४ कार्तिक २०७७, मंगलवार

सोरठी नृत्य गाथाको परिचयात्मक विवेचना

kamdardainik.com (First, Fast & Accurate)

सरोज नेपाल

“सोरठी” नेपालको मौलिक, परम्परागत र प्रसिद्ध नृत्य हो। यस नृत्यको विषयमा विस्तृत ब्याख्या गर्नु अगाडी केहि मूलभूत कुराहरू स्पष्ट हुनु जरुरी छ । जस्तै:नचरी, नाचन,ठुलोनाच, चरित्र नाच, पाङ्दुरे नाच,मादले नाच , मारुनी नाच , तिहारको नाचलाइ स्थान विशेष र समय अनुसार जेसुकै नामले ब्यक्त गरिए पनि आधारभुत रूपमा उपरोक्त नृत्यहरु एउटै प्रकृतिको जस्तो देखिने भएकाले यि नृत्यहरु एउटै सास्कृतिक परिवार भित्र पर्दछन ।यि नृत्यहरुमा रामायण/कृष्णचरीत्र वा सोरठीको कथा प्रसङ्गलाइ लयवद्ध गरी गाइन्छ ।

माथि उल्लेखित नामका नृत्यहरुको आ-आफ्नै महत्व भए पनि सोरठी नृत्यमा हुने परम्परागत सामाजिक नियम ,कथाप्रसङ्गको रोचकता,आङ्गिक भाव,चारितृक विविधता,गायन सङ्गीत र नृत्यको तादात्म्यताकासाथै भाषिक ठेटपनाले पनि यो नृत्य महत्त्वपूर्ण मानिन्छ ।संस्कृतिविद स्व: सुबी शाहका अनुसार “सोरठी नृत्य कृष्णचरित्रसङ्ग सम्बन्धित छ । भगवान श्रीकृष्णका १६०० गोपिनी थिए , यस नृत्यमा १६०० वटीनै पुर्याउन नसकिने भएकाले १६ वटी मारुनी वरिपरि नचाएर बिचमा पुर्सुङ्गे नाच्ने गर्दछन। भगवान पुरुषोत्तमको स्वरूप (पुरुष +अङ्गे) लाइ अपभ्रम्स भइ जनजिब्रोले सरलताका लागी पुर्सुङ्गे भन्न थालिएको हो “।त्यस्तै भाषाविद डा: बलदेव अधिकारी “गाउँले”का अनुसार “षोडषकला भएको ब्यक्तिमा देवाम्श हुन्छ भन्ने मान्यता बमोजिम १६ वटी मारुनी षोडषकलाका प्रतिक हुन र बिचमा नाच्ने पुर्सुङ्गे भगवानपुरुषोत्तमको प्रतिक हो “। यसरी १६ वटी मारुनी भनिए पनि पाल्पामाडीको सेरोफेरोमा २/२ वा ४/४ वटी मारुनीलाइ पालैपालो नचाएर १६ वटी पुर्याउने चलन रहेको छ ।मादलेहरु २/३ जना , पुर्सुङ्गे १ जना, गायन नाइके (रौरा)१ जना,र सहायकहरु आबश्यकता अनुसार राखिन्छ । कसै कसैले प्रसिद्ध भारतीय नृत्य सौराष्ट्रीको नेपाली सस्करण नै सोरठी हो भने पनि इन्दिरा गान्धी विश्वविद्यालय नयाँ दिल्लीका सस्कृति बिभागका प्रा .डा.बि एम शुक्लाले यस कुरामा कुनै ठोस प्रमाण नभएको बताए । यसरी यस प्रकारका नृत्यहरुमा रामायण ,कृष्ण चरीत्र , वीरगाथा , सोरठी जे सुकै गाइएपनि शुरु देखी अन्त्य सम्मका कतिपय सन्दर्भहरु मिल्दा जुल्दा हुन्छन ।यि नृत्यहरु स्थान विशेष, रुची र प्रचलन अनुसार कतै तिहारको देउसी भैलोको सट्टा त कतै गाउँका मान्यजनको घरबाट , कतै दशैको कालरात्रीमा कोतघरबाट त कतै मङ्सिरे पुर्णिमाबाट शुरु गरेर बैशाखे पुर्णिमासम्म मात्र नाच्ने गरेको पाइन्छ ।

यसरी जहिले जुन सन्दर्भ र अवसरमा नाचिए पनि जुन घरमा नाचिएको हो सोहि घरबाट नाचमा सम्बद्ध सबैलाइ खाना ,खाजा र दक्षिणा समेत दिइ सन्तुष्ट गराइ पठाउने चलन रहेको छ ।सनातन हिन्दु परम्परा अनुसार कुनै पनि शुभकार्य गर्नु अगाडी देवी देवता सम्झनु पर्ने मान्यता बमोजिम सोरठी नृत्यको शुरुआतमा पनि सिद्धि बिनायक गणेश , विद्या कला र बुद्धीकी अधिष्टात्री देवी सरस्वतीको आराधना गर्ने गरिन्छ ।यस्तो आराधना मादलको बिशेष खालको ताल बजाएर गर्ने गरिन्छ ।ठाउँ र प्रचलन अनुसार यो प्रक्रियालाइ देवी बाध्ने वा सरस्वती जगाउने भनिन्छ ।सरस्वती जगाउँदा कतिपय ब्यक्तिलाइ कम्पन पनि हुने गर्दछ ,जसलाइ सरस्वती उत्रेको भनिन्छ। सरस्वती उत्रेर कामेका ब्यक्तिहरुलाइ सामान्य अवस्थामा ल्याउन छुट्टै खालको मादलको ताल बजाइन्छ जसलाइ पाल्पा कास्कीतिर “ठोकन राख्ने ” भन्ने गरिन्छ तर यो तालमा एकरूपता हुनु जरुरी छ ।त्यस पछि सोरठी नृत्यमा सम्लग्न सबैको सुस्वास्थ्य दीर्घायु र सफलताको लागी सम्पुर्ण देवी देवताको आराधना गर्ने गरिन्छ जुन प्रकृयालाइ ठाउँ र प्रचलन अनुसार साठक हाल्ने/सखी लाउने गर्‍रा बाध्ने पनि भन्ने गरिन्छ जुन सोरठीको अभिन्न प्रकृया हो ।

जैसिङ्गे(जय सिङ्ह)राजा र हेमैती(हेमवती) रानीको कथामा आधारित सोरठी गिती गाथा:

यस गाथामा सोरठी नृत्यको गिती कथा जैसिङ्गे राजा र हेमैती रानीको वरीपरी घुमेको देखिन्छ। सोरठीका रौराहरुका अनुसार यस गाथामा जैसिङ्गे राजाको बर्णन,१४ वटी रानीहरुको बर्णन , हेमैती रानीको बर्णन ,शिकार यात्राको बर्णन जस्ता विभिन्न सन्दर्भ गरी मुख्य मुख्य १६ घटनाको बर्णन आउने गर्दछ । त्यस्तै १६ औं नारी पात्र सुनरुपा(सुवर्णमालती) समेत गरी १६ वटी नारी पात्रहरुको कथा प्रसङ्ग समेत रहेकाले सोर्हवटी बाट अपभ्रम्श भै सोरटी वा सोरठी नाम रहन गएको हो भन्ने भनाइ पनि रहेको छ । यस्तो मौलिक पराम्परागत नृत्यको बिषयमा जानकार पुरानो पुस्ता अशक्त हुने र दिबङ्गत हुने तर नयाँ पुस्तामा यसको अभिरुची कम हुँदैजाने तीतो यथार्थका कारण यसको उत्पत्ति सन्दर्भ र अन्य धेरै कुराहरुको आधिकारिकता पुष्टि हुन नसकेजस्तो लाग्छ । यस गीतीगाथामा प्रयुक्त भाषाशैली र उपभाषा( भाषिका)को स्वरूप हेर्दा र सोरठीमा कुमाल पात्रको पनि सन्दर्भ भएकाले यो कुमाल जातिको मौलिक गीती नृत्य जस्तो पनि लाग्छ ।जस्तै : हेमैती रानीले छोरी जन्माउने बेलामा सुडेनीलाइ बोलाउन जादा सुडेनीले “हे शीरैमा लाउन्या शीरफुल नाहि , कैसे जावैला दरबार”। भन्ने प्रशङ्गमा जावैला ,खावैला, हमु, जस्ता शब्द कुमालहरुको मौलिक भाषिका भित्र पर्दछ तर सोरठीको शाब्दिक स्वरूप र प्रयुक्त भाषा शैली प्राचिन खस भाषाको नजिक पनि देखिएकाले यो भाषागत रूपमा यहि समुदायकै हो भनेर किटान गर्न सकिने अवस्था छैन । गुरुङ मगर दराइ कुमाल दलित जनजाति जुनसुकै समुदायमा पनि यो नृत्य नाचिने हुनाले जातिगत रूपमा पनि यो नृत्य यसैको हो भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन । सोरठीमा गीत , सङ्गीत, नृत्य, आङ्गिक भाव र सान्दर्भिक निरन्तरता आदिको तादात्यम्यता हुनुपर्ने र केहि हदसम्म शास्त्रीय सङ्गीतको आधारमा नाचिने हुँदा नाच्ने गाउने र बजाउने सबै पक्ष निपुर्ण हुनुपर्दछ । कुनै एक पक्षको सानो कमजोरीले पनि पुरै नृत्य प्रभावित हुने भएकाले जहाँ भन्यो त्यहाँ र जहिले भन्यो त्यतिबेलै यो नृत्य नाचिदैन ।
कथा सङ्क्षेप:
आधा उमेर ढल्कीसक्दा र१४ वटी रानीहरु हुँदा समेत सन्तानहिन भएका र बंश निरन्तरतामा हुन सक्ने सम्भाव्य अड्चनको पिडाले छट्पटिएका पुर्व देशका राजा जय सिङ्हले एक दिन बगैंचामा डुल्दा आफ्ना मन्त्री सुजनसङ्ग राजपाठ त्यागेर सन्यासी हुने मनसाय ब्यक्त गर्दछन। यसरी दिक्क भएका राजालाइ मन्त्री सुजनले सन्तान प्राप्तिकालागि फेरि अर्को १५ औं बिबाह गर्ने सल्लाह दिन्छन ।मन्त्रीको सल्लाह बमोजिम राजाको बिबाह बैदाङ्गे राजाकी छोरी हेमवतीसङ्ग विधिपुर्वक सम्पन्न हुन्छ ।कान्छी रानीको शुभलक्षण देखेर सन्तान प्राप्तीको अभिलाषी राजाले पहिलेका १४ वटी रानीहरुलाइ बेवास्ता गर्दछन। जसले ति १४ वटी रानीहरुलाइ मर्माहत बनाउछ , जसकारण ति १४ वटी मिलेर हेमवतीको विरुद्ध षड्यन्त्र रच्न थाल्दछन। सौतेनी मामिला चर्कदै गएपछि कान्छी रानीले राजासङ्ग देश देशावर घुम्ने र बिभिन्न तिर्थस्थल दर्शन गर्ने मनसाय व्यक्त गर्छिन।रानीको इच्छा मुताविक भ्रमण गरेर ५ महिना पछि फर्कदा हेमवती गर्भवती भएको थाह हुन्छ ।यस खबरले राजा , कान्छीरानी लगायत सम्पुर्ण देशवासी हर्षले गदगद थिए,तर बाकी १४ वटी रानीहरुमा बिपरित प्रभाव थियो। आफुले सन्तान दिन नसकेको पिडा त छदैथियो साथै हेमैतीको कारणले आफुहरु बेवास्तामा परेका कारण हेमैतीको विरुद्धमा ठुलो षड्यन्त्रको योजना बनाए । जस अनुसार हेमैतीको गर्भबाट जे जन्मिए पनि त्यो बच्चा सातमुल परेको छ जसले पुरै वंश विनाश गर्छ भन्न लगाउने र आमा र बच्चा दुबैलाइ देश निकाला गर्ने योजना बमोजिम राज ज्योतिषलाइ पनि धन सम्पत्तिको लोभमा फसाइ षड्यन्त्रमा सामेल गराउछन। मासपुर्ण भएपछि बत्तिसै लक्षणले युक्त बालिकाको जन्म हुन्छ। पुर्वयोजना अनुसार ज्योतिषले पनि धुलौटो कोरेर यो कन्या सातमुल परेकीले सातपुस्ता सम्म पिरोल्ने र वंश विनाश गर्ने हुँदा यथासक्य छिटो नदीमा बगाउनु पर्छ भनेर सल्लाह दिन्छन। बालिका जन्मको हर्षसङ्गै यो खबरले सबैलाइ मर्माहत बनाउछ।राजाले पनि हुनुहार दैव नटार सम्झी सात सय तोला सुनको मदुस बनाउन लगाइ त्यहि मधुसमा राखेर बगाउन लगाउछन। उक्त मदुस बग्दै जादा २ जना जल्हारे र मल्हारे (माझी र कुमाल)ले भेट्टाउछन र मदुस माझीले र बालिका सन्तानहिन कुमालले लैजान्छन।

यसरी सन्तान बियोगको पिडाले आक्रान्त राजा र रानी जसो तसो सम्हालिदै गर्दा मुल्याहि छोरी जन्माउने पनि अलच्छिनकी हुन्छे यसलाइ पनि निकाल्नु पर्छ भनेर १४ वटी रानी एकजुट हुन्छन र राजाले हप्काए पछि चुप लाग्छन। समयको गतिसङ्गै त्यो पिडादायि घटना पनि धुमिल हुँदै जान्छ। उता कुमालले पालेकी कन्या (सुनरुपा)पनि हुर्कदै जान्छिन र रुप र लावण्यले युक्त भै सोर्ह बर्षकी हुन्छिन। एकदिन राजा समेत शिकार खेल्न जांदा शिकारी नाइकेले कुमालको घरमा अत्यन्त रूपवती षोडषीलाइ देखेको कुरा बताउछन र सो कुराले राजा मोहित भइ पानी खाने निहुले सुनरुपाको घरमा पुग्छन। राजा आफुसङ्ग मोहित भएको चाल पाएकी सुनरुपाले पनि आफ्नै मुखमा मोसो दलेर रुप लुकाउन खोजे पनि राजाले पानीले छ्यापेर उनको सुन्दर मुखाकृति देख्छन।एकोहोरो मोहमा आशक्त भै प्रेमाग्नीमा जलेका राजा दरवार फर्केपछि बिक्षिप्त जस्तै हुन्छन। एकल प्रेम प्रवन्चनाकै कारण राजाको यस्तो अवस्था भएको कुरा चाल पाएकी हेमैतीले मन्त्री सुजनमार्फत कुमाललाइ बोलाइ राजाको लागी ति कन्याको हात माग्छिन। कुमाल पनि रानीको प्रस्तावमा सहमत भइ लगन जुराइ भब्यतापुर्वक राजा र सुनरुपाको बिबाह हुने क्रममा सबै लुगाफाटा र गहना लगाइसकेपछि सिन्दुर हाल्ने क्रममा सुनरुपाले ” बाबुले दिएको सबैकुरा लगाउन हुन्छ तर सिन्दुर लगाउन हुदैन त्यसैले मलाइ सिन्दुर नलाइदेउ भनेर राजाको हात समाउछिन।राजालाइ अनायास सुनेको यस्तो कुराले रीस उठ्छ र सुनरुपालाइ दण्ड दिन तम्सिन्छन तर सुनरुपाले आफ्नो सबैकुरा सुनेपछि दण्ड दिए पनि स्वीकार गर्ने भनेपछि अगाडीका सबै घटनाहरु आफुलाइ नदीमा बगाएको , कुमालले पालेको ,लगायत सम्पुर्ण बृत्तान्त सुनाएर आफु नै राजाकी छोरी भएको कुरा बताउछिन। राजालाइ विश्वास नलागेर हेमैती रानीलाइ बोलाउन लगाइ नैनसुतको सातवटा छेकबार बनाउन लगाएर एकछेउबाट स्तनधारा बगाइ आफ्नो सन्तान हो वा होइन भनि पत्ता लगाउने(एक प्रकारको अचम्मको तर सम्पुर्ण आधिकारिक बिधि स्पष्ट नभएको)प्रक्रियाद्वारा परीक्षा लिदा पनि सुनरुपा उक्त परीक्षामा सफल भएकाले सुनरुपा राजाकै छोरी हो भन्ने किटान गरी उनको नाम सुनरुपा बाट सुवर्णमालति बनाइ मन्त्री सुजनसङ्ग बिबाह गरिदिएको प्रसङ्ग सुन्न पाइन्छ।(सुनरुपा नामसङ्ग राजाको बिबाहको सङ्कल्प भइ सकेकाले सम्भाब्य दोष निवारण र पापबाट मुक्तिकालागी उनको पुन: नामाकरण गरी सुवर्णमालती बनाइएको हो भन्ने कथन रहेको छ) ।

प्रामाणिक रुपमा पुष्टि नभएपनि कतिपय सोरठीका गुरुहरुले मन्त्री सुजन जय सिङ्ह राजाका भान्जा पनि हुन भन्ने गरेको पाइन्छ। गुरुङ मगर र अन्य मतवाली समुदायमा मामाचेली र फुपुचेला बिच बिहेबारी पनि चल्ने भएकाले यो प्रशङ्ग सान्दर्भिक पनि देखिन्छ ।कतिपय स्थान बिषेशमा सुजनलाइ मन्त्री नभनेर भान्जा नै भनेर गाउने गरेको पनि पाइन्छ। सोरठीको प्रसङ्गमा अभिब्यक्त सोर्हवटा मुख्य कथावस्तुहरु मध्ये अन्तिम कथा (हागा)मा सुवर्णमालतीलाइ सोरठी रानी समेत भन्ने गरेको पाइन्छ ।बिबाह पश्चात सुजन र सुवर्णमालतीले छुट्टै राज्य पाइ बसेका बखत शत्रुले आक्रमण गर्दा माइती देशका सैनिकहरुको सहायताले शत्रु विजय गरेको प्रसङ्ग पनि सुन्न पाइन्छ । सोरठीको सोर्है वटा कथावस्तु हुने र रोचक सन्दर्भहरुको प्रचुरताका कारण सात दिन सात रात सम्म पनि गाएर सकिदैन भन्ने कथन रहेको छ ।

साराम्श:

मौलिक सस्कृति र परम्पराको लागी पनि प्रसिद्ध हाम्रो देश नेपालको धेरै मौलिक सास्कृतिक प्रस्तुतिहरुमध्ये अग्र पङ्तिमा आउने यो सोरठी नृत्यमा ठेट भाषिक संयोजन,(जुन कतिपय ठाउँ मा वास्तविक भाषाको रूपमा त कतिपय ठाउँमा छन्दमिलान र अन्त्यानुप्राशको रूपमा जसरी प्रयोग गरिएपनि)मौलिक स्वरूप स्पष्ट झल्कने खालको देखिन्छ। गण मात्रा र अलङ्कार समेत मिल्नु पर्ने सिमारेखा यसमा नतोकिए पनि लय ताल र नृत्यको आङ्गिक भावले परिपूर्ण हुने हुँदा माधुर्य र परिपाक प्रशस्त मात्रामा पाइन्छ। सोरठीका बिभिन्न सन्दर्भहरुले हाम्रो प्राचिन सामाजिक परिपन्च त दर्शाउछ नै साथै रूप र सौन्दर्य मात्र हेरेर बिहे गर्नु हुँदैन आफ्नो कुल कुटुम्ब नाता गोता आगत बिगत सबै बिचार गर्नु पर्छ भन्ने अत्यन्त सारगर्वित नैतिक दृष्टान्त पनि दिएको छ। त्यस्तै सौतेनी मामलामा हुने डाह र इर्ष्या,पुरानो युगमा राज्य संचालनको क्रममा आ-आफ्नो सीप र दक्षता अनुसार सवै जात जातिलाइ सहभागी गराउने समावेशी समाजको उत्कृष्ट नमुना पनि यसमा देख्न पाइन्छ।

गीत र सङ्गीतमा नया पनको खोजीमा भौतारिएका हामी, मौलिक पन पटक्कै नभएको आयातित सस्कृतिको पछाडि लाग्दा आफ्नो पन बिर्सिने र अरुको सिकेर निपुर्ण नहुने हुँदा सोरठी र यस्तै अन्य मौलिक सास्कृतिक पक्षका कार्यक्रम हरुबाट ति कुराहरुको खोज अनुसन्धान आधिकारिक पुष्टि गर्न/ गराउन सके समाजलाइ अमुल्य सास्कृतिक ज्ञान दिने अग्रजहरु र आफ्नो राष्ट्रप्रति उचित सम्मान हुनेछ। समग्रमा भन्नु पर्दा सोरठी नेपालको प्राचीन सास्कृतिक मौलिक र नैतिक दर्पण हो भन्दा अत्युक्ति नहोला। धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *