काठमाडौं, ४ साउन । धान रोपाइँका बेला मलखादमा भइरहेको कालोबजारी रोक्नुपर्नेलगायतका मागसहित अधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरुले आज सिरहाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अभाव देखाउँदै मलखादको कालोबजारी भइरहेकाले किसान धान रोपाइँको समयमा मारमा परेकाले तत्काल कालोबजारी रोक्नुपर्ने भन्दै नागरिक समाजका अगुवाहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । समाजमा बढ्दो दण्डहीनताका कारण अपराधजन्य कार्य बढ्दै गएको, जातीय भेदभाव छुवाछूतजस्ता कुसंस्कारका कारण दलित समुदाय अझै उत्पीडनको शिकार भइरहेकोलगायतका समस्याबारे जानकारी गराउँदै मानव अधिकार आयोगका अधिकृत दीपकुमार यादवले सुधारका लागि आवश्यक कदम चाल्न सुझाव दिन प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको बताउनुभयो । नियुक्त भएको एकसातामै अध्यक्षबाट राजीनामा नियुक्त भएको केही दिनमै लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश रोशन गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । लहान नगरपालिकाको शिक्षा समितिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा नं ७ का वडाध्यक्षसमेत रहनुभएका गुप्तालाई अघिल्लो साता नियुक्त गरेको थियो । नियुक्त भएको एक साता नबित्दै गुप्ताले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै आफू विद्यालय व्यवस्थापन समितिमा वडाध्यक्षको हैसियतले पदीय जिम्मेवारी वहन गर्ने उल्लेख गर्नुभएको छ । वडाध्यक्षको रूपमा विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यको जिम्मेवारी अझै रहेको भन्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा अरु नै कुनै योग्य व्यक्तिलाई छनोट गर्न राजीनामा दिएको गुप्ताले जानकारी दिनुभयो ।
