नक्साल डोजोमा प्रशिक्षण शुरु

खेलकुद समाचार

काठमाडौं, २५ पुस । नेपाल सितोरियो कराते डो संघ शाखा डोजो नक्सालले बिगत १० महिना देखि संसारभर फैलिएको कोरोना भाइरसको महामारी र त्यसपश्चात हरेक क्षेत्रमा परेको मार र उक्त परिस्थितिका कारण बन्द रहेको हरेक क्षेत्र सुचारु भएसंगै डोजोले आफ्नो कराते प्रशिक्षण लगायत सम्पुर्ण गतिबिधि पुष १ गतेदेखि औपचारिक रुपमा सन्चालन गरेको छ । डोजोद्वारा एक प्रकाशित सुचनामा भनिएको छ ‘विश्व महामारी कोभिड-१९ का कारण बिगत १० महिना देखि हाम्रो मुलुकमा विभिन्न क्षेत्र संगै खेलकुद क्षेत्रपनि बन्द रहेको र केही साता अघि नेपाल सरकारको निर्णयअनुसार विभिन्न क्षेत्रसंगै खेलकुद गतिबिधि पनि सन्चालन गर्न अनुमति प्राप्त भएकोले हाम्रो नियमित प्रशिक्षण सन्चालन भएको सबैमा जानकारी गराईन्छ ।

नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी द्धारा हस्ताक्षर गरिएको उक्त सुचनामा खेलाडीहरु तथा अभिभावकहरुको तिव्र ईच्छाका कारण साथै उहाँहरुको मनोभावनालाई उच्च कदर गर्दै,विशेष स्वास्थ्य सतर्कता अपनाउदै हामीले प्रशिक्षण सन्चालन गरेका हौ भनिएको छ । बिगत २१ बर्ष देखि सन्चालित उक्त डोजोले हजारौ खेलाडि तथा दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरु उत्पादन गरिसकेको छ ।

२१ वर्ष सम्म निरन्तर रुपमा प्रत्येक बर्ष कराते प्रतियोगिताको आयोजना गर्दै आईरहेको यस डोजोले ६ वटा सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको आयोजनागरि बृहतरुपमा सम्पन्न गरिसकेको छ भने , यस बर्ष आफ्नो २२ अौं कार्यक्रम अनुरुप सातौ सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता २०७७ चैत्र भित्र आयोजना गर्ने समेत अध्यक्ष खपाङ्गीले बताउनुभयो । मुलुकभरकै चर्चित डोजोहरु मध्ये चर्चित यस नक्साल डोजो , कराते प्रतियोगिता लगायत विभिन्न सामाजिक कार्य र खेलकुद गतिबिधि सन्चालन गर्ने क्लब / डोजोहरुमा अग्रपंक्तीमा आउने डोजोको रुपमा स्थापित रहेको छ । हाल नक्साल डोजोले आफ्नो प्रशिक्षण नियमित रुपमा विहान ६ बजेदेखि ८ बजेसम्म र बेलुकी ५ देखि ६:१५ बजेसम्म सञ्चालन गर्दै आईरहेको छ भने माघ १ गते देखि नयाँ भर्ना समेत लिने जानकारी गराएको छ ।