१८ मंसिर २०७७, बिहीबार

भकिम्लो गुणकारी वनस्पति

kamdardainik.com (First, Fast & Accurate)

एस निरौला

आजको शृङ्खलामा कुरो भकिम्लाको । जङ्गली अमिलो भकिम्लो । यसका अरुअरु नाउँ पनि छन् जस्तै भकिउँलो । भक्मिलो । भक्यौलो ।
भकिम्लो मध्यपहाडी क्षेत्रमा पाइने गुणकारी वनस्पतिभित्र पर्छ ।यसको उपयोगी अङ्ग भनेकै फल हो । जुनेलाका जस्ता ठुलाठुला झुप्पा लपक्क झुलेको हुन्छ । वर्षमा एकचोटि झुप्पा संकलन गर्न सकिन्छ । कात्तिक मंसिर महिना भकिम्लो सङ्कल गर्ने उपयुक्त समय हो । यसको रुख ठुलो हुँदैन । रुखमा चढ्न सकिन्छ तर हाँगा कफल्ला हुने भएकाले परपर जान भने सकिँदैन । सानो आङ्कुसे परेको टाँगाका सहायताले झुप्पा भाँच्न सकिन्छ ।

भकिम्लाका झुप्पाका कलिला दानादानामा दहीजस्तो सेतो पदार्थ टाँसिएको हुन्छ । अमिलो वस्तु त्यही हो । छिप्पिएपछि सेतो पदार्थ हराउँछ ।पछि झुप्पा राता देखिन थाल्छन् । जब रातोपन चढिसक्छ तब अमिलो पुरा पसिसक्छ । यही समयमा फल टिप्नुपर्छ । टिपेर ल्याएको फललाई सिधै घामको किरण नपर्ने गरी हवाइलो ठाउँमा राख्नुपर्छ । सुकेपछि थुन्से, डोकाडालामा राख्न सकिन्छ ।
भकिम्लालाई वर्षदिनसम्म झुप्पै पनि राख्न सकिन्छ । थोरै मात्रामा छ भने झुप्पा र धेरै जम्मा गर्न सकिएको छ भने अमिलो(चुक) पकाएर राख्न सकिन्छ ।

भकिम्लाको अमिलो पकाउन सजिलो छ । खड्कुँलो अथवा कुनै ठुला भाँडामा पानी उमाल्नु पर्छ । उम्लेको पानीमा भकिम्लाका दाना हालेर निकैबेरसम्म पकाउनु पर्छ । अब भयो भन्ने लागेपछि निकालेर सेलाउन दिनुपर्छ । त्यसपछि मजाले माडेर राम्ररी छान्नुपर्छ । कपडछन गर्नसके झनै राम्रो चुक बन्छ । छानेको अमिलोपानीलाई फेरि पकाउनु पर्छ । पानी सुकाउन निकैबेर लाग्न सक्छ । सुक्दै गएपछि कालो हुँदै जान्छ । लतत भइसकेपछि निकाल्न सकिन्छ । पातलो चुकभन्दा बाक्लै ठिक हुन्छ । बाक्लो लामो समयसम्म राख्न सकिन्छ । पातलो भयोभने ढुँडी परेर बिग्रिन्छ ।

गर्मी महिनामा भकिम्लोपानीको निकै महत्त्व छ । यसका दाना पानीमा मिचेर नुन चिनी र मरिचको धुलो मिसाएर बनाएको सर्बत ज्यादै मीठो हुन्छ । ठुलाठुला तारेहोटलसमेतमा यस्तो सर्बतको माग हुने गरेको पाइएको छ ।

