कक्षा ११ र १२को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

मुख्य समाचार समाचार

सर्वोच्च अदालतले कक्षा ११ र १२को नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला गरिदिएको छ। नयाँ पाठ्यक्रम लागू भएपछि त्यसविरूद्ध परेका सबै रिट खारेज गर्ने फैसला गरेपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको हो। मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाश कुमार ढुंगाना भण्डारीको इजलासले सबै रिट खारेज गर्ने फैसला सुनाएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

गणित अनिवार्य बनाउन र जीवनोपयोगी शिक्षा हटाउन माग गर्दै अभिभावकको तर्फबाट भगवाता अर्याल समेतले दिएको रिट खारेज गर्दै पाठ्यक्रम विकास केन्द्रका नाममा सर्वोच्चले निर्देशनात्मक आदेश पनि जारी गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

तर निर्देशनात्मक आदेश लिखितरूपमा सार्वजनिक भने भइसकेको छैन। नयाँ पाठ्यक्रम अनुसार विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय हुँदैन। ११ र १२ विद्यालय शिक्षाअनुसार नै संकायविहीन बनाइएको थियो। अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको थियो। ११ र १२ पढ्ने विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र ३ ऐच्छिक विषय पढ्नुपर्छ। अहिलेसम्म ५ विषय पढाइ हुँदै आएको छ।

११ र १२ मा गणित विषय अनिवार्यबाट हटाइएकोमा विरोध हुँदै आएको थियो। ऐच्छिक विषयमा गणित पढ्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ। जीवन उपयोगी शिक्षाको सट्टा गणित पढ्न पाइन्छ।