राजदूत नियुक्त गर्ने सरकारको निर्णयप्रति नेकपामा असन्तुष्टि

समाचार

काठमाडौं,१५असोज। सरकारले राजदूतलगायत महत्त्वपूर्ण नियुक्तिहरु एकलौटी ढंगले गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि बढ्ने संकेत देखिएको छ । महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत लगायत महत्त्वपूर्ण निकायमा नियुक्ति गरेपछि नेकपामा असन्तुष्टि बढ्ने संकेत देखिएको हो ।

पछिल्लो पटक बिहीबार सरकारले महत्त्वपूर्ण दुई देशका लागि राजदूत नियुक्ति गर्दा पार्टीसँग कुनै छलफल र सल्लाह नगरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘छलफल पनि छैन, जानकारी पनि छैन,’, खनालको भनाइ छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिका र बेलायतका लागि क्रमश डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई राजदूतमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

रेग्मीले बिहीबारै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । रेग्मीले मुख्यसचिवबाट राजीनामा गरेको केही घण्टामै उनको राजीनामा स्वीकृत गरेर राजदूत बनाउने निर्णय भएको हो । त्यस्तै सरकारले गत फागुन भदौ २० गते मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएका डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत बनाउने निर्णय गरेको हो । दुवैजना राजदूत नियुक्तिबारे पार्टीमा कुनै छलफल र परामर्श भएको छैन ।