काठमाडौं २ भाद्र । काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार मध्यारातीदेखि निषेधाज्ञा लागू हुने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले बुधबार मध्यराति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ र सुरक्षा अंगका प्रमुखहरुको बैठकको निर्णयअनुसार बुधबार मध्यराति १२ बजेदेखि तीनै जिल्लामा निषेधाज्ञा लागू हुनेछ ।
यसअघि मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले संघीय सरकारले निषेधाज्ञा लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको जानकारी दिएका थिए । त्यसपछि बसेको उपत्यकाको सीडीओहरुको बैठकले काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा कोरोनाभाइस संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सो निर्णय गरिएको हो । पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकामा मात्रै २४ घण्टामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक अन्य व्यवसाय तथा यातायात पूर्ण रुपमा बन्द हुनेछ ।