बदलिँदो समयक्रमसँगै मानिसको खानपानमा पनि परिवर्तन आउन थालेको छ । आफ्नो खाना स्वादिलो रसिलो कसरी बनाउने भनेर सोचविचार गरिन्छ । आयुर्वेदले `षड रस´कुरो हालेको छ । छवटा रसमध्ये अमिलो नपर्ने कुरै भएन । अमिलो देख्दा मात्रै पनि जिब्राबाट जलोत्पन्न भइहाल्छ । मान्छेले खानालाई स्वादिष्ट पार्न अमिलाको प्रयोग पहिल्यैदेखि गर्दैआएका छन् । झन् ऐले यसको उपयोग बढ्दै गएको छ । वनस्पतिजन्य अमिलाको अभाव भएकाले बजारमा कृतिम अमिलो (भिगेनर कि भिनेगर ?) बेचबिखन हुने गरेको छ । जसले अमिलाको काम गरेपनि स्वास्थ्यका लागि हानिकारक मानिएको छ । पहिले तराई तथा सहरी क्षेत्रमा मात्र खाइने चटपटे विस्तार हुँदै पहाडतिर पुगिसकेको छ । हरेकजसो विद्यालय छेउमा चटपटे बिक्री हुन्छ । ती चटपटेवालाले न्यून स्तरको भिगेनर हाल्छन् जसबाट कलिला बालबालिकामा स्वास्थ्य समस्या आउने कुरो एक अध्ययनले देखाएको छ । अभिभावकहरू सचेत हुन आवश्यक छ ।

विगत केही समयदेखि निभुवा, ज्यामिर, कागती, भोगटे,जुनार,सुन्तलाजस्ता अमिला फलफूलमा किरा लाग्ने समस्या छ । चुक अमिलाको माग निभुवाले धान्दै आएकामा अबदेखि निभुवाको चुक पाइँदैन। किरा लागेर चिचिलामै पहेलिन थाल्छन् । भकिम्लो संकलन गरेर चुक पकाउन थालिएको छ । निभुवाको जस्तै असल चुक भकिम्लाको पनि हुन्छ । एक माना चुक लिएर तपाईं आफन्तकामा जानुभयो भने `मेजमान´नै बेग्ले हुन्छ । घेराफेराको कुरै नगरौँ ।

भकिम्लो औषधीय गुणले भरिपूर्ण छ । पखाला र रगतमासीको जन्डा ओखती हो । दाना पानीमा भिजाएर अलिअलि नुन छरी एक दुई गिलास स्वाट्ट खाने हो भने पखाला रोकिजान्छ । यो कुनै झुठ कुरो हैन । रगतमासी निको पार्ने क्षमता पनि भकिम्लासँग छ । भकिम्लोपानीको सेवनले पेटमा भएका जुकाचुर्नासमेत भस्याकभुसुक मर्छन् । अनुहारमा भएका दाग पोतो आदि हटेर मुहार जगजग देखिन्छ । जरो आएको छ भने सेवन नगर्नु भन्ने बुढाबुढीहरूको कुरो छ ।

भकिल्लो जङ्गलमा पाइन्छ । खरबारी, ढाँड, खोलाखोल्सा र पाखोबारीका कान्लातिर आफैँ अम्रिन्छ । यसलाई रोपिरहनु पर्दैन । अम्रेका विरुवालाई जोगाए प्रशस्त हुन्छ । व्यवसाय गर्नेका लागि वृक्षरोपण गर्न सकिन्छ ।

देशमा ऐले व्यापक बेरोजगारी समस्या छ । एकातिर युवाहरू काम नपाएर बसेका छन् । अर्कातिर अमिलाको स्वाद पूरा गर्न मानिसहरू भिगेनर किन्न बाध्य छन् । भिगेनरको स्थान भकिम्लाले सजिलै लिन सक्छ । यसको खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । ममिलो र उर्वरभूमि नचाहिने भएकाले सिमान्त जमिनमा मज्जाले लगाउन सकिन्छ । बहुबर्से वनस्पति भएकाले एकचोटि अम्रेको बिरुवाले धेरै वर्षसम्म उत्पादन दिइरहन्छ । यसको उपयोगिता उच्च रहेकाले सबैले संरक्षण गरे मुलुक चुक अमिलामा आत्मनिर्भर हुन्छ । एक कुरुवा चुकको मूल्य रु 1000/- सम्म पर्छ । यसबाट के प्रष्ट हुन्छ भने आयआर्जका विविध स्रोतमध्ये भकिम्लो पनि एक हो ।

स्थानीय सरकारले पनि यससम्बन्धी चासो लिइदिए बढ्दो बेरोजगारी समस्या समाधान गर्न केही मद्दत पुग्थ्यो ।

एस निरौला
थुदुगापा 3, पन्चन लोस्कु
सोलुखुम्बु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *