काठमाडौं,२३ साउन। ग्रामीण भेगमा जथाभावीरुपमा खनिने सडकले पहिराको जोखिम बढाएको छ । घर भएका ठाउँभन्दा माथि जथाभावी रुपमा खनिएका सडकका कारण तनहुँमा सर्वसाधारणले अकालमा ज्यान गुमाएका छन् ।
ऋषिङ गाउँपालिका–८ भैँसीकिलोमा केही वर्ष अगाडि खनिएको सडकका कारण एकै परिवारका पाँच जनाले ज्यान गुमाउनुप¥यो । बस्तीभन्दा ठीकमाथि सडक खनिएको थियो । सडकबाट पहिरा खसेर पाँच जनाले ज्यान त गुमाए यहाँको छ घरपरिवार पनि विस्थापित हुने अवस्थामा पुगेको छ ।
यस ठाउँमा पहिराका जोखिम कायमै रहेकाले छ परिवारलाई अन्यत्रै सार्ने निर्णय गरेर गाउँपालिकाले छ आना जग्गा खरिद गरिसकेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । “सडकभन्दा तल बस्ती रहेकाले अझै पनि यहाँ पहिराको जोखिम कायमै छ । सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि गाउँपालिकाले पहल थालिसकेको छ, जग्गा खरिद भइसकेकाले उहाँहरुलाई उक्त ठाउँमा स्थानान्तरण गर्छौं”, उहाँले भन्नुभयो ।
तनहुँको व्यास नगरपालिका–११ ओडारेका पदमबहादुर चेपाङले पनि घरभन्दा माथिको सडकबाट खसेको पहिराले ज्यान गुमाउनुभयो । भाइ अस्तबहादुर चेपाङको घरमाथिको सडकबाट झरेको पानीको भलले जोखिम भएपछि तर्काउन पुग्नुभएका पदमबहादुरको एक्कासि खसेको पहिराले पुरिएर निधन भयो ।
असार २९ गते र त्यसपछि परेको निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरा खसेका छन् । सडक खनिएका अधिकांश स्थानमा यो वर्ष पहिरा खसेको म्याग्दे गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताउनुभयो । “सडक नखनेका गोरेटो बाटो भएका डाडाँहरुमा पहिरा खसेको छैन । जुन डाँडोमा सडक खनिएको छ, त्यहाँ पहिरा गएको देखिन्छ,” उहाँले भन्नुभयो ।
भूगर्वविद् श्रीकमल द्विवेदीले धेरैजसो पहिरा सडककै कारण गएको बताउनुभयो । सडक खन्दा धेरैजसो ठाउँमा भित्तो खोतलेर ढुङ्गामाटो खोल्सीमा फाल्ने अभ्यासका कारण पहिरा खस्ने गरेको उहाँले बताउनुभयो । सडक खन्दा वैज्ञानिक तरिका अपनाउनुपर्ने र जथाभावी सडक खन्ने प्रवृत्तिको अन्त्य नभएसम्म यस्तो समस्या आइरहने उहाँको भनाइ छ ।
असार अन्तिम साता परेको वर्षाले व्यास नगरपालिकाको बुल्दी खोला, म्याग्दे गाउँपालिकाको म्याग्दे र स्याङ्दे खोला बस्तीमा पसेर केही घर भत्किए । भू तथा जलाधार व्यवस्थापन कार्यालय दमौलीका प्रमुख दिवाकर पौडेलले मान्छेले खोला मिचेर खेत बनाउने गरेकाले खोलाले आफ्नो बाटो खोजेको बताउनुभयो । “बस्ती खोलामा पसेर मिचेको देखिन्छ । प्रकृतिसँग पैठेजोरी खेलेर मानिसले जित्न सक्दैन”, उहाँले भन्नुभयो, “सधैँ खोलामा बाढी आउँदैन । ठूला खोला ३० वर्षसम्म पनि फर्कन्छ र त्यसले आफ्नो आकार लिन्छ ।”
