काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सही नीति र विधिमा आधारित भएर चलाउनुको विकल्प नरहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका सन्दर्भमा विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता खनालले कम्युनिष्ट आन्दोलनमा उपलब्धीसँगै ठूल्ठूला चुनौतीसमेत खडा भएकाले पार्टीलाई थप एकतावद्ध र सुदृढ बनाउनु पर्ने बताएका छन्।
‘उपलब्धीहरूसँगै हाम्रासामु ठूल्ठूला चुनौती पनि खडा भएका छन्। यी चुनौतीसँग जुध्न हाम्रो पार्टीलाई हामीले सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन,’ उनले भनेका छन्,’पार्टीलाई थप एकतावद्ध गरी सदृढ र थप मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलालप्रतिको सच्चा सम्मान पनि हो।’
पुष्पलालकै मार्गनिर्देशनबाट अघि बढेर नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको, संविधान जारी भएको र दुई ठूला कम्युनिष्ट पार्टी एक भएको समेत उनले उल्लेख गरेका छन्।
पछिल्लो समय अविरल वर्षाबाट सिर्जित बाढी पहिरो र कोरोना महामारीजस्ता विपतको सामना गरिहरेका नागरिकहरूको जीवन रक्षा गर्न, उद्धार र राहतमा प्रभावकारी ढंगले जुट्न पनि नेता खनालले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
