सोलुखुम्बु, ३ पुष। जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले यसै आर्थिक बर्षबाट कार्यालय भवन निर्माण सुरु गर्ने भएको छ।गाउँपालिका अध्यक्ष बुद्धिकिरण राइको अनवरत प्रयासमा स्थानीयहरुले पालिका भवन निर्माणका लागि आवश्यक जग्गा नि:शुल्क उपलब्ध गराएपछि भवन निर्माणको तयारी सुरुभएको माप्यदुधकोशी गाउँपालिकाले जनाएको छ।भवन निर्माणका लागि चालु आर्थिक बर्षमै बजेटको ब्यबस्था गरिएको अध्यक्ष राइले जानकारी दिए।
स्थानीयको सल्लाह र सुझावका आधारमा गाउँपालिकाले वडा नम्बर ३ खास्तावमा केन्द्र निर्माण गर्दैछ ।साविक बासा गाबिसको वडा नं ४ र ५ का स्थानीयले भवन तथा अन्य प्रयोजनका लागि नि:शुल्क जग्गा उपलब्ध गराउन थालेका छन् । झन्डै ५० रोपनी जग्गा नि:शुल्क उपलब्ध गराउने स्थानीयको प्रतिबद्धता बमोजिम सोमबारदेखि गाउँपालिकाको नाममा जग्गा पास गर्न शुरु गरिएको राइले रहस्यखबरलाई बताए ।
बिदेशमा रहेकाबाहेक अन्य जग्गाधनीहरुले तत्काल गाउँपालिकाको नाममा जग्गा पास गरिदिने र बिदेशमा हुनेहरुको हकमा गाउँपालिकाले जग्गा भोगचलन गर्न पाउंने गरि प्रतिबद्धता प्राप्त भएको बताइएको छ।स्वदेश फर्कने बित्तिकै उनीहरुले प्रतिबद्धता बमोजिम गाउँपालिकाका नाममा जग्गा पास गरिदिने अध्यक्ष राइले बताए । प्रतिबद्धता बमोजिमको ५० रोपनी मध्ये ३६ रोपनी भने तत्काल स्थानीयले गाउँपालिकाका नाममा उपलब्ध गराउने छन् ।
जिल्ला मालपोत कार्यालय सोलुखुम्बु श्रोतका अनुसार बुधबारसम्म तीर्थमान राई, नौराज राई, थपिमाया राई, बिबामाया राई, लछिकन्या राई, दिर्गे राई, बनमाया राई, मनराखी राई, अशोक राई, राम्सिङ राई र रुन्चीमाया राईले गाउँपालिकाको नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिएका छन् ।
माप्य दुधकोशी गाउँकार्यपालिकाको २०७४ पुस १३ गते बसेको बैठकले गाउँपालिकाको केन्द्र सबै वडाहरुको भौगोलिक रुपमा समान दुरीमा पर्ने, एउटै प्लटमा पर्ने जग्गा नि:शुल्क उपलब्धता हुने वडा नम्बर ३ स्थित वासा स्वास्थ्य चौकी नजिकैको माँझगाउँ खोलादेखि दाम्कुसम्मको सडक आसपासको क्षेत्र भित्र कम्तीमा ५० रोपनी जग्गा उपलब्ध हुने भौतिक पूर्वाधार भएको, भौगर्भिक र प्राबिधिक दृष्टिकोणले समेत उपयुक्त ठाउँमा कायम गर्ने निर्णय गरेको थियो ।
जसका लागि कार्यपालिका सदस्य निमराज तामाङको संयोजकत्वमा कार्यपालिका सदस्य दिनेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अबिलाल राई सदस्य रहने गरी जग्गा व्यवस्थापन सहजिकरणको लागि समितिसमेत गठन गरेको थियो ।
गत कात्तिक २८ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको नाममा जग्गा पास गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको नाममा जग्गाधनिले जग्गा रजिष्ट्रेशन पास गरेपछि गाउँपालिकाको भवन तथा अन्य संरचना बनाउन शुरु गर्ने गाउँपालिकाको योजना रहेको छ ।
“गाउँपालिकाको नाममा जग्गा पास हुन शुरु भयो, अब छिट्टै नै सम्भव भएसम्म चालु आर्थिक बर्ष भित्र नै भवन निर्माणको कार्य शुरु गर्ने तयारीमा छौं” गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले भन्नुभयो ।
अध्यक्ष राइका अनुसार गाउँपालिकाको निर्णय बमोजिम अब भौतिक निर्माण कार्य अघि बढ्नेछ । गाउँपालिकाको सभा हल यस अघि नै निर्माण सम्पन्न भई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो ।

