२४ फाल्गुन २०७७, सोमबार

ट्रम्प समर्थकहरुको विद्रोहप्रति बाइडेनको कडा निन्दा

kamdardainik.com (First, Fast & Accurate)

एजेन्सी । राष्ट्रपति निर्वाचित जो बाइडेनले क्यापिटल भवनबाहिर हिंसा मच्चाइरहेका डोनाल्ड ट्रम्प समर्थकहरुका गतिविधिको कडा आलोचना गरेका छन् । उनले यसमा राष्ट्रपति ट्रम्पलाई हिंसा रोक्न प्रभावकारी कदम उठाउन माग पनि गरेका हुन् ।

डेलावेरबाट बोल्दै बाइडेनले यो घटना प्रजातन्त्रमाथिको अप्रत्याशित हमला भएको आरोप लगाएका हुन् । उनले भनेका छन्, “म यसमा राष्ट्रप्रति ट्रम्पलाई राष्ट्रिय टेलिभिजनमा उपस्थित भई संविधानको प्रतिरक्षामा आफूले लिएको शपथ पूरा गर्न र यो विद्रोह अन्त्य गर्न तत्काल माग गर्छु ।”

यसअघि ट्रम्पले नै आफ्ना समर्थकहरुलाई क्यापिटलतर्फ अघि बढ्न उक्साएका थिए । तर, पछि हिंसा चर्किएपछि भने सबैलाई घर फर्कन भनेका हुन् । नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडेनको जित सुनिश्चित गर्ने समारोह यसै विद्रोहका कारण केही समयका लागि स्थगित भएको थियो । जुन अहिले पुनः सुरु गरिएको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्सले बुधबार बेलुका समारोह सुरु हुने बेलामै यो दिन अमेरिकी क्यापिटल इतिहासकै अँध्यारो दिन भएको उल्लेख गरेका थिए । प्रदर्शनकारीहरुरुले प्रहरीसँगको झडपपछि जबर्जस्ती भवनभित्र प्रवेश गर्दै ट्रम्पको नाम लिएर चिच्याउँदै अमेरिकी झन्डा देखाउँदै राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउन माग गरेका हुन् ।

भवनबाहिर बन्दुक चलेका आवाज र अश्रुग्यास फालिएका दृश्यबीच कंग्रेसका सदस्यहरु सुरक्षाका लागि सिटपछाडि यत्रतत्र हुनुपरेको थियो । प्रदर्शनकै क्रममा क्यापिटल भवनभित्र एक महिलाको गोली लागी मृत्युसमेत भएको खबर गरिएको छ । फेडेरल कानुन अधिकारीले बताएअनुसार दुईओटा शंकास्पद विस्फोटक डिभाइसहरु एफडीआई र प्रहरीले पत्ता लगाई सुरक्षित तरिकाले नियन्त्रणमा लिइसकेका छन् ।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *