१४ कार्तिक २०७७, शुक्रबार

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं,१असोज। सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्तुत गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली, २०७७ लाई भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । साथै जनस्वास्थ्य सेवा नियमावली, २०७७ लाई पनि त्यस अघि बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
दुवै नियमावली स्वीकृत भएकामा प्रजनन् स्वास्थ्य अधिकार कार्यसमूहले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि सवै निकाय तथा सङ्घ संस्थालाई समूहले अनुरोध पनि गरेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार महिलाको मानव अधिकारको अभिन्न अङ्ग हो । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यलाई नेपालको संविधानले मौलिक हकको रुपमा अङ्गीकार गरेको छ ।
ऐनको कार्यान्वयनको सन्दर्भमा नियमावलीको आवश्यकता रहने भएता पनि लामो समयसम्म नियमावलीको अभावमा संविधान तथा कानुन प्रदत्त हक र अधिकारको उपयोग गर्नवाट महिला बञ्चित थिए । प्रजनन् स्वास्थ्य अधिकार कार्य समूहको सचिवालय महिला, कानुन र विकास मञ्चले सर्वोच्च अदालतमा नियमावली अविलम्ब जारी गर्न माग गर्दै रिट निवेदन दर्ता गरेको थियो ।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठ लगायतका अधिवक्ताले २०७६ चैत ७ गते रिट दर्ता गर्नुभएको थियो । सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको नाममा जेठ २८ गते कारण देखाउ आदेश जारी गरेको मञ्चका कार्यक्रम अधिकृत अधिवक्ता नविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय महिला आयोगको संयोजकत्वमा गठित प्रजनन् स्वास्थ्य अधिकार कार्य समूह यौन तथा प्रजनन् स्वास्थ्य सेवा र अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाहरूको सामूहिक सञ्जाल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *