काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले विजयी सुरुवात गरेको छ । शनिबार भएको प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश १ लाई १३५ रनले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा एपीएफले जितका लागि दिएको २४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १०८ रन मात्र बनायो ।
प्रदेश–१ का मनिस थापाले १८ रन जोड्दा फिर्दोस अन्सारीले १७ रन जोडे । दिपेश कंडेलले १६ र दिपक पासवानले १३ रन बनाए । बलिङतर्फ एपीएफका लागि अविनास बोहराले १८ रन खर्चिएर ५ विकेट लिए । यस्तै वसन्त रेग्मीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनाएको थियो ।
एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय परि खेले । यस्तै वसन्त रेग्मीले ४० रन जोड्दा सन्दीप जोराले ३० रन बनाए । प्रदेश–१ का फिर्दोस अन्सारी, हेमन्त राई र दिपेश कंडेलले दुई दुई विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ ।
