो परियोजना महत्वपूर्ण भएको उहाँको भनाइ छ । चितवन जिल्ला दुग्ध उत्पादनका अग्रणी रहेको छ । सो सहकारी संस्थामा प्रदेशकै सबैभन्दा धेरै दुग्ध उत्पादक किसान आबद्ध रहेका छन् । यस वर्ष चितवन र काभ्रेपलाञ्चोकमा परियोजना सञ्चालन गर्ने उद्देश्य राखिए पनि यहाँ मात्र काम भइरहेको उहाँले जानकारी दिनुभयो । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागार्इंका अनुसार सहकारीमा ६५० दुग्ध उत्पादन किसान आबद्ध छन् । सहकारीले प्रतिघण्टा ५० क्विन्टल दाना उत्पादन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । एक दिनमा ४० टन उत्पादन भएपछि वाग्मती प्रदेशका सबै जिल्ला र अन्य प्रदेशमा पनि निर्यात गरिने उहाँले जानकारी दिनुभयो । “प्रतिघण्टा एक टन उत्पादन भएको छ, नयाँ मेसिन आएपछि प्रतिघण्टा पाँच टन उत्पादन पुया¥उँछौँ”, उहाँले भन्नुभयो । सहकारीमार्फत उत्पादन हुने दाना गुणस्तरीय हुने जनाइएको छ । यस वर्ष प्रदेश सरकारले दूग्ध उत्पादन गर्ने किसानलाई उत्पादनमा आधारित अनुदानसमेत वितरण गरिसकेको छ । प्रदेशका १८६ सहरकारी संस्थामार्फत अनुदान वितरण गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुग्ध अनुदानमा मात्रै रु नौ करोड खर्च भएको छ । किसानले दूध उत्पादन गरी बिक्री गरेको अनुपातमा प्रतिलिटर एक रुपैयाँका दरले अनुदान दिइएको हो । आगामी वर्ष प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरिसकेको छ । यसका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन भएको जनाइएको छ । वाग्मती प्रदेश दुग्ध उत्पादनमा आत्मनिर्भर छ भने बाहिरी जिल्लामा निर्यातसमेत गर्न सफल भएको छ ।