सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त

मुख्य समाचार राजनीति समाचार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राज्यमन्त्री एवम् एवं लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष ओमकारप्रसाद गौचनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेता गौचनको बुधबार काठमाडौँमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै स्व गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहिरहने बताउनुभएको छ ।

सभापति देउवाले नेता गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित हुनुहुन्थ्यो । उहाँ २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित हुनु भएको थियो ।

स्व गौचनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । कांग्रेसले उहाँको निधनबाट एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

यसैगरी सभापति देउवाले पार्टीको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष एवं महासमिति सदस्य भोजराज श्रेष्ठकी माता चन्द्रकुमारी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । श्रेष्ठको यही कार्तिक २५ गते सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका–३ स्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको हो ।

आजै सभापति देउवाले पार्टीको धनुषा कार्यसमितिका पूर्व जिल्ला सदस्य, पूर्व महासमिति सदस्य दिलिप सहगलको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । सहगलको कार्तिक २५ गते काठमाडौंमा उपचारका क्रममा ६८ वर्षको उमेरमा निधन भएको थियो । स्व सहगलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले आजै पार्टीको महिला केन्द्रीय विभाग सदस्य एवं कांग्रेस पाँचथर जिल्ला कार्यसमितिका सदस्य सावित्री गुरुङका श्रीमान् तथा पार्टीका क्रियाशील सदस्य सिद्धिराज गुरुङको निधनप्रति दुःख व्यक्त गरेको छ । गुरुङको कार्तिक २६ गते झापामा उपचारका क्रममा निधन भएको हो । स्व गुरुङले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।