काठमाडौं३भदौ। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला चाबहिलस्थित ओम अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत मङ्गलबार कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएपछि अस्पतालमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो ।
बिहीबार महामन्त्री डा. कोइरालाले भिडियो सन्देश जारी गर्दै आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताउनुभएको थियो । कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बस्नुभएका उहाँमा ज्वरो र निमोनियाका कारण अस्पताल भर्ना हुनुभएको थियो ।
महामन्त्री डा कोइरालाले डिस्चार्जपछि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएपछि डिस्चार्ज भएको उल्लेख गर्नुभएको छ । चिकित्सकको सल्लाहअनुसार केही दिन होमआइसोलेसनमा बस्नेसमेत उहाँले बताउनुभएको छ । महामन्त्री कोइरालाको उपचारमा अस्पतालका निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टोली रहेको थियो ।
