काठमाडौं, १ असोज । राष्ट्रिय सभा सदस्यमा मनोनीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई बिहीबार दिउँसो पद तथा गोपनियताको शपथ गराए।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार सिंहदरबारस्थित् दिगो विकास तथा सुशासन समितिको हलमा दिउँसो गौतमले शपथ लिएका हुन्। शपथपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गाैतमलाई संघीय संसदको प्रतिक चिन्ह समेत प्रदान गरेका छन्।
शपथ कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल र नेकपा महासचिव विष्णु पौडेल समेत उपस्थित थिए। गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो नै राष्ट्रिय सभा सस्दयमा मनोनयन गरेकी थिइन्।
