४ कार्तिक २०७७, मंगलवार

टाउकोमा चरा रगत धरर

kamdardainik.com (First, Fast & Accurate)

सरोज नेपाल ।

साउन महिनाको झम्के झरी। तीन दिन निरन्तर परेको पानी भर्खर बिसाएको थियो ।भोलीलाइ सम्म पुग्नेगरी धेरै घास काटेर बालाइ खुशी बनाएर भोलीको श्रीकृष्ण जन्माष्टमीको मेलामा रम्भापानी जाने ताकमा रहेका सान्दाइ(मोहन , हाल स्वर्गीय ) र शम्भुदाइ बिहान उठ्नासाथ हसिया नाम्लो बोकेर हिडेका अझै सम्म अत्तोपत्तो थिएन । घास काट्न खासै नजान्ने मेरी दिदी पनि त्यो दिन दाइहरुकै सिको गरेर सानो हसिया लिएर हिडिन । करिव एक घण्टामा रित्तै हात आएकी दिदीले आगनको डिलबाटै बा तिर हेर्दै भनिन “सखर्खण्ड पाटो मुनी मैले चालिस मुठा घास काटेर राखेइछु , भारी बनाउन नजानेर ……..। दिदीको बाक्य पुरा नहुँदै बा तेतै लाग्नु भो एकै छिनमा त्यो सबै चालिस मुठा एकै अगालोमा ल्याउनु भो।
“ए घोल्ठे ! हेर्त मेरो खाटमाथी दबेकमा चोड(चुरोट ) छ दुइटा ल्या त” पिताज्ञा नैव लङ्घयेत भन्ने जमानाको मैले तुरुन्तै बाको आज्ञा पालन गरे ।

सिकुवाको दैलो छेउमा बसेकी मैदाने आमै(मैदान हिरादाइको आमा) कति बेला आइछन कुन्नी, हाम्री आमा सङ्ग भन्दै थिइन् “उस्टो के बज्यै लोर्ह्याङ्बाट ल्याको नकोक्याउन्या पेरालुको गाभा ल्याइडेको, हिजो अस्टि वाइ कि वाइ पानी परेर उच्छारै भएन,आज पनि माझटिर गएर टिप्न होडिकै भयो, ढरी ढरीको ढन्यालाइ टिप्न भनेर ल्याइडेको। एउटा डरै(भुइँ कटहर) पनि छ । ति आमैले पनि चुरोट खान्थिन उनलाइ देखेरै होला बाले दुइटा चुरोट ल्या भनेको ।

पानी बन्द भैसकेको थियो । फुर्सदिलाहरु तिनाउको वारी पारी किनारै भरी बाक्लै देखिए। कोहि कोहि अलिक बलिया बाङ्गाले बाढीकोभेलले किनारमा फालेको मुढा दाउरा जम्मा गर्दै थिए।

“खै खै बाजे,इ गोर्चारेक माछा भेट्टाथे तल कुलोमा, कोहोमा हुर्ले खालान भनेर ल्यैदेको,ढन्नै खोलाले खाएन टीन भल्ड्याङ ट खेलायो, कस्सो कस्सो कत्र्हे बाजीको खेट टिर फाल्यो र बाँचियो” यि सबै कुरा एकै सासमा भन्दैतस बालाइ ढोगेर आफ्नै ठुलो चारपाटे आकारकोघोर्प्याक(खुर्पेटो)मा बसे पाँडेखोले राना जेठा बा । “ला जेठा चोड खा, भिजेर आइछस” भन्दै बाले आफुले तान्दै गर्दा डेढ अङ्गुल बाकि रहेको चुरोट राना जेठाबाको हातमा दिनुभो, “ज्यो ” भन्दै जेठाबाले बाकी चुरोट चार सर्कोमा सिध्याए ।

अघि भर्खर खोला किनारमा देखेको आफ्नै जेठो छोरो (मेरो जेठो दाइ- दामुदाइ)लाइ आगनमा देख्नासाथ बाले सोध्नु भो “हिजो अस्तिको बाढीले कता कता बिठ्याइ गरेछ त दामे ?( हामी सानो हुँदा आफु भन्दा सानोलाइ नामको पछाडी एकार लाएर बोल्नु बोलाउनु सामान्य मानिन्थ्यो) “अन्त्यहाँड हेर्नुस बा ! लाहुर्नीको बारीको पैरोले लिकिनको खेत पुरेछ, छाप्रोको त अलि अलि छानो मात्रै देख्खियाछ। यि अगाडिको ठुला खेत तिर देखि हाल्नु भो ,टाड्खुट्टेको पुच्छार खण्ड पुरै लकलाम पारेछ। कासिराममा अब तिस पाइला जति झार्यो भनि खोलो त सिम्ले तिर जान नि बेर छैन । झन अस्ति पुग्दिबाट ल्याको भैसी ठाटीमै बाँध्याछन पाँडेखोले हरिले पारी लान नसकेर” ।दामु दाइले नरोकिइकन सबै बेलि बिस्तार लाउनु भो। बाले फेरि सोध्नु भो “अनि दद्रातिर हेरिस्त” ? दद्रातिर पनि अलिअलि उ गर्या छ तर बगर छैन झाङ्कट र पाँको मात्रै छ । बाबु छोराको सवाल जबाफ पछि केहि झट्ट सम्झे झैँ गरि बाले रानाजेठा तिर हेर्दै भन्नु भो “ए जेठा ! चाइने हाम्रो फुर्के गोरुको आखामा फुलो परेछ के गर्ने होला”? जेठ्बाले तुरुन्तै जबाफ दिए “ए ल….. अडुवा ढोएर उरेर ठिचे पनि हुन्छ नाइभनि गजाम गजाम चपाएर टेस्को आखामा ठुक्डिने चार पाँच दिनमा फुलो काटछ।

रानाबा गएपछि बा भित्र छिर्नुभो एकैछिनमा सल्काएको चुरोट औंलामा च्यापेर ए सानेकामा ! ल म एस्सो दद्रा सम्म पुगेर आउँछु भनेर हिड्नु भो। बाको पछि लागेर गएको म बाको “तलाइ सठ्ठ खुरुक्क घर जा” भन्ने शब्द सुन्नासाथ फर्किएँ । एक झुप्पा पाकेको गोदार्से देखे। टिप्न सकिन, आख्खुइ भन्दै धेरै पटक झटारो हाने सफल भइन।
फर्केपछि माछा पोल्न लागेम, जीउँदै आगोमा पर्दा उफ्रिएको माछा चल्न छोड्नासाथ बैनीले भनि “ए……पुच्छर डढिसक्यो निकाल निकाल , माछा गिलै थियो काचै भएछ अरु बेलाजस्तो मीठोभएन।”आज जर्मस्टीको एक्भौते साझ खाजा पकाउन पर्छ ,कड्कुरो बाट बोल्नी बोल्नी एक अगालो दाउरा लेरा अनि झेक्रोबाट ठुल्ठुला गोडा पाँचेक चिचिन्डो टिप, ब्यान पकाको तर्काली भरे पकाए बालाइ भान्छो गनाउछ। थरी थरी के पकाएर चित्त बुझाउने हो? सिम्लिघान मुनि बोडीको बतिला देखेइथे,आफु जाम भनि एक्छिन फुर्सद छैन, ठुला खन्ड कता लागे सानाले सक्दैनन”। आमाले एकोहोरो आफ्ना कुरा भनेर चुप लाग्नु भो। फेरि हरर हावासहित सिम सिम पानी पर्यो। ठुलाखेतमा रोपेको झिनुवाको मीठो बासना नाकमै ठोक्किन आइपुग्यो।”ए केट्केटी हो हेर त भर्खर बारमा सुकाको मेरो धोति चोलो अख्रन पनि भ्या होओइन फेरि पानी पर्यो। ल सप्पै उठाओ” आमाको आज्ञा पालन गरे ।
कामकाज बिनाका हामी मसिना ४ जना भित्तामा कसले राम्रो चित्र बनाउने भनेर अंगारले कोर्न थालेम।मैले हवाइजहाज नाम गरेको बाख्राको माउलाइ हेर्दै तेस्तै चित्र बनाउदै थिए ।खुट्टा बनाउन बाकी थियो , भाइलाइ सोधे ” सान्केटा यो के बनाउन लाको भन त?” “माथा” कान्छाले तोते बोलीमा तुरुन्तै जबाफ दियो। आफैले फेरि हेरे बाख्रा बनाको शरीर त माछै जस्तो पो भएछ। “ए भित्ता नकेर है रिन लाग्छ” आमाको आवाजले झसङ्ग भए र पानी ल्याएर केरेजति सबै मेटाइयो।

“ए दाइ मैले टाउकोमा चरा बनाउन जानेइछु” ठुली बैनीको कुराले छक्क परे । उत्सुकता थपियो , ल बना न त मेरै टाउकोमा बना राम्रो बनाइदे है भन्दै म उसैको अगाडि गए। मेलो पनि मेलो पनि भन्दै कान्छा सहतिदै थियो पख म ठुलो पहिला मेरो पालो भनेपछि कान्छा ढिकरीमा गएर डडाल्नो भुस खेलाउन थाल्यो । “ल पन्था मारेर बस , उता फर्के, आखा चिम्म गर,निगुरी पर” बैनीको अगाडि आज्ञाकारी बालक झैं आदेश पालन गरे चरा बनाउने लोभमा।भर्खरै बारबाट उठाएको आमाको धोतीले टाउको छोपिदिइ । एक्कासि क्वाट्ट आवाज आयो पुरै टाउको ताआतो भयो असह्य पिडा भयो आलो रगतको गन्ध हरक्कै आयो ।टाउको छामे हसियाको चुच्चो टाउकोमै गडेछ। बैनीले चरा बनाउने भनेर हसियाले क्वाकेर लुक्न गइछ। हसिया टाउकोमै लिएर म भगेरा उफ्रेजस्तो गरी भित्र पुगे । रुदै आमालाइ सबै बृत्तान्त सुनाए। ए लौन नि! मारीछ नि कैलीले , लौ जाओ न बालाइ चिच्याओ खै कसले बोलायो कुन्नि बा छिट्टै आउनु भो। टाउको बाट बगेको रगत भोटो, जागे हुदै जमिनमा झरीसकेको थियो बा सङ्गै आएका ,नाताले मेरो भतिज पर्ने आम्पाटे माहिलाले भने “जाइनो चिनिले रगत बस्छ त्यो लाइदिन पर्यो अनि घ्यु तताएर कपासमा भिजाएर तेहि घाउमा कोच्दिए पछि छिट्टै सन्चो हुन्छ”। त्यसै गरियो एक्छिन निकै पोल्यो पछि शित्तल भयो । भोलीपल्ट खेत तिर झर्दा हाम्रो घर पस्नु भएका सम्पोखरी ठाकुरबालाइ बाले सोध्नु भो यसलाइ केटीले क्वाकिछ ,यो घाउ पाकेर खण्डर खातिर त पारोइन ठुल्दाइ? वहाँले भन्नु भो “हलौ एक दुइ दिन एस्सो हेरम केरे घाउ मसाङरिएनछ भने ल्वात्त आरेभन्जिङ जानि र एउटा घाउ नपाक्नि सुइ ल्याउनि मैले घ्वास्स लाइदिम्ला अनि सन्चो हुन्छ”। सुइ लाउन परेन । करिव एक मैनामा घाउ पुरै सन्चो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *