६ माघ २०७७, मंगलवार

गुटगत मानसिकताबाट ग्रसित नेपाली काँग्रेस

kamdardainik.com (First, Fast & Accurate)

प्रभु नारायण बस्‍नेत

सरकार सञ्चालन गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको संघारमा खडा भएको बेला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस पनि अर्न्तद्वन्दबाट मुक्त छैन । आगामी फागुन महिनामा गर्ने भनेको पार्टीको १४ औँ महाधिवेशनको तयारी छाडेर काँग्रेस नेताहरु अहिले पार्टी हत्याउने खेलमा मग्न भएका छन् । पार्टी सभापति शेर बहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल एकअर्काको मानमर्दन गर्न तल्लो स्तरमा उभिएका छन् । दुई बरिष्ठ नेताहरुको स्वार्थ सिँगो पार्टीमा प्रतिबिम्बित भएका कारण कुनै पनि तहका पार्टी कमिटिहरु अहिले विवाद मुक्त छैनन् । पार्टीलाई विधिसम्मत ढँगले सञ्चालन गर्नुपर्ने भन्ने कुरा बेलाबखत उठेपनि त्यो केवल पानीमाथि ओेभानो बन्ने उपाय मात्र हो । काँग्रेसमा अहिले जतिपनि गुट उपगुट देखिएका छन्, सबै आफ्नो स्वार्थ पुरा भए विधान परम्परा र प्रचलित मूल्य मान्यतालाई सहजै तिलाञ्जली दिन तयार छन् ।

गुटगत मानसिकताबाट ग्रसित कार्यकर्ता समेत जायज नाजायज नहेरी आफ्नो गुटलाई फाइदा पुग्छ भने जे गर्न पनि तयार हुने स्थिती बनेको छ । हुनत काँग्रेस पहिलो पटक अहिले मात्र यसरी आन्तरिक द्वन्द्वमा फसेको होइन । यो पार्टी जन्मिदै विवादको भुमरीको विचबाट पैदा भएको हो । डिल्लीरमण र वीपी विचको झगडा, मातृकालाई प्रधानमन्त्री र पार्टी सभापति मध्ये एक पद त्याग्न दिएको निर्देशन, सुवर्णसमशेर र वीपीद्वारा छुट्टाछुट्टै रुपमा पार्टी सभापतिको हैसियतबाट कार्यसम्पादन इतिहासको कुरा भए । त्यसको सम्बन्धमा आजको पुस्ताले उतिसारो जानकारी राख्दैन । तर २०४६ यताको जनआन्दोलन पछि सतहमै देखिएको मारामारको अवस्थाको सम्बन्धमा भने सबैलाई राम्रो जानकारी हुनुपर्छ । काँग्रेसको सरकार काँग्रेसले नैै गिराउने देखी काँग्रेसलाई नै निर्वाचनमा पराजित गराउने अभियान पनि काँग्रेसले नै चलाउने विचित्रको दृश्य नेपाली राजनैतिक रंगमञ्चमा मञ्चित भइसकेको छ । अहिले देखिएको झगडा त्यसको निरन्तरता मात्र हो । यो नौलो घटना होइन् । सत्ताले मान्छेलाई अन्धो बनाइदिन्छ । सत्ताउन्मातले सिद्धान्त, आदर्श, मूल्यमान्यता मात्र होइन, संविधान नियम कानुनको परिपालन गर्नपर्ने कर्तब्य समेत बिर्साइदिन्छ ।

सामान्यतया यस्ता घटना नेपाल जस्ता पछौटे र अल्पविकसित देशका विशेषता रहेको भएतापनि प्रजातन्त्रको लामोे अभ्यास गरेको बेलायत, अमेरिका आदि देश समेत यस्ता समस्याबाट मुक्त हुन सकेका छैनन । अमेरिकामा सत्ताको लडाईले नेताहरुलाई तल्लो स्तरमा ओर्लिएर व्यवहार गरेका प्रशस्त घटना रहेका छन् । भारत, बंगलादेश, नेपाल, श्रीलंका जस्ता प्रजातान्त्रिक अभ्यासको सय बर्ष देखिको पनि अनुभव नभएका देशहरुमा सत्ता प्राप्ति सर्वश्व मानिन्छ र त्यसका निमित्त सामदाम, दण्डभेद सबै अस्त्र प्रयोग गरिन्छ । निर्वाचनमा राज्यशक्तिको दूरुपयोग धाधलीका अनेक हथकण्ठा अपनाएर परिणाम आफ्नो पक्षमा पार्ने कसरत आचारसंहित उल्लङ्घन जस्ता काम त सामान्य नै भए । सत्तामा पुगिसकेपछि गर्ने व्यवहार र क्रियाकलापले पनि कुनै आदर्शवान व्यक्तिलाई सफेदपोश रहन दिदैंन ।

नेपाली राजनीतिका आदर्श पात्र ठानिएका वीपी आफै सत्तास्वार्थको चरम लालचमा चुर्लुम्म डुबेका थिए । अहिले नेपाली काँग्रेसमा देखिएको विकृतिको जड उनै हुन् । मातृका पार्टी सभापति हुँदा प्रधानमन्त्री नियुक्त भएपछि बैठकबाटै निर्णय गरेर एक व्यक्ति एक पदको दुहाई दिदै दुई मध्ये एक पद त्याग्न निर्देशन दिने वीपीले प्रधानमन्त्री हुँदा किन सभापती पद छोडेनन् ?
पार्टीभित्र र बाहिर सुवर्णशमसेरलाई प्रधानमन्त्री बनाउन तिव्र दबाब रहेको बेला एक बर्ष मात्र प्रधानमन्त्री पद सम्हाल्ने र एक बर्षपछि त्यहाँबाट हट्ने बचन उनले किन पालना गरेनन् ?
आफ्नो नेतृत्वको सरकारले शुरुमै गोरखा परिषदलाई किन प्रमुख प्रतिपक्षको मान्यता दिएन र जब पार्टी भित्र संकट पैदा भयो अनि प्रमुख विपक्षी दलको मान्यता मात्र दिएनन् । बरु संकट परे साथ दिन वचन समेत लिए । आफ्नो पार्टीभन्दा विपक्षी प्रति बढी विश्वास राख्ने परम्परा वीपीले नै शुरु गरेका हुन् । त्यो आज पर्यान्त कायमै छ । दोहोरो मापदण्ड कायम गर्न, आफु अनुकुल भए नियमसम्मत नभए पनि स्विकार्र्य हुने परम्परा प्रजातान्त्रिक राजनीतिक इतिहासमा वीपीले नै बसालेका हुन् । आज पनि काँग्रेसमा कुनै निर्णय विपरीत काम गर्न पर्दा वीपीलाई दृष्टान्तको रुपमा अघि सार्ने गरिन्छ ।
सत्तामा छँदा जुनसुकै दल विकृतिको दलदलमा फस्ने परम्परा नै छ । अहिले स्वयं ओली नेतृत्वको सरकार मात्र त्यसबाट कसरी मुक्त हुन सक्थ्यो र ? हिजो नेपाली काँग्रेस, एमाले, राप्रपा र यहाँसम्म कि सदभावना पार्टी समेत सत्ताका कारण विभाजित भएको इतिहास छ । तर, विपक्षमा हुँदा संगठन सुदृढ गर्न पर्नेमा काँग्रेस आफै विवादमा फस्नुले अब उसको भविष्य माथि नै आशंका गर्ने स्थिती आएको छ । काँग्रेस यतिबेला आफै ठूलो संकटमा छ । संगठनात्मक स्वरुपको सम्बन्धमा डरलाग्दो अन्यौलको स्थितीबाट गुज्रिरहेको छ । कम्युनिष्टको प्रभाव उसमा पनि परेको छ । कम्युनिष्टकै जस्तो संगठन निर्माण– परिचालनको नक्कल गर्न थालेको छ । त्यो काँग्रेसको पार्टी संगठनमा उत्पन्न गम्भिर समस्या हो । कम्युनिष्टमा चुनाव लड्ने, मास मोबिलाइज गर्न नेतालाई देखाएर भाेट आर्जन गर्ने शैली हुँदैन । संगठनको र कार्यकर्ताको भरमा चुनाव लड्नुपर्ने हुन्छ । अहिले काँग्रेस पनि त्यसको सिको गर्दै छ ।
तर त्यसो गर्दा उसलाई सफलता मिल्ने सम्भावना अत्यन्तै न्युन रहन्छ । नेपाली काँग्रेसले २०१५ सालमा वीपीलाई देखाएर चुनाव लड्यो र दुई तिहाई मतको साथ जित हासिल गर्याे । ०४८ सालमा कृष्णप्रसाद भट्टराइलाई देखाएर बहुमत पायो । ५१ म गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा होमिएको काँग्रेस नराम्ररी पराजित भयो । स्वयं गणेशमान सिँह गिरिजा हराउ अभियानको नेतृत्व गर्न अग्रसर भएका थिए । २०५६ मा गिरिजाप्रसादले फेरि भट्टराईलाई देखाएर चुनावमा बहुमत हासिल गरे । अहिले काँग्रेसमा नेताको खडेरी परेको छ । जनताको विश्वास जित्न सक्ने र सबैले पत्याएको नेतृत्वको अभावमा पार्टी त चल्ला तर चुनाव जित्न सम्भव हुँदैन । कम्युनिष्टहरु नेता होइन, नीति प्रधान हो भन्छन् । सामुहिक नेतृत्वको वकालत गर्छन तर काँग्रेसलाई त्यो सुविधा उपलब्ध छैन ।

काँग्रेसले नेतालाई नै अघि सारेर चुनाव जित्नुपर्छ तर चुनावमा लहर पैदा गर्दा सारा देशलाई नै एकोहोर्याउने नेता अहिले काँगेससँग छैन । र त उ कमजोर बन्दै गइरहेको छ । हुन त, अब नेपाली कम्युनिष्टहरुले पनि लेलिनको जस्तो मिलिट्यान्ट पार्टीको स्वरुप गुमाइसकेको छन् । तिनले पनि काँग्रेसले झैँ चुनावी माहोल पैदा गर्नुपर्ने अवस्था आइसकेको छ । अहिले संगठनका हिसाबले नेकपा काँग्रेस भन्दा कमजोर छ । तर अन्तर विरोधलाई सञ्चालन र हल गर्ने कुरामा कम्युनिष्टहरु काँग्रेसभन्दा एक कदम नै अगाडी छन् । जनताले नेपाली काँग्रेस र नेकपाको विकल्प नभेट्दासम्म सत्ता तिनकै वरिपरी घुमिरहन्छ । सत्तामा जान सकिएन भने प्रतिपक्षको बेन्चमा बेसेर भाग खोजौंला भन्ने धारणा पनि हुन सक्छ । तर त्यो सुविधा सधैं रहदैन । यसरी पार्टीको बैठक बस्न नसक्ने सम्मेलन, भेला, अधिवेशन केही नहुने अवस्था कायम रह्यो भने पार्टी लामो समय जिवितै रहन सम्भव छैन । यो यथार्थ तर्फ पनि विचार पुर्याउन जरुरी छ । अहिले समाज प्रगतिशिल छ । तर पार्टी र नेतृत्व भने यथास्थितीबादी । नेपाली नेतामा सामन्तबाद हावी छ । समाज र नयाँ पुस्तामा प्रविधिको प्रभाव, विश्वव्यापीकरणको असर आदिले गर्दा आकांक्षा बहुतै छन् । समाजको चरित्रले नेताको इच्छामा नियन्त्रण गर्न खोज्दा पार्टी, नेता र सरकार दिनप्रतिदिन अलोकप्रिय बन्दै गइरहेका छन् ।

काँग्रेस सभापति देउवा र प्रधानमन्त्री ओेलीका हर अभिव्यक्तिले बेलाबखत शान्त तलाउमा तरँग पैदा गरेको स्थिती ल्याइदिनुको पछाडीको कारण पनि तिनको चिन्तनमा रहेको खोट नै हो । जनताका आवश्यकता, मुलुक विकास भाडमा जाओस, सत्तामा पुगेको बेला मौका छोपिहाल्नुपर्छ भन्ने प्रवृति सबै दल र नेतामा समान रुपले हावी छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पार्टीहरुका इनेगिनेका नेताहरुको चरित्र, जीवनशैली र व्यवहारले तिनको सांस्कृतिक स्तरलाई व्यक्त गरेको छ । तिनले राष्ट्रलाई आफ्नो नीजि सम्पति ठान्ने गरेका छन् । देशको आर्थिक अवस्थालाई बिर्सेर गर्ने खर्चलाई “राष्ट्रको इज्जत” सँग जोडेका छन् । यसले तिनको चिन्तन पुँजीबादी धारसँग पनि मेल नराख्ने, अझै प्रष्ट भन्नु पर्दा मध्ययुगीन सामान्तवादमा आधारित रहेको प्रष्ट हुन्छ । यो रोग काँग्रेसमा भन्दा कम्युनिष्टहरुमा अझै चर्काे रहेको छ । नेपाली काँग्रेसले आफ्नो विगत र आगतलाई मूल्याङ्कन गर्न पार्टीको विधान, घोषित नीति र कार्यक्रमका आधारमा अघि बढ्ने कल्पना यस अर्थमा पनि निरर्थक छ कि त्यो परम्परा जोगाउने र अग्रजको बिडो थाम्ने मात्र हैसियत राख्छ । पार्टी भित्र के समस्या छन कसरी तिनको निकास निकाल्ने भन्ने विषयमा कुनै पनि नेतालाई राम्रोसँग ज्ञान छैन ।

भातृ संगठन , शुभेच्छुक संस्था, पार्टीकमिटिहरु कुनैको पनि समयमा बैठक, सम्मेलन, अधिवेशन हुनै नसक्नुमा ति नेताको स्वार्थपूर्तिका औजार मात्र हुनुले हो । कुनै पनि संगठनको सभापति कुन नेताको पक्षमा छ, संस्थापन र संस्थापन इतर कस्को प्रभाव राम्रो छ भन्ने आधारमा मूल्याङ्कन गरिएकाले पार्टी, संगठन कुनै सुचारु र नियमसम्मत सञ्चालित छैनन् । अहिले १४ औँ महाधिवेशनको मुद्धा उठेको छ, अर्लि महाधिवेशन गर्ने माग गर्ने बरिष्ठ नेता रामचन्द्र पक्ष नै त्यसको तयारीमा अड्चन पैदा गरिरहेको छ । त्यसले स्पष्ट गर्छ महाधिवेशन भन्दा तिनका लागि निहित स्वार्थले बढी महत्व राख्छ । निश्चय नै महाधिवेशन गर्ने भनेपछि मातहतका संगठनहरु पुनर्गठन गर्ने, सदस्यता नविकरण गर्ने, प्रतिनिधिहरु चयन गर्ने, महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी सुम्पने आदि कार्य अगाडी आउँछन् । अधिवेशन भनेको पार्टीमा नयाँ पुस्ताको आकर्षण जाँच्ने अवसर पनि हो । तर सबैकुरा यन्त्रवत चल्दैन । मान्छेको नियत, स्वार्थ र कार्यशैलीले हर कुनै काममा केही न केही प्रभाव पारिरहेकै हुन्छ । अहिले काँग्रेसलाई जनतामा गुमेको विश्वास आर्जन गर्न अवसर प्राप्त थियो । अत्यन्तै अलोकप्रिय र जनविरोधी चरित्रकोे सरकारलाई गिराउने शक्ति उसँग नभएपनि जिम्मेवार प्रतिपक्षको भूमिकामा जनताको आवाज बोल्न सक्नुपथ्र्याे । त्यसको सदुपयोग गर्न नसक्नुले पाएको अवसर गुमेको छ । काँग्रेस कुनै वर्गको प्रतिनिधित्व गर्ने दल हो , यसले कुन वर्गको सेवा गर्छ भन्ने भ्रम अब रहेन । संविधानमा सबै दल मिलेर नेपालालाई समाजवाद उन्मुख भनेर लेखेपनि यथार्थमा नेपाल यस्तै स्थिती रहे पतनको बाटो समात्ने निश्चित छ । मुलुकको जेठो र सबभन्दा जिम्मेवार दलको नाताले काँग्रेसले त्यसको जिम्मेवारी सबभन्दा बढी लिनुपर्छ ।
कुनै पनि दल समस्यामुक्त हुँदैन । नेकपा मात्र होइन, प्रत्येक दलमा नेताहरुको ब्यक्तिगत टकराव, कतिपय नीतिगत समस्या, सिद्धान्तमा आएका विचलन, पार्टी विधान कार्यान्वयनका समस्या आदि धेरथोर सबै दलमा छन् । समस्या बढाएर र चर्काएर मात्र पार लाग्दैन । निकास निकाल्ने दिशामा पहलकदमी लिने र गतिरोध हटाउने सामाथ्र्य राख्ने ब्यक्ति नै सहि अर्थमा नेता हुन्छ । अहिले काँग्रेसमा त्यो ग्राभिटि भएको नेता देखिएको छैन । देउवा विधान मिचेरै भएपनि, आचारसंहिता नाघेरै भएपनि पार्टी कब्जा गर्नुपर्छ भन्ने ठान्छन् । उनी सम्पूर्ण काँग्रेसहरुको सभापति बन्न सकेका छैनन । एउटा पक्ष र एउटा गुटविशेषको मात्र सभापति बनेका छन् । देउवाले प्रक्रिया मिचे भनेर रडाको मच्चाउने पक्ष पनि असली अर्थमा काँग्रेसलाई प्रतिनिधित्व गर्ने हैसियतमा आउन सकेन । यसले उसको भविष्यमाथि नै खतरा उत्पन्न गराउने काम गरेको छ ।
महाधिवेशन एकमहिना अघिपछि हुन सक्छ । त्यसले खासै फरक पार्दैन तर पार्टीमा पैदा भएका समस्यालाई समयमै निराकरण गर्न सकिएन भने त्यसले सिँगो पार्टीलाई क्षतविक्षत पार्न सक्छ । पार्टीलाई नयाँ पुस्ताको चेतनासँग जोड्ने, तिनको चाहना, आकांक्षालाई संवोधन गर्न सक्ने गरी अघि बढ्ने हो भने प्रचलित मान्यताका सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्ने जरुरी हुन्छ । पार्टीलाई गुठी बनाउने र नेता सधै गुठियार बन्ने परम्पराले अब कुनै पनि पार्टी जीवित रहन सम्भव छैन । काँग्रेसले आफ्नो इतिहासको गौरवगाथा गाएर मात्र भविष्य सुनिश्चित गर्न सक्दैन । त्यसका लागि भविष्यको गुरुयोजना बनाउने, पार्टीलाई जनताको प्रिय बनाउने हो भने सर्वप्रथम आफै भित्र भएका समस्यालाई हल गर्न सक्नुपर्छ । महाधिवेशन नियमित प्रक्रिया हो । निरन्तरको यात्रामा पटक पटक आइरहन्छ । तर गुट उपगुट र चिराचिरामा बाँडिएर गरेको अधिवेशनले निकास दिन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *