हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा सीमास्तम्भ गायब पारेर कम्युनिष्ट चीनले नेपाली भूमि अतिक्रमण गरी जबर्जस्ती ११ वटा घर बनाएको घटनाप्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गर्दछ । हुम्ला जिल्लाको नाम्खा गा.वि.स. अन्तर्गत लिमि गाँउको लाप्चामा दुइ किलोमिटर सीमा मिचेर चीनले 11वटा घर बनाएको र त्यस क्षेत्रमा नेपालीहरुले प्रवेश गर्न खोज्दा चिनियाँ सैनिकले रोकेको जानकारी स्वयं नाम्खा गाँउपालीकाका जननिर्वाचित अध्यक्षले सार्वजनिक गरेका छन् । सो क्षेत्रमा चीनले सीमा स्तम्भ समेत गायब पारेको र यसबारे कुरा गर्न खोज्दा धम्कीपुर्ण दादागिरी गरेको छ ।
कम्युनिष्ट चीनले गोर्खा, रसुवा, हुम्ला लगायतका जिल्लामा सीमा अतिक्रमण गरेर सयाँै विघा जग्गा कब्जा गरेको, अवैध निर्माण गरेको र ती क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाएको कुरा नापी विभाग लगायत सरकारी निकायहरुले यसअघि पनि सार्वजनिक गरेका हुन् । त्यसलाई चीनसँगको मिलेमतोमा नेपालको कम्युनिष्ट सरकारले खण्डन गर्दै, दबाउँदै र उक्त जानकारी सार्वजनिक नगर्ने धम्की दिदैं आएको सर्वविदितै छ । हुम्लाको लाप्चामा सीमा अतिक्रमण गरेको यस घटनालाई पनि दवाउन सरकारले प्रयास सुरु गरेको छ । दुर्गम हिमाली क्षेत्रमा अन्यत्रका जनताको पहुँच नभएका कारण त्यस्ता क्षेत्रमा पटकपटक नेपालको जग्गा अतिक्रमण गर्दै कम्युनिष्ट चीनको षडयन्त्र र त्यसलाई हरतरहले साथ दिने चीनको दास सरहको नेपालको कम्युनिष्ट सरकारको हर्कत निन्दनीय छ ।
नेपाल रिपब्लिक पार्टी कम्युनिष्ट चीनलाई यस्तो हर्कत तुरुन्त बन्द गर्न र नेपाल सरकारलाई अतिक्रमित नेपाली भूमि तत्काल फिर्ता ल्याउन, अन्यथा नेपाली जनताको आक्रोशको सामना गर्न तयार रहन चेतावनि दिन चाहन्छ । देशको भूभाग पटकपटक, गुपचुप तवरमा चीनलाई सुम्पिदै जाने कम्युनिष्ट सरकारको राष्ट्रघाती हर्कतले नेपालीलाई तिव्र आक्रोशित तुल्याएको छ । यस्तो हर्कत बन्द नगरे चीनले पनि गम्भीर परिणाम भोग्नुपर्नेछ । राष्ट्रियता र लोकतन्त्रप्रति आस्थावान सबै पक्ष, राजनितिक पार्टी र सम्पूर्ण विश्वसमुदायले कम्युनिष्ट चीन र नेपालको कम्युनिष्ट सरकारको यस हर्कतका विरुद्ध नेपाल रिपब्लिक पार्टीले सञ्चालन गर्ने अभियानमा साथ दिने कुरामा पार्टी विस्वस्त छ । नेपालको भूभाग, राष्ट्रियता, राष्ट्रिय अस्मीता र लोकतन्त्रलाई चीनको पाउमा समर्पण गर्न उद्यत नेपालको जनघाती कम्युनिष्ट सरकारको पतन नभएसम्म यस्तो हर्कत जारी रहने भएकाले यसलाई चाँडोभन्दा चाँडो अपदस्थ गराउनु नै देश बचाउने एकमात्र उपाय हो भन्ने पनि नेपाल रिपब्लिक पार्टी सबैलाई स्मरण गराउन चाहन्छ ।
