श्रममन्त्री यादवमाथि प्रायोजित आक्रमण

मुख्य समाचार राजनीति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवमाथि प्रायोजित रुपमा आक्रमण भएको छ । मन्त्रिमण्डल पुनर्गठनको तयारी चलिरहेको बेला उनीमाथि उनको मानमर्दन हुनेगरी गम्भीर प्रकृतिका कमोपलकल्पित आरोपहरु लगाईएको प्रति मन्त्री यादवको सचिवालयद्वारा खण्डन गरेको छ । एक अनलाइन पत्रिकाले मन्त्री यादवलाई लक्षित गरेर हालै समाचार प्रकाशन गरेको थियो । ‘श्रममन्त्रीमाथि भारतलाई सूचना चुहाएको आरोप, बर्खास्तको तयारी’ शीर्षकमा गरेको कपोलकल्पित, मनगढन्त र दुराग्रहपूर्ण समाचारप्रति मन्त्री यादवको स्वकीय सचिवालयले खण्डन गरेको छ ।

राष्ट्रहितमा समर्पित मन्त्री यादवमाथि यस्तो आरोप लगाउनु गलत भएको उनको सचिवालयले जनाएको छ । जिम्मेवार ओहोदामा भएका व्यक्तिलाई अनाहकमा बदख्वाइँ गर्ने र जबर्जस्ती विवादास्पद पात्रका रूपमा चित्रण गर्ने लहडी नियतले सो समाचार प्रकाशन भएको सचिवालयको प्रारम्भिक ठहर छ । यद्यपि समाचारमा प्रयोग भएका भाषाशैली र मिथ्याभियोगको संदनशीलतालाई दृष्टिगत गर्दा समाचार प्रकाशन गर्ने र गराउने पृष्ठभूमिमा गहिरो निराशा, कुण्ठा र प्रतिशोध प्रष्ट रहेको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जनतालाई सूसूचित गराउने मिडिया नै चरित्रहत्या हुने षड्यन्त्रबाट निर्देशित र प्रयोग हुनु दुर्भाग्यपूर्ण छ । यस्ता सतही र आधारहीन समाचारको विश्वसनीयतामाथि प्रश्नचिह्न खडा भएको सचिवालयले जनाएको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूको विश्वास र भरोसामा खरो उत्रिँदै आउनुभएका मन्त्रीको देशप्रतिको आस्था, निष्ठा र समर्पणको मूल्यांकन कथित समाचारबाट कदापि हुन नसक्ने मन्त्री यादवको सचिवालयले जनाएको छ । यस्ता भ्रामक र द्वेषपूर्ण समाचार पूर्णतः असत्य र दुर्भावनाप्रेरित रहेको सचिवालयले जनाएको छ ।