‘पूर्वाधारका नयाँ क्षेत्रमा दक्ष जनशक्तिको अभाव’

राजनीति समाचार

काठमाडौं,२३असोज। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सरकारले भौतिक पूर्वाधारका नयाँ–नयाँ क्षेत्रलाई अगाडि बढाइएको भएपनि त्यसमा आवश्यक कतिपय प्राविधिक जनशक्ति स्वदेशमा उपलब्ध नभएको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घले आज आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा उहाँले गैरआवासीय नेपालीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नयाँ नेपाल निर्माणमा लगाउन आग्रह गर्नुभयो ।

अहिले भौतिक पूर्वाधारको क्षेत्रमा रेल, सुरुङमार्ग र मेट्रोरेल थपिने क्रममा रहेको उहाँले बताउनुभयो । मन्त्री नेम्वाङले भन्नुभयो, “हामीले रेल चलाउनका लागि पनि नेपाली दक्ष नभएकाले विदेशी ल्याउनुपर्ने अवस्था छ ।” उहाँले नेपाल अहिले कम विकसित देशको सूचीमा भएपनि भौतिक पूर्वाधार निर्माणमा लगानी सुनिश्चित गरी मध्यम आय भएको मुलुकको रुपमा स्थापित हुने लक्ष्य लिइएको बताउनुभयो ।

सन् २०२२ सम्ममा कम विकसित मुलुकको सूचीबाट माथि उठाउने, सन् २०३० सम्ममा दिगो विकासको लक्ष्यहरु हासिल गर्ने र सन् २०३० सम्ममा नेपाल मध्यम आय भएको देशको रुपमा विकास गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । सरकार व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न शहर विकास गर्न लागेको बताउँदै मन्त्री नेम्वाङले २७ नयाँ शहर, १५ स्मार्ट सिटी, पाँच हिमाली शहर र २० ओटा शहरमा सघन सहरी विकास कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य शहरलाई थप व्यवस्थित गर्न ‘एक शहर एक पहिचान’को कार्यक्रम समेत अगाडि बढाइएको छ ।”

सो अवसरमा पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दिपकबाबु कँडेलले परम्परागत संरचनाहरुको संरक्षणको आवश्यकता औँल्याउनुभयो । कतिपय संरचना अहिले हटेकाले पनि प्राकृतिक विपद् बढेको उहाँको भनाइ छ । कार्यक्रममा छ जना विज्ञहरुले भौतिक पूर्वाधार विकासको विभिन्न क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुत गर्न भएको थियो ।

रेल विभागका अधिकारीसँग छलफल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको प्रगति र आगामी दिनको योजनाबारे रेल विभागसँग छलफल गर्नुभएको छ । विभागको निरीक्षणका लागि आज विशालनगरस्थित कार्यालय पुग्नुभएका मन्त्री नेम्वाङले विभागको कामकारवाहीका बारेमा जानकारी लिनुभयो ।

विभागको महानिर्देशकका रुपमा प्रमिलादेवी बज्राचार्यले जिम्मेवारी सम्हाल्नुभएको एक सातापछि उहाँ आज विभाग पुगेर कर्मचारीसँग छलफल गर्नुभयो । उहाँले पूर्व—पश्चिम विद्युतीय रेलमार्गको काकँडभिट्टा–इनरुवा खण्ड, इनरुवा–बर्दिवास खण्ड र बर्दिवास–निजगड खण्डको ट्रयाकबेडबारे जानकारी लिनुभयो । महानिर्देशक बज्राचार्यले विभागले गरिरहेको कामको जानकारी दिनुभयो ।

रेल विभागका अधिकारीहरुले मन्त्री नेम्वाङलाई मेट्रो रेलसम्बन्धी विषयमा पनि जानकारी गराएका थिए । उहाँसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत मन्त्रालयका अधिकारी विभाग पुग्नुभएको थियो ।