काँग्रेसमा पार्टी संगठन अस्तव्यस्त

मुख्य समाचार समाचार

काठमाडौं,१५असोज। सभापति देउवाले केन्द्रीय समितिका एजेण्डा र पौडेल पक्षले उठाएका मुद्दाबारे आफूनिकट नेताहरुसँग परामर्शका गरेका थिए । छलफलमा सभापति देउवासहित उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, एनपी साउद लगायत सहभागी थिए ।

सभापतिबाट कुनै पनि अनुचित र विधानविपरीतका कामहरु नभएको उक्त बैठकको ठहर छ । बैठकमा सहभागी नेता एनपी साउदले भने, ‘उहाँहरु (पौडेल पक्ष)ले जुन विषय उठाउनुभएको छ, त्यसका बुँदाबुँदामा हामीहरुबीच छलफल भयो । सभापतिबाट कुनै पनि अनुचित र विधानविपरीतका कामहरु भएका छैनन् भन्ने हाम्रो निष्कर्ष हो ।’

शीर्ष तहमा विश्वासको संकट देखिएको भन्दै केन्द्रीय समितिको बैठकअघि पौडेल सहितका शीर्ष नेताहरुसँग देउवा पक्षले छलफल गर्ने बुझिएको छ । ‘ज्ञापनपत्रबारे के समस्या हो भन्ने सम्बन्धमा पदाधिकारी बैठक राखेर पौडेलीसँग छलफल हुन्छ । त्यसमा कतिपय कुरा निर्वाचन समितिसँग सम्बन्धित छन् । त्यसबारे निर्वाचन समितिसँग छलफल गर्ने, पार्टी कार्यालयसँग सम्बन्धित कुरा पार्टी कार्यालयसँग छलफल गर्ने र पार्टी समायोजनसँग सम्बन्धित कुरा समायोजन समितिसँग आवश्यक छलफल गर्ने कुरा भएको छ,’ साउदले रातोपाटीलाई भने ।

सभापति देउवाले १७ देखि १९ गतेभित्र पौडेलसहित नेताहरुलाई छलफलका लागि बोलाउने उनको भनाइ छ । पार्टीभित्रको विवादलाई छलफलबाटै टुंग्याउनुपर्नेमा हस्ताक्षर संकलन गरेर पौडेल पक्षले ध्रुवीकरण गर्न खोजेको संस्थापन समूहको आरोप छ । तर पौडेलसँग निकट नेता अर्जुनरसिंह केसी भने सभापति देउवाबाट छलफलका लागि पहलकदमी नभएपछि विरोध सार्वजनिक गर्नुपरेको बताउँछन् । आफूहरुका माग सम्बोधनमा सभापति तयार नभए चरणबद्ध रुपमा संघर्षमा जान बाध्य हुने केसीको भनाइ छ ।

तर तेस्रो धारका रुपमा रहेको कृष्णप्रसाद सिटौला समूह महाधिवेशन प्रभावित हुनेगरी पार्टीभित्र अन्तरविरोध खडा गर्न नहुने पक्षमा देखिएको छ । सिटौलाले भने, ‘पार्टीलाई नेतृत्व गर्न सक्छु भन्ने वर्तमान सभापति र वैकल्पिक नेतृत्व दिन सक्छु भन्नेले पनि पार्टीभित्रको विवाद पार्टीभित्रै छलफल गरेर टुंग्याउन सक्छु भन्ने क्षमता प्रकट गर्नुपर्छ । पार्टीको महाधिवेशनलाई नकारात्मक प्रभाव हुने काम कसैले गर्नु हुँदैन ।’

पार्टीभित्र चित्त नबुझेको कुरा उठाउनु स्वाभाविक भए पनि महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ विचार प्रस्तुत हुनुपर्ने सिटौलाको भनाइ छ । ‘महाधिवेशन सहज ढंगले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बाटोमा जानुपर्छ । प्रतिस्पर्धा हुन्छ, कसरी निष्पक्ष बनाउन सकिन्छ, त्यो बाटोमा जानुपर्छ,’ सिटौलाले भने ।

नेपाली काँग्रेसका संस्थापन र इतर पक्ष आन्तरिक रणनीति तयार पार्न जुटेका छन् । आगामी १९ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा र प्रस्तुितका विषयमा दुवै पक्ष आ–आफ्नो रणनीति बनाउन जुटेका हुन् ।

सोमबार वरिष्ठ नेता रामचन्द्र्र पौडेलको अगुवाईमा २७ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाद्वारा पार्टी विधान विपरीत लिइएका निर्णय खारेजीका लागि १९ गतेसम्मको अल्टिमेटमसहित ९ पेज लामो ज्ञापनपत्र बुझाएका थिए । करिब दुई महिनाको गृहकार्यपछि पौडेल समूहले क्रियाशील सदस्यता वितरण, विभाग गठन, भ्रातृसंस्था, जनसम्पर्क समिति गठनलगायतका निर्णय पुनर्विचार गर्न अल्टिमेटम दिएको हो । आफ्ना मागको सुनवाई नभएमा पार्टी कार्यालयमा धर्नादेखि आमरण अनशनससम्म गर्ने पौडेल पक्षको तयारी छ ।

देउवा पक्षले भने पौडेल पक्षद्वारा बुझाइएको अल्टिमेटमसहितको ज्ञापनपत्रलाई महाधिवेशन केन्द्रित मुद्दाका रुपमा लिएको पाइन्छ । बुधबार सभापति देउवाको निवास बूढानीलकण्ठमा संस्थापन पक्षका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलले पौडेल पक्षका मागलाई प्रस्टिकरणमार्फत प्रतिवाद गर्ने योजना बनाएको छ ।