१४ कार्तिक २०७७, शुक्रबार

हामी यस्तै त हो नि ब्रोः नेपाल कम्युनिस्ट पार्टि

kamdardainik.com (First, Fast & Accurate)

माधव बानियाँ

ऋषि मुनिहरुको समेत बासस्थान मानिएको प्राचीन एवंम पौराणिक नेपालको अस्तित्व वा इतिहासलाई यस पृथ्वीमा खोतल्ने क्रममा इस्वी संवतको थालनीसम्मप्रमाणिक रुपमा नभेटिए तापनि इस्वीको पाँचौं शताब्दीमा प्रमाणको विश्वासिलो आधार देखिन्छ । नेपालको शासन ब्यवस्था गोपालबंशी अर्थात गाइपालक समुदायबाट सुरुवात भई महेशपाल अर्थात भैंसीपालक समुदाय त्यसपछि किँरातबंशको शासनकाल हुदैँ लिच्छवी बंशजको शासनकालसम्म आइपुग्दा नेपालको इतिहासमा लिच्छवी शासन काललाई स्वर्ण युग मानिन्छ ।भारतको वैशाली भन्ने ठाउँबाट नेपालमा प्रवेश गरेका लिच्छवीहरुलाई सुर्यबंशी क्षेत्रीय राजा दशरथका आठौँ पुस्ता मानिन्छ । जनहितलाई बढी महत्व दिने, शासन ब्यवस्था संगठित, जनजीवन उन्नत, आर्थिक ब्यवस्था उत्तम, शिक्षाको स्तर आकर्षक र कला आदिले गर्दा नेपालको प्राचीन शासन ब्यवस्थामा लिच्छवी काल उत्तम रहन गएको देखिन्छ ।

त्यस पछिका शासन काल मल्ल राज्य कालमा राजा महिन्द्र मल्लले हालको काठमाडौं उपत्यकालाई ३ वटा राज्य पाटन (ललितपुर), भादगाउँ (भक्तपुर) र कान्तिपुर (काठमाडौं) मा बिभाजन गरी छोराहरुलाई राज्य सुम्पे । गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालिन समयमा नेपालको नामले परिचित हालको उपत्यकालाई सन १७६८ मा आक्रमण गरी गोरखाको छिमेकी राज्यलाई समेत एकिकरण गरी नेपालको राजधानी काठमाडौं बनाई नेपालमा शाह बंशजको राजतन्त्रात्मक शासन ब्यवस्था २४० वर्ष सम्म रहन गयो । तत्कालिन समयमा बिश्वका धेरैजसो देशहरुमा राजतन्त्रात्मक शासन ब्यवस्था थियो । राजा वा राजपरिवारको इच्छा वा आदेश नै जनताको इच्छा रहने गर्दथ्यो र कतिपय राजा वा राज्य शासन ब्यवस्थाले जनताको भलो वा जनताको इच्छा नै आफ्नो इच्छा हुने परम्परा समेत हुने गर्दथ्यो ।

समयको क्रमसगै क्षेत्र वा भुगोल मानिसको समुदाय, बसाई, सराई, आहा अथवा शक्तिको कारणले गर्दा एक ब्यक्तिको वा समुदायको प्रभाव पनि बिस्तारै घट्दै गएको कारणले शासन ब्यबस्था पनि परिबर्तन हुदैँ गयो । राजतन्त्रात्मक शासन ब्यबस्था परिवर्तन हुँदै गणतान्त्रिक वा जनतान्त्रिक शासन ब्यवस्था कायम हुन थालेको पाइन्छ । नेपालको सन्दर्भको चर्चा गर्नु पर्दा बि.सं.२००७ सालमा राणा शासनकालको अन्त्य र बि.सं. २०१५ सालमा पहिलो पटक संसदीय आम निर्वाचन पश्चात आधिकारिक रुपमा नेपालमा राजनैतिक पार्टिले मान्यता प्राप्त गर्यो। बि.सं. २०१५ सालको नेपालको प्रथम संसदीय निर्वाचनमा नेपाली काग्रेसले करिब दुई तिहाई जनमत प्राप्त गरी सरकार संचालन गरेको भएता पनि त्यसले जन अपेक्षा अनुसार काम गर्न नसक्नु, राज्यको हरेक क्षेत्रमा काग्रेसी करण हुनु, शासन प्रसासनमा अनुभवको कमी हुनु तथा राजा र प्रधानमन्त्रीका बीचको ब्यक्तित्वको टकराब आदि कारणले गर्दा राजा महेन्द्रले जनताको हातमा पुगेको शासन पुन आफ्नो कब्जामा लिई दलबिहीन पंचायती शासन ब्यबस्था कायम गरी शासनमा राजतन्त्रको सक्रियता स्थापना गरे । करिब ३० वर्षीय पंचायती शासनमा पनि जनताको जनजिबिका, प्रजातन्त्र, सु-शासनको अभाबमा नेपालको बिकासले खासै उपलब्धी प्राप्त गर्न सकेन । जसले गर्दा जन असोन्तोष बढ्दै गई बहु दलिय शासन ब्यवस्था बि.सं. २०४६ मा कायम भयो। बि.सं २०४६ सालको बहुदलिय शासन ब्यबस्था पछिका दिनमा नेपाली काग्रेसले लामो समयसम्म शासन गरेता पनि प्रजातन्त्र र उदारबादको नाममा भ्रष्टाचार भएको, उद्योगधन्दा बिक्री बितरण तथा बन्द रहेको, राजनैतिक नीतिगत, भ्रष्टाचार, कु–शासन कमिसन आदि कार्य बाहेक खासै उपलब्धी मुलक नभएको जनजीबिकाको समस्यालाई समाधान गर्नुको सट्टा बी.पि. को सिदान्त आदर्श भन्दा पनि नेतामुखि प्रवृतिले प्रश्रय पाउन थाल्यो ।

समाजमा गरिबी, भेदभाब, अशिक्षा, आदिको फाइदा उठाउँदैं दश वर्षे माओबादी बिद्रोह पश्चात गणतान्त्रिक शासन ब्यवस्था तथा संसदीय शासन ब्यवस्था समेत कायम भएको अवस्थामा समेत जनजीबिकाको समस्या यथावत नै देखिन्छ । नेपाली जनताले पटक पटक नेपाली काँग्रेसलाई सत्ताको बागडोर सुम्पेपनि काँग्रेसले जनजीबिकाको समस्यामा ध्यान दिन नसकेकोले बिकल्पको रुपमा नेपालमा कम्युनिष्ट पार्टिलाई हालै सम्पन्न भएको संघिय, प्रदेश तथा स्थानीय निर्वाचनमा करिब दुई तिहाई मत प्रदान गरेका छन् । काग्रेस भन्दा प्रगतिशिल र राष्ट्रवादि भावना समेट्न सक्ने एवंम आशावादि देखिएको नेकपा पुर्व एमाले माओबादीको संयुक्त गठबन्धनले सान्दार मत प्राप्त गरेकै हो । बि.सं. २०४६ साल पछि पहिलो पल्ट अपार जनमत प्राप्त गरेको पार्टिले बिगतको पार्टिले गरेका कमी कमजोरीलाई सच्याई तथा नौ महिने शासन कालमा जनताका लागी गरेको कार्य आदि कारणले गर्दा बर्तमान नेकपा पार्टिको सरकारप्रति जनताको अपार आशा एवंम भरोसा रहेको थियो र यद्यपी छ पनि तर बिगत तीन वर्षे नेकपा सरकारको कार्यकाललाई मुल्याङ्कन गर्दा कुरा बढी काम चाँही कछुवा गतिमा भएको पाइन्छ । सरकारी र कर्मचारी प्रशासनमा यो तीन बर्षे समयको अवधिमा सु–शासन सबै भन्दा कमजोर पक्ष रहेको देखिन्छ।

बर्तमान समयको कुरा गर्ने हो भने पनि कोभिड १९ को महामारीमा जनताको मन जित्ने क७३घढसनै कार्य भएको देखिदैंन । कोभिड १९ को रोकथामको लागी सरकारको सबैभन्दा सजिलो हतियासको रुपमा लकडाउन मात्र बन्न पुग्यो। लकडाउन जनतालाई सुरक्षा दिने नाममा अनियमितता, पार्टि भित्रका अन्तर बिरोध आदिलाई सडक र सदनमा नउठोस् भन्नका खातिर सजिलो उपाय मात्र भएको देखिन्छ। राहत बितरणमा ब्यापक अनियमितता, क्वारिनटाइन निमार्णका बहानामा भ्रष्टाचार, स्वास्थ्य सामग्री खरिदमा ओम्ने समुहमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा मन्त्री र सचिबहरुको संलग्नता र त्यसमाथी जनताको आवाज उठ्दा कार्यकारी प्रमुखबाट सत्ता जोगाउन वा गुट बलियो पार्नआँखा चिम्लेर समर्थनमा उत्रिनु र त्यसप्रति सरकारकै पार्टिका प्रतिपक्षी नेताहरु पनि बोल्न नचाहनु आदि प्रकरणले गर्दा सरकार र पार्टि जनता प्रति कति उत्तरदायी छ भन्ने कुरा स्पस्ट भएको देखिन्छ । जनताले नेकपा सरकारसँग आशा गरेको पक्कै पनि यस्तो अवस्था थियो त ?

सत्ता र शक्तिको कति सम्म दुरुपयोग भएको छ भन्ने उदाहरणका रुपमा बालुवाटार जग्गा प्रकरणलाई लिन सकिन्छ । सरकारी जग्गा ब्यक्तिले किनबेच गर्दा सरकारी सम्पत्तिको दुरूरुपयोगको अभियोगमा अन्य सबैलाई अख्तियारले कारबाहीको लागि प्रक्रिया अगाडी बढाउँदा जग्गाको तारतम्य मिलाए बापत पाएको जग्गा पार्टिको शक्तिशाली पदमा रहेकै कारण फिर्ती गरिदिँदा अख्तियारले मुद्धा नचलाउनु कति हद सम्मको शत्तिको दुरुपयोग गरिएको छ भन्ने सारा दुनियाँलाई जगजाहेर छ। स्वतन्त्र निकाय मानिने अख्तियार कसरी लाचार र सरकारको छायाँ बनेको छ । यो एउटा गतिलो उदाहरण होईन र? यसैगरी एउटा सम्झौता नसकिदैं बिचमै अर्को सम्झौता गरीदिएर थप समय अवधीका लागी गोकर्णका जग्गा अन्य ठेक्का पट्टा यती समुहलाई प्रदान गर्न नेकपा सरकारको जनताको मतलाई भजाएर चरम नियमितता बाहेक अरु के हुन सक्छ र ?गणतान्त्रिक शासन ब्यवस्थाको पहिलो संसदीय निर्वाचनमा नेपाली जनतासंग बिकास र समृद्धिको नारा मार्फत जनमत प्राप्त गर्न सफल तथा राष्ट्रवादी भावनाद्धारा जनतालाई राष्ट्रियता प्रति गोलबद्ध गर्न सफल बर्तमान ओली सरकार गफ र उग्र राष्ट्रवादको खोक्रो आडम्बर मै ब्यस्त देखिन्छ ।

“सुखी नेपाली, समृद्ध नेपाल” जस्ता नारा उखान टुक्का र गफमै सिमित देखिन्छ । कोही जनता अबको दिनमा भोकै बस्नु पर्ने छैन भन्ने उडन्ते गफ कोरनाको कारण पुरा हुन नसकेको, आफ्नै पार्टि भित्रका अवरोधका कारणले आफुले राम्ररी काम गर्न नपाएका जस्ता रोदन र दम्भसँग नेपाली जनतालाई खासै सरोकार रहदैंन । जनता त के मात्रबुझ्दछन् भने पार्टिहरुले एकल बहुमत नपाएको कारणले सरकार स्थिर हुन नसकेको नेताहरुको भनाइमा बिश्वास गरी सरकारलाई स्थिरता, बिकास, समृद्धि, सु–शासन र प्रजातन्त्रको लागी मात्र मत दिएका हुन् तर जनताहरुलाई बेबकुफ र आफूमात्र सर्बज्ञानी, सर्बज्ञाता र जनताको आशा भरोसाको केन्द्र ठान्ने प्रवृति बर्तमान नेकपाको नेतामा दम्भ देखिन्छ र भन्ने गरिन्छ । हामी त यस्तै त हो नी ब्रो !

जनताको आशा एवंम भरोसा गरेका नौ महिने एमाले शासनकालमा आपनो गाउँ आफैं बनाऊँ र बृद्ध भत्ता जस्ता नेपालको बजेटमा सर्बप्रथम जनतामुखी कार्यक्रम ल्याएको तथा दश वर्षे युद्धमा सामाजिक तथा राजनैतिक परिवर्तन केही मात्रामा परिवर्तनको महसुस गरेको पार्टि सक्रिय भई निर्वाचनमा जाँदा जनताको बहुमत प्राप्त गर्नु अवश्य पनि आशावादी थियो । नेपालको राजनैतिक पार्टिहरुमा सबैभन्दा संगठीत र अनुसशासित मानिएको पार्टि, बिधि र पद्धति अनुसार चल्ने भनेर जनमानसमा प्रभाव रहेको पुर्व एमालेको पार्टिको नेतृत्व रहेको वर्तमान सरकारको साख अबको दिनमा पुर्ब नौ महिने शासनकालको जस्तो नरही कमिसन, ब्यक्तिवादी प्रवृति, भ्रष्टाचार वा जस्तोसुकै अपराध गरेको भएपनि त्यसमा आफ्नो समुह वा गुटको रहेको खण्डमा देशको कार्यकारी प्रमुखबाट आर्शिवाद प्रदान गर्नु वा संरक्षण गर्नु बिना कारण बिना प्रसँङ्ग तुक न बेतुकको उग्र राष्ट्रवादी भावना ब्यक्त गरी आम मानिसलाई भ्रम सिर्जना गर्नु अनि अहिलेको परिस्थितिमा कोभिड १९ लाई सबै दोष थोपार्नु मात्र ले पक्कै पनि बिकास वा समृद्धि आउँदैंन् । आम मानिसमा लकडाउन भनेका जनता सुत्ने र नेताले लुट्ने कार्य भन्ने बुझाइ हुँदै गएको छ ।

सत्ता र शक्तिमा पुगेपछि सरकारी स्रोत र साधन तथा सुबिधाको दुरुपयोग तीन पुस्तालाई पुग्ने गरी प्रयोग गर्ने।जनताको समस्यालाई बेलाबखत उग्रबादी भाषण तथा उग्र राष्ट्रबादको भावनामा परिबर्तन गर्ने प्रवृति नेकपामा देखिन थालेको छ । किम्बदन्ती अनुसार पृथ्वीको अवस्था के कस्तो छ भनेर बझ्न एकदिन स्वर्गलोकबाट महादेव र पार्वती पृथ्वीमा वा मत्यलोकमा आउँदा बाटोमा फोहरको थुप्रोमा सँगुरले फोहर खाई रहेको देखेर पार्वतीले महादेवलाई गुनासो गरिन् – नाथ, यो प्राणीलाई यस्तो फोहर बस्तु छान दिनुको सट्टा यसलाई स्वर्गमा लगेर उद्धार गर्नुपप्यो। स्त्री हठले गर्दा महादेवले सुँगुरलाई भनेछन् तिमी हामी सँग स्वर्गमा हिँड जहाँ तिमीले राम्रो खाना खान पाउनेछौं । जवाफमा सुँगुरले भनेछ के त्यहाँ मैले … खान पाउँछु ? यस प्रकार नेपाली जनताले नेपालको कम्युनिस्टपार्टिलाई स्वर्गमा जाने जनमत दिँदा पनि पृथ्वी मै फोहर खाएर बस्न मन पराउने वा जन भावनाको कदर नगरी शक्ति र सत्ताको अहंमता भाबनाले ७० करोड, ओम्ने समुह, यति समुह, बालुवाटार जग्गा प्रकरण आदि कार्य गर्दै र त्यसलाई छानबिन गर्नुको साटो आफ्ना भजन मण्डलीलाई संरक्षण गर्दै जाने हो भने नेकपा भनेको हामी त यस्तै त हो नी ब्रो होइन र?

(लेखक माधव बानियाँ बिभिन्न शैक्षिक संस्थाका संस्थापक, संचालक तथा लामो समयदेखि प्राध्यापन सेवामा संलग्न छन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *