३ कार्तिक २०७७, सोमबार

नेपाल भारत बीच बिशेष सम्बन्ध की सह सम्बन्ध

kamdardainik.com (First, Fast & Accurate)

-माधव बानियाँ
बिश्वका देशहरुका बीच सिमा मूख्य रुपमा तीन प्रकारले निर्धारण गरिएको हुन्छ । पहिलो खुला सिमाना, दोस्रो नियन्त्रित र तेस्रो बन्द सिमाना । नेपाल र भारत बीच सदियौंदेखि हाल सम्म पनि खुला सिमाना रहेको छ। संसारका देशहरुका बीच खुला सिमाना रहेको थोरै मुलुक मध्ये नेपाल र भारत रहेको छ । भारतकै छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान, भुटान, चीन र इराकमा समेत नियन्त्रित र बन्द सिमा रहेको छ । यस अर्थमा नेपाल र भारत बीच रहेको खुला सिमानाको कारण यी दुई देश बीच बिशेष सम्बन्ध रहेको भन्ने गरिन्छ वा देखिन्छ । नेपाल, भारत र चीन बीच रहको एशियाको एक मात्र भू–परिवेस्ठित देश जसको दक्षिण तर्फ भारतसँग १७५८ वर्ग कि.मी. खुला सिमाना रहेको छ । दक्षिण तर्फ समथर भूगोलको कारणले गर्दा उक्त क्षेत्रको जुनसुकैभागबाट नेपाल भारत आवत जावत गर्न सजिलो छ । केही ठाउँमा रहेको दुबै तर्फको सिमा सुरक्षा प्रहरी चौकी बाहेक अन्यत्र कतैपनि अवरोध देखिदैंन । नेपाल र भारतको सिमानामा बस्ने जन समूदायको वर्ण र सम्प्रदाय प्राय एकै प्रकार भएको कारणले कतिपय अवस्थामा प्रष्ट रुपमा कुन देशको नागरिक हो भनेर छुट्याउन कठिन देखिन्छ। त्यसैगरी नेपाल र भारत बीच धेरै ठाउँमा सिमा स्तम्भ वा दशगजा क्षेत्र समेत यकिन नहुँदा खुला सिमा अनियन्त्रित नै रहेको छ ।
प्राचीन हिमवत खण्डको अवस्थामा अर्थात इस्वीको पाँचौं शताब्दीमा मात्र हालको नेपाल र भारतको भूगोलको प्रष्ट निर्धारण भएको देखिन्छ । उत्तरी क्षेत्र हालको सगरमाथा र त्यसैगरी नेपालको दक्षिणी क्षेत्र गंगा सागर वा गंगा मैदान बीच साँस्कृतिक, राजनैतिक, वा ब्यापारिक सम्बन्ध रहेको देखिन्छ । गौतम बुद्धबाट काशीमा ज्ञान प्राप्ती वा राजा दशरथका सन्तानहरु नेपालमा प्रवेश गरेको ऐतिहासिक तथ्य र प्रमाणलाई केलाउँदा तत्कालिन समयबाट नै नेपाल भारत बीच पारस्परिक सम्बन्ध रहेको चिनियाँ यात्रीको बर्णनमा समेत उल्लेख छ । त्यसपछिका समयका हालको भारतको बिभिन्न राज्य र नेपालका शासक बीच बाणिज्य र पारिवारिक, साँस्कृति र सामाजिक सम्बन्ध रहेको थियो । भारतमा ब्रिटिश शासकको समय अवधी र नेपालमा राणा शासन कालमा सम्बन्धलाई अझ प्रगाढ बनाई एकले अर्काको अस्तित्व समेत प्रष्ट रुपमा स्वीकार गरको पाइन्छ । सन १९४७ मा भारत स्वतन्त्र भएपछि बि.सं २००७ सालमा नेपालमा भारतीय शासकको प्रत्यक्ष सहयोगमा नेपालमा राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना गरियो । त्यसपछि नेपाली जनता राणा शासक र भारतीय शासका बीच त्रिपक्षीय सम्झौता भयो । नेपालको सरकारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भारतीय हस्तक्षेप वा सहयोगका नाममा नेपालको भारत प्रति परनिर्भरता नै नेपालको मुख्य कमजोरी रहेको छ । अझ भन्ने हो भने बि.सं.२०४६ सालको परिवर्तन पश्चात नेपालमा जति पनि सरकार बने ती सबै सरकारको स्थापना भारतीय शासकको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र हस्तक्षेप रहँदैं आयो । नेपालका राजनैतिक पार्टि र तिनका नेताहरु भारतको आशीर्वाद बिना सत्तामा बस्न र टिक्न नसक्ने मानसिकतामा भारतीयका गुलाम हुदैं गए ।

भारतले सन १९५० को सन्धिको ह्वाला दिएर नेपाल माथी आफ्नो प्रभुत्व जमाउने र खुला सिमालाई ब्यवस्थित गर्नुको साटो नेपाल तर्फबाट सुरक्षा चुनौति रहेको, नेपालमा पाकिस्तानी खुफिया एजेन्सी भारत बिरुद्धमा सक्रिय रहेको, नक्कली भारुको कारोबारमा नेपाल सहज भएको, काश्मिरी पृथकतावादी नेपालमा रही भारत बिरुद्ध कार्य गरेको जस्ता कपोकल्पित र भ्रामक आरोप लगाई नेपालको सुरक्षा ब्यवस्था आफुलाई प्रदान गर्न मानसिक रुपमा दवाव दिदैं आएको छ ।

भारतसँगको बिशेष सम्बन्ध रोटी, बेटी, साँस्कृतिक आदिको नाममा नेपाल राजनैतिक र आर्थिक रुपमा भारत प्रति परनिर्भरता हुदैं गयो । नेपालको अर्थ ब्यवस्था भुगोल वा सैनिक ब्यवस्था भारतको भन्दा निकै सानो भएता पनि त्यसले मात्र देशको समृद्धि वा आत्म निर्भरतामा पक्कै पनि फरक पार्दैन भन्ने उदाहरण उत्तर कोरिया र जापानको दिन सकिन्छ । देश आत्मनिर्भर हुन बैदेशिक सहायताले मात्र पर्याप्त हुदैंन । अरुको सहयोग र भिख मागेर समृद्धि आउँदैंन । यस्को लागि राज्य प्रशासनमा सक्षम, कुशल, नेतृत्व र भिजन भएको नेताको आवश्यकता पर्दछ । जापानका योसिन्दा सिगेरु, सिँगापुरका लि क्वान यु, दक्षिण कोरियाका पार्क छुङ ही, ताइवानका चियान चिन कुओ र चीनका देब सियाओ पिबकोसफल नेतृत्वले आज ती देशहरु समृद्धिका पहाडमा पुगेका छन । लोभ वा स्वार्थका लागि देश र जनताको हितलाई भन्दा आफु र आफ्नो परिवारलाई मात्र महत्व दिने प्रवृति नेपाली नेताहरुका बिशेषता रहेका आम नेपाली जनताका बुझाई रहेको छ । नेपालका नेताहरु भारतीय इशारामा कति हद सम्म चल्दछन् वा भारतीय गुप्तचर संस्थाको प्रभाव नेपालमा कति हदसम्म छ र ती मार्फत नेताहरुले शक्ति र पहुँचको आधारमा ब्यक्तिगत फायदा छोराछोरीलाई छात्रवृत्तिको नाममा अध्ययन र निर्वाचनमा दरिलो आर्थिक सहयोग प्राप्त गरेका हुन्छन्। राजनीतिमा भारतको प्रभाव कति हद सम्म रहेको छ भन्ने उदाहरणको रुपमा अदृश्य शक्तिको भनाई अनुसार नेपालको संघिय संसदमा करिब ४८जना सांसद भारतीय संस्थापनको प्रत्यक्ष सहयोगमा बिभिन्न पार्टिको आवरणमा निर्वाचित भएका छन्। जसलाई भारतीयले एन मौकामा सदुपयोग गर्दछन । भारतीयहरुले भन्ने गरेका नेपाल र भारतका बीचको बिशेष सम्बन्ध केबल नेपाललाई आफ्नो