कतारमा श्रमिकको तलब वृद्धि , पुग्यो न्युनतम १८ सय कतारी रियल

अन्तराष्ट्रिय प्रवास वैदेशिक रोजगार

काठमाण्डौ,१५ भाद्र। कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला कम्तिमा एक हजार कतारी रियाल तोकेको छ । मन्त्रालयले आइतबार न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको विभिन्न सन्चारमाध्यमले जनाएका छन। यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरिएको थिएन । तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउनेछन् ।

यस्तै कतार सरकारले श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम पनि खारेज गरेको छ । अब श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी दिनु पर्छ ।

कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउनेछ । कतार सरकारको यो निर्णयको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले पनि स्वागत गरेको छ । आइएलओले कतार सरकारको यो निर्णय श्रमिकहरुका लागि कोशेढुङ्गा सावित हुने बताएको छ । खाडीको देश कतार नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमध्ये एक हो । कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने निश्चित भएसँगै आप्रवासी श्रमिकमाथि लगाएका विभिन्न नियमहरु परिवर्तन गरिरहेको छ । कतार सरकारको पछिल्लो यो निर्णयले कतारमा कार्यरत नेपाली श्रमिकलाई पनि फाइदा पुग्नेछ । कतारबाट श्रमिकले चाहेमा कतारको श्रम कानुन अनुसार श्रमिकहरु रोजगारदाताको अनुमति बिना नै स्वदेश फर्कन सक्छन् । कतार सरकारको यो निर्णयले श्रमिक र रोजगारदाता दुवैलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।