४ कार्तिक २०७७, मंगलवार

कोरियामा अवैधानिक रूपमा बस्नु रहर होइन बाध्यता हो मेरो

kamdardainik.com (First, Fast & Accurate)

-नरेश मेहता

जब मैले सन् २०१६ मा कोरियन भाषा पास गरेँ तब राति सुत्दा होस् या कतै जाँदा खाली ठूला ठूला सपनाहरु अनि भविष्यमा केही गरेर देखाउने अवसर पाएँ जस्तो लाग्थ्यो । ठूला सपनाहरु बोकेर कोरिया प्रवेश गरी केही दिन कम्पनीमा काम गर्दा अनि यहाँको माहोल हेर्दा थाहा पाएँ सोचे जस्तो रहेनछ कोरिया । यहाँ त मेरो सपनाहरु कुल्चिने प्रयासहरू सुरु भैसकेका रहेछन् । नेपालमा आफ्नो इच्छा अनुसार हिँडने, साथीहऱुसँग रमाइलो गर्दै पारिवारिक वातावरणमा हुर्केको मान्छे हूँ म तर कोरियामा कम्पनीको कडा अनुशासन, दैनिक १२ घन्टाको कडा परिश्रम साथै कोरियनहरुले हामी विदेशीहरूसँग गर्ने व्यबहार र उनीहरुको हामीप्रतिको दृष्टिकोणले मलाई धेरै दुःखी बनाइरहेको थियो ।

नेपालमा मैले भोगेका वेरोजगारी, आर्थिक अभाव, पारिवारिक कचकच आदिलाई सम्झिदा मन हर्षित हुन्थ्यो र कोरियामा ५ बर्ष आर्जन गरेको पैसाले नेपालमा केही गरेर दुनियाँलाई देराउछु भन्ने दृढ संकल्पका साथ मेरा प्रत्येक विहानीको सुरुवात हुन्थ्यो । दुःखी संसारमा पनि भविष्यको सुख खोज्दै कोरियामा रमाइ रहेको थिएँ म। मैले काम गर्ने पहिलो कम्पनीमा ८ महिना सम्म काम राम्रैसँग चलिरहेको थियो त्यसपछि काम घटेकोले तलब र सुविधाहरू पनि घट्न थाल्यो। साहुले कम्पनी छोड्न आग्रह गरेपछि कम्पनी परिवर्तन गरियो अनि बल्ल थाहा पाइयो, कम्पनीमा काम गर्दा पाइने दुःख भन्दा त कोरियामा कम्पनी परिवर्तन गर्दाको दुःख त झन् पिँडादायी हुँदो रहेछ । सेल्टरमा भेंडा बाख्रा जस्तो बस्दा, कोरियाको महंगी र काम नपाउँदाको मानसिक तनाव सबैलाई हेर्दा फेरि मेरा सपनाहरु अधुरै रहने हो कि भन्ने डर लाग्न थाल्यो । फाटेको मनलाई सिउँदै उज्वल भविष्यको कल्पना गर्दै दृढ संकल्पका साथ अगाडि बढिरहें र २ महिना १० दिनको लामो पर्खाइपछि अर्को कम्पनीमा काम गर्न थालेँ । सबै कुराहरू राम्रैसंग चलिरहेको थियो, १ बर्ष आर्जन गरेको पैसाले नेपालमा एउटा घडेरी समेत जोडेँ सपनाहरु पुरा हुने आशाका किरणले मन रमाइरहेको थियो । केही समय पछि कम्पनीमा समयमा तलब नदिने दिए पनि ३ महिनामा एक पटक दिन थाल्यो । कोरियाको गर्मीले पनि त्यति नै सताइरहेको थियो र म बिरामी भएँ । १५ दिनसम्म अस्पताल भर्ना हुँदा म फेरि भित्रबाट टुटी सकेको थिएँ । एक महिनाको आराम पछि पुनः काम गर्न थालियो । दिनहरु राम्रैसंग बिति रहेका थिए, ३ बर्ष पुरा गरी भिषा अबधि पनि थपियो । कम्पनीमा ३ महिनामा एक पटक तलब पाउँदा दैनिक खर्च चलाउने, घरमा पैसा पठाउन लगायतका अनेकौँ समस्याहरू आउन थाले । दिनहरु यसरी नै बित्दै जाँदा नेपालमा घर बनाउन सुरु गरेँ । घरको काम पुरा नहुँदै कम्पनीमा अब तलब दिन सक्ने अबस्था नरहेको भन्दै हामी ५ जना साथीहऱुलाई कम्पनीबाट निकालियो । फेरि पुरानै समस्याहरूसँग जुध्दै अर्को कम्पनीमा काम गर्ने थालेँ । साथीहऱुको सहयोगले पुरानो कम्पनीमा डुबेको ३ महिनाको तलब सुविधा उपलब्ध गराउन कोरियाको अदालतमा मुद्दा दायर गरियो । मुद्दा लड्दै अगाडि बढिरहेको थिएँ म।

नेपाल फर्किने समय पनि नजिदै जाँदा आजकाल मन एकदम असान्त रहन्छ । नेपालमा कोरिया भाषा परीक्षा पास गर्दा हेरेका सपनाहरु, परिवारको म माथीको विस्वास र अपेक्षाहरू, कोरियामा मैले पाएका दुःख र नेपालमा गएर आफ्नै व्यवसाय शुरु गर्छु भनेर हेरेका मेरा ती सबै सपनाहरु आज अधुरै छन् । सबैलाई भाग्यले कहाँ साथ दिन्छ र ? नेपालको बर्तमान परिस्थिति, वेरोजगारी, राजनीतिक अस्थिरता, पारिवारिक कलह, पुनः कोरिया आउँदाका अप्ठ्याराहरूलाई सम्झिँदा अहिले म कानुनी रुपमा वैधानिक भए पनि मेरा अधुरा सपनाहरुले मलाई अवैधानिकतातिर धकेलिरहेको छ। म बैधानिक भए पनि मेरा सोचहरू अबैधानिक भइसकेका छन् । मैले नचाहँदा नचाहँदै पनि मनमा उब्जिरहेका विचारका द्वन्दले मलाई कमजोर बनाई, मेरा पाइलाहरुलाई अबैधानिकता तिर धकेलिएको छ । यी सब कुराहरूसँग लड्दै म आफूलाई एउटा कर्मठ, सच्चा मानिस सावित गर्न संघर्ष गरिरहेको छु, त्यसैले सम्पूर्ण कोरियाबासी साथीहऱुलाई भन्छु कोरियामा अवैधानिक रूपमा बस्नु रहर होइन बाध्यता हो मेरो ।

 (यो लेख कोरियामा रहेका सम्पूर्ण साथीहरुको सोचलाई स्थलगत अध्ययन गरी तयार पारिएको हो । कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।लेखप्रति तपाईंहरूको आफ्नो सल्लाह सुझाव र प्रतिकृयाहरु भए कमेन्टमा लेख्न सक्नुहुनेछ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *