काङ्ग्रेसभित्र उत्पन्न संवादहिनताको अन्त्य हुनुपर्छः नेता डा. कोइराला

मुख्य समाचार राजनीति समाचार

भक्तपुर, २१ असोज | नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरको आज सम्पन्न आठौँ अधिवेशनले रोशन शिल्पकारको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ण नेपाल, सचिवमा सुन्दर शिल्पकार, सहसचिवमा सुशीला सिग्देल, कोषाध्यक्षमा विनोद कोजु तथा सदस्यमा मनोजकुमार पोखरेल, विकास थापा, रामगोपाल तमखु तथा सन्तोष ढुङ्गेल चयन भएको युनियनले जनाएको छ । समितिको महिला उपाध्यक्षसहित तीन सदस्यपछि मनोनीत गर्ने गरी रिक्त राखिएको जनाएको छ ।

अधिवेशनले पुस्करराज बुढाथोकी, मोहन बल्ल, प्रवीन लाखे, पुरुषोत्तम मुनकर्मी, हरिशरण तिमिल्सेना, ज्ञानेन्द्र कार्की, कमल सापकोटा, विदुर नेपाल, जुली तामाङलाई सर्वसम्मतरुपमा प्रदेश प्रतिनिधि चयन गरेको छ ।

त्यस्तै कविर राणा, नारायण किलम्बु, दिलीप थापामगर, शेखर ढुङ्गाना, अमर भुजु, बालकृष्ण श्रेष्ठ, पेशल आचार्य, धु्रवराम थापा र दीक्षा राईलाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको युनियनले जनाएको छ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री केपी ओली नेतृत्व वर्तमान सरकारलाई आगामी पाँच वर्ष चल्न दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको मतबाट बहुमत पु-याएर सरकार गठन गरेको छ, यो सरकारलाई पाँच वर्ष सञ्चालन गर्न दिनुपर्छ, सरकारले गलत गरे प्रतिपक्षले सडक, सदन र मिडियामार्फत खबरदारी गर्नुपर्छ ।”

नेता कोइरालाले सरकारले दुई तिहाइको दम्भ देखाएर अगाडि बढ्न नहुने बताउँदै अनुदार लोकतन्त्रका रुपमा सरकार अगाडि बढ्न नहुने धारणा व्यक्त गर्नुभयो ।

मुलुकमा प्रेस स्वतन्त्रताको सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै उहाँले फौजदारी देवानी संहिता नेपाली काङ्ग्रेस नेतृत्व सरकारको पालामा सबै दलको सहमतिमा ल्याएको हो भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो संहिता ल्याउँदा काङ्ग्रेसबाट गल्ती भएकै हो, यसलाई स्वीकार्नुपर्छ, यसलाई सच्याएर जान काङ्ग्रेस अग्रसर हुनुपर्छ ।” काङ्ग्रेसभित्र अहिले संवादहिनताको अवस्था रहेको बताउँदै उहाँले नेतृत्वको कमजोरीका कारण काङ्ग्रेस कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो ।

डा कोइरालाले भन्नुभयो, “पार्टीभित्र विचारमा विवाद हुनु स्वभाविकै हो, गुटउपगुट पनि नराम्रो होइन तर गिरिजाप्रसाद कोइराला, किसुनजी र गणेशमानबीच गुटका विवाद हुँदा संवादहिनताको कुरा आउँदैनथ्यो, संवाद हुन्थ्यो, राष्ट्रियताको सवालमा पार्टीको एउटै धारणा बन्थ्यो तर अहिले त त्यो पनि भएन ।”

उहाँले काङ्ग्रेसभित्र उत्पन्न संवादहिनताको अन्त्य हुनुपर्नेमा जोड दिँदै संवादबाटै पार्टीभित्रको समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेस भक्तपुर सभापति दुर्लभ थापाले प्रेस युनियनलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काङ्ग्रेस भक्तपुरका पूर्वसभापति महेश श्रेष्ठ, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, वरिष्ठ पत्रकार कवीर राणा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगर, प्रेस युनियनका केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य राजाराम कार्की, नकुल अर्याल, खिला कार्की, क्रियाशील पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी भक्तपुरका सचिव हेमराज ढकाललगायत प्रेस स्वतन्त्रतालाई कसैले कुण्ठित गर्न नहुने धारणा व्यत्तः गर्नुभयो ।