सभापति देउवाद्वारा घर—डेरामै सिमित रहेर पर्व मनाउन आग्रह

मुख्य समाचार राजनीति

काठमाडौं,१०असोज। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध गर्नुभएको छ ।  विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सांस्कृतिक पर्वहरु मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गर्नुभएको छ । सभापति देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभ–कामना व्यक्त गर्दै कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणप्रति सचेतता अपनाइ मठ मन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि आग्रह गर्नुभएको हो ।

“दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको छ”, सन्देशमा उहाँले भन्नुभएको छ । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

“कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पूर्ण रुपमा असफल भएको छ । आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ । जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रीरहेको छ । सरकार जनताका प्रति संवेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “कोरोना भाइरस रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ ।”  विजयादशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।