-ईश्वरि खड्का
जुध्ने हरुका लागि हो जीवन
रात; निदाउनेहरुका लागि हो
आँसु ; रुनेहरुका लागि हो
विश्राम ; थाक्नेहरुका लागि हो
जिब्रो ; बोल्नेहरुका लागि हो
रुप; देखाउनेहरुका लागि हो
मृत्यु; हार्नेहरुका लागि हो।
कालो रात हैन
उज्यालो दिन चाहन्छु म
बग्ने आँसु हैन
उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन
निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन
पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन
सफा मन चाहन्छु म
पराजित मृत्यु हैन
संघर्षशील जीवन चाहन्छु म।
किनकी जाग्नेहरुका लागि हो , दिन
खुसी हुनेहरुका लागि हो , हाँसो
हिँड्नेहरुका लागि हो , पाइला
पौरख गर्नेहरुका लागि हो , पाखुरी
खुल्नेहरुका लागि हो , मन
जुध्नेहरुका लागि हो , जीवन ।