अनुकुल प्रयोग गर्नु वा भारतको जन्मजात प्रतिस्पर्धी चीनसँग दुरी कायम गर्ने नीति मात्र रहेको देखिन्छ । बिशेष सम्बन्ध वा रोटिबेटिको सम्बन्धको नाममा नेपाललाई भारतप्रति निर्भरता राखिरहनु सिवाय अरु केही पनि होइन । बिशेष सम्बन्धको शाब्दिक वा फराकिलो अर्थ भनेको एकले अर्काको अस्तित्व स्वीकार्नु र समानता सहयोग कायम गर्नु हो तर भारत र उसका गोदि मिडिया दास वा गुलामी मानसिकताबाट ग्रसित चिनीयाँ फोबीया भारतीय बुद्धिजीबिहरु नेपाललाई आफ्नो छोटा भाइको रुपमा परिभाषित गरिरहेका छन् । नेपालका भारतीय चाटुकारहरु भारतको छोटा भाइ हुन पाएकोमा छाति फुलाई रहेका हुन्छन । नेपाल कसैको छोटा भाइ नभई समान रहनु र हुनु पर्दछ । तब मात्र नेपालको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रियता बलियो हुन सक्दछ ।
भारतले सन १९५० को सन्धिको ह्वाला दिएर नेपाल माथी आफ्नो प्रभुत्व जमाउने र खुला सिमालाई ब्यवस्थित गर्नुको साटो नेपाल तर्फबाट सुरक्षा चुनौति रहेको, नेपालमा पाकिस्तानी खुफिया एजेन्सी भारत बिरुद्धमा सक्रिय रहेको, नक्कली भारुको कारोबारमा नेपाल सहज भएको, काश्मिरी पृथकतावादी नेपालमा रही भारत बिरुद्ध कार्य गरेको जस्ता कपोकल्पित र भ्रामक आरोप लगाई नेपालको सुरक्षा ब्यवस्था आफुलाई प्रदान गर्न मानसिक रुपमा दवाव दिदैं आएको छ । सन १९५० को सन्धिमा रहेको नेपाल र भारतको सम्झौता बर्तमान परिस्थितिमा कतिपय अवस्थामा असान्र्दभिक रहेकोले संसोधन गर्नुपर्ने नेपालको आवाजलाई नसुनेको नसुनेकै गरी नेपाल माथी हरहमेसा दवाव राख्नु भारतको कुनियत देखिन्छ । नेपालको दक्षिणी भेगमा रहेका १७५८ बर्ग मिटर क्षेत्रमा नेपाल र भारतीय जनताका बीचमा जनस्तरमा सामाजिक, साँस्कृतिक, राजनैतिक, आर्थिक, शैक्षिक सम्बन्ध रहेकोछ । भाषा, भेष, रहन, सहन, संस्कृतिमा निकै समानता छ । जनस्तरमा यी दुबै बीच सिमामा खासै समस्यारहेको देखिदैंन । कतिपय भारतीय ब्यापारीको ब्यापार नेपालीमा निर्भर रहेको हुन्छ । भारतीय शासकले यी बास्तबिकतालाई राम्ररी बुझेका छन । यसर्थ उनीहरु नेपाल भारतका अनियन्त्रित खुला सिमालाई ब्यवस्थित र नियन्त्रित बनाउन जानी जानी पनि चासो दिदैंनन् । संसारकै बिशाल जनसंख्या र उद्योग ब्यापार रहेको भारत सस्तोमा नेपाली मजदुर पाउनु र कुनै प्रकारको राजनैतिक गतिबिधि नगर्नु, नेपाली मजदुरहरु असंगठीत क्षेत्रमा मात्र रहने हुनाले भारतीय उद्योगी ब्यवसायीलाई काममा सहजता भएको पाइन्छ । करिब साठ्ठी हजार भन्दा बढी नेपाली बालबालिका तथा करिब दश लाख नेपाली मजदुरको रुपमा भारतमा कार्यरत रहेका छन । जुन भारतीयहरुको लागि निकै सहजता भएको देखिन्छ । साधारण रुपमा हेर्दा भारतको औद्योगिक वा अन्य क्षेत्रमा नेपालीहरुले यति धेरै रोजगारी पाएको देखिएतापनि बास्तवमा यो सतही बिश्लेषण मात्र हो । सस्तो र सर्बसुलभ रुपमा नेपाली मजदुर पाउनु भारतको लागि उपलब्धि हो । नेपाल भारतको लागि ब्यापार ब्यवसाय वा आफ्नो उत्पादनको सहजताको लागि संसारकै सहजता भएको देश हो । नेपालबाट भारतमा रेमिट्यान्स पठाउने मुलुक मध्ये भारतको लागि नेपाल सातौ मुलुक रहेको छ । त्यस अर्थमा पनि भारतीयहरुको ब्यापार ब्यवसाय बलियो रुपमा नेपालमा रहेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
सन १९५० को सन्धिको प्रावधान देखाएर भारतले नेपालको श्रम स्वीकृति अनिवार्य नगर्न दबाव दिदैं आएको छ । भारतीय कामदारलाई श्रम स्वीकृति लिनु पर्ने बाध्यता नभएकोले भारतबाट आएर काम गर्नेभारतीयहरुको संख्याको अभिलेख नेपाल सरकारसँग छैन । नेपालको उत्पादन केन्द्र मानिएको बारा, पर्सा लगायत भारतीयहरुद्धारा संचातिल उद्योग, कलकारखाना वा भारतबाट आयात गरिएका मेशिन कलकारखानामा भारतीय कामदारको संख्या बहुमत छ। त्यसैगरी सुन चाँदीको कारोबार क्षेत्रमा काम गर्ने कर्मचारी ७५% भन्दा बढी भारतीयहरु नै रहेका छन्। सामान्य अवस्थामा यी भारतीय कालिगढले बार्षिक २० अरब भन्दा बढी रकम भारतमा लैजाने गरेका छन्। इँटा उद्योगमा लगभग करिब १३ हजार भारतीयले काम पाएको अनुमान छ । नेपाली उद्योगीका अनुसार १० लाख भन्दा बढी भारतीय बिभिन्न क्षेत्रमा नेपालमा काम गर्छन । नेपालबाट भारतमा जाने रेमिट्यान्स भारतको लागि ३० औं स्थानमा छ भने नेपालमा भारतबाट आउने रेमिट्यान्स २९ औं स्थानमा छ । दुई देश बीच खुला सिमाना साँस्कृतिक मित्रता लगायत कारणले लामो समयदेखि रोजगारीको लागि नेपालीको रोजाइमा भारत पर्दै आएको भएतापनि बास्तबमा के छ भने भारतबाट नेपालमा भित्रिनेरकम भन्दा भारतीय कामदारले लैजाने रकम तीन गुणाले बढी छ । इँटा, जुट, धागो, सिमेन्ट लगायत क्षेत्रमा भारतीय कामदारको संख्या अत्याधिक रहेको छ । खुला सिमानाको हवाला दिएर नेपाल माथि भारतीय दबाब कायम राख्ने भारतीय रणनीति रहेको भएतापनि भारतले नेपालको तर्फको सिमानामा प्रत्येक पाँच कि.मी को दुरीमा तीस जना सिमा सुरक्षा बल स्थापना गरेर सिमामा नियन्त्रण गरेको छ । यस कार्यमा करिब ९१,००० भारतीय फौज तैनाथ रहेका छन । भारतीय सुरक्षा बलको आडमा ५१,५००हेक्टर जमिन अतिक्रमण गरिएकोछ । नेपालको २३ जिल्लाको ७१ स्थानमा भारतसँग सिमा बिबाद रहेको छ । तर नेपाल तर्फको क्षेत्रमा नेपालले प्रत्येक २४ कि.मी. को दुरीमा पाँच जना सुरक्षाकर्मी मात्र तैनाथ गरेको देखिन्छ । यसप्रकार नेपाल र भारतको सिमा सुरक्षाको कुरा गर्दा भारतीय पक्षको दरिलो उपस्थितिले गर्दा सिमामा भारतीयहरुको एक पक्षीय कब्जा रहेको प्रश्नमा दुई मत देखिदैंन। भारतीयहरुको नेपाली र नेपाल प्रतिको हेपाहा प्रवृति सदियौंदेखि रहँदैं आएको भएतापनि नेपालका गुलामी प्रवृतिका नेताहरु र सत्ताको मोहमा वरिपरि रहने नेपालको कर्मचारी प्रशासन पूर्ण जिम्मेवार रहेको देखिन्छ । आखिर यो अवस्था अबका दिनमा कहिले सम्म रहने ? सर्वप्रथम हामी नेपाली वा नेपालका नेताहरुले भारतको गुलामी छोडेर देशलाई आत्मनिर्भर तथा आफ्नो समस्या नेपालभित्र समाधान गर्ने बाटोमा जानु पर्दछ । हरेक समस्याको समाधान दिल्लीमा नभई काठमाडौं वा जनकपुरमा नै समाधान गर्न सकिन्छ भन्ने आत्मनिर्भरताको फराकिलो मानसिकता राख्नु पर्दछ । तब मात्र परनिर्भरताको मानसिकताबाट मुक्त हुन सकिन्छ । नेपाल प्राकृतिक रुपले सम्पन्न भएको प्रकृतिको सुन्दर देश हो । सक्षम नेतृत्व र उचित राजनैतिक दिशा रहेको खण्डमा अबको केही बर्षमा देशको आर्थिक बृद्धि उल्लेखनीय हुनेछ । नेपालकै हाराहारीको भौगोलिक क्षेत्रफल रहेको बंगलादेशको जनसंख्या ११ करोड भन्दा बढी रहेको छ । बंगलादेशीहरु भारतमा नेपाली जस्तो संख्यामा रहेका छैनन्।
यद्यपी तिनीहरु आफ्नै देशमा रोजगारीमा सँलग्न छन भने नेपालको जनसंख्या तीन करोड मात्र रहेको अबस्थामा देश भित्रै थुप्रै रोजगारीको संभावना रहेको छ । भारतमा रहेका करीब दश लाख नेपालीको रोजगारी नेपालमै सहज छ । नेपालले दुत आर्थिक बिकासको लागि बैज्ञानिक वा एकिकृत कृषि र फलपूल खेती तिनको उत्पादन प्रशोधन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्रि बितरण गर्न सकिन्छ । नेपाल संसारको यस्तो भु–भाग हो जहाँ तराई, पहाड र हिमालको सौन्दर्य भएको सुन्दर देश भएकोले बिश्वको पर्यटकको ध्यान आकर्षित गर्न सकिन्छ । त्यसैगरी विश्वको ठूलो जनसंख्या रहेको बौद्ध धर्मालम्बीहरुको आस्था केन्द्र भगवान गौतम बुद्धका जन्मस्थल नेपालको लुम्बीनी एवं स्वयम्भु क्षेत्रमा ठुलो मात्रामा चिनीयाँ तथा बौद्ध धर्मालम्वी पर्यटक भित्र्याउन सकिन्छ । यसप्रकार नेपालमै ठुलो मात्रामा रोजगारी सिर्जना गर्न सक्ने हुनाले भारतमा रहेका दश लाख नेपालीको रोजगारीको समस्या खासै ठूलो समस्याको रुपमा देखिदैंन । अबको दिनमा नेपाल र भारतका बीचमा रहेको खुला सिमानालाई ब्यवस्थित रुपमा तारबार गरी निश्चित नाकामा वा प्रत्येक जिल्लामा एकभन्दा बढी नाका नराखी सिमालाई नियन्त्रण गर्न र दुबै देशका नागरिकलाई सदियौंदेखि चलिआएको सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक सम्बन्धलाई परिचय पत्र मार्फत ब्यवस्थित गर्न सकिन्छ र आजको आवश्यकता पनि यही हो । मानिसलाई पुराना दिनको पीडा संझेर बर्तमान बिगार्ने अधिकार अबश्य पनि छैन । बर्तमान सुधार्ने बोध सबैलाई हुनु पर्दछ । सबैलाई चेतना भया ।
(लेखक माधव बानियाँ बिभिन्न शैक्षिक संस्थाका संस्थापक, संचालक तथा लामो समयदेखि प्राध्यापन सेवामा संलग्न छन्)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *