प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको विरोध जनाउँदै बनारस (काशी) को नेपाली मन्दिरमा पोस्टर टाँसिएको विषयलाई लिएर भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन कुराकानी गरेका छन् ।
आचार्यले मुख्यमन्त्री योगीसँग आफूले कुरा गरेको र उनले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक कारबाहीको प्रतिबद्धता जनाएको बताए । ‘उहाँले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाउनुका साथै कानुनी प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो,’ राजदूत आचार्यले कान्तिपुरसँग भने । बुधबार बनारसको ललिताघाटमा रहेको पशुपतिनाथ मन्दिरमा प्रधानमन्त्री ओलीको विरोधमा पोस्टर टाँसिएको थियो । हिन्दुवादी संगठन विश्व हिन्दु सेनाको नाममा टाँसिएका ती पोस्टरहरुमा ओलीको विरोध गर्दै उनले अयोध्याका सम्बन्धमा गरेको टिप्पणी फिर्ता नलिए त्यसको परिणाम भारतमा रहेका नेपालीहरुले बेहोर्न पर्ने चेतावनी दिइएको छ ।
राजदूत आचार्यले बनारसमा एक नेपाली युवकमाथि विश्व हिन्दु सेनाका तर्फबाट भएको दुर्व्यवहारबारे पनि मुख्यमन्त्री कार्यालयसँग कुराकानी भएको बताएका छन् । पोस्टर टाँसिएको बारे मन्दिर व्यवस्थापनले तत्कालै दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो । त्यसपछि दूतावासले यसविषयलाई सम्बन्धित निकायसमक्ष उठाएको हो ।बनारस (काशी) को ललिताघाटस्थित पशुपतिनाथ मन्दिर राजा रणबहादुर शाहले निर्माण गरेका हुन् । बनारस प्रवासमा रहँदा शााहले नेपाली कालीगढहरुबाटै यो मन्दिर बनाउन लगाएका थिए । बनारस जाने नेपालीहरुका लागि यो मन्दिर प्रमुख आकर्षणका रुपमा रहँदै आएको छ ।
गत सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राम भारतको अयोध्यामा नभई नेपालमा जन्मिएको बताएका थिए । ‘राम पनि भारतीय हुँदै होइनन्, ठाउँ पनि भारतमा पर्दैन, नेपालको हो,’उनले भनेका थिए । ओलीको यो भनाईको नेपालमा मात्रै नभई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा), विपक्षी भारतीय राष्ट्रिय कांग्रेसदेखि भारतका सन्त–महन्तहरुले समेत चर्को विरोध गरेका छन् ।
विरोध भएपछि परराष्ट्र मन्त्रायलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाईको उद्देश्य कसैको भावनालाई चोट पुर्याउने नभएको तथा यो राजनीतिक भनाई नभएको स्पष्टीकरण दिएको थियो ।
