१८ मंसिर २०७७, बिहीबार

इरानमा कोरोनाबाट फेरी एकैदिनमा ३३७ जनाको मृत्यु

kamdardainik.com (First, Fast & Accurate)

एजेन्सी । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन्। इरानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार इरानमा कोरोनाका कारण एकैदिनमा ३३७ जनाको मृत्यु भएको छ।

इरानमा यसअघि एकैदिनमा २७९ जनाको कोरोनाका कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयसँग रहेको थियो। मन्त्रालयले पछिल्लो एकैदिनमा इरानमा चार हजार २५१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको पनि जनाएको छ। योसँगै इरानमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या पाँच लाख ३५ हजार ६३० पुगेको छ।

मुस्लीम गणतन्त्रात्मक मुलुक इरानमा कोरोना भाइरसको महामारीको शुरुवाती चरणमा पनि धेरै असर परेको थियो। प्रारम्भीक समयमा इरानलाई कोरोनाको केन्द्रविन्दु नै मानिएको थियो। मध्यपूर्वी देशहरु मध्ये इरान कोरोनाबाट धेरै प्रभावित देशमा पर्दछ भने मध्यपूर्वमा हप्तामा तीस हजार जनासम्मको कोरोनाका कारण मृत्यु हुने गरेको थियो।

सरकारले कडा लकडाउन लागु गरेपछि केही कमी आएको थियो। कोरोना महामारीका कारण इरानको मानवीय अवस्था, आर्थिक अवस्थालगायतमा ठूलो क्षति भएको छ। केही समय अगाडि महामारीको प्रभाव कम देखिन थालेपछि सरकारले विद्यालय, विश्वविद्यालय, मस्जीद, पुस्तकालय, व्युटी पार्लर, सैलुनलगायतका सार्वजनिक स्थल र धेरै भीड हुने ठाउँ पनि खुल्ला गरिदिएको थियो।

ती क्रियाकलापहरु सञ्चालन गर्दा मास्क अनिवार्य गरिएको थियो। तर यी सार्वजनिक स्थलहरु खुल्ला गरिएकै कारणले फेरि सङ्क्रमित र मृतकहरूको सङ्ख्यामा वृद्धि भएको विश्लेषण गरिएको छ। कोरोना नियन्त्रणका लागि इरानमा सरकारले गरेका कतिपय निर्णयहरू बेला बेलामा विवादमा पर्ने गरेका छन्। कोरोना भाइरसले देशका उच्च अधिकारीहरूलाई पनि सङ्क्रमित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *