२१ फाल्गुन २०७७, शुक्रबार

सुन्तला, बा र म

kamdardainik.com (First, Fast & Accurate)

समिर संगम
अलिक समय पछि मैले फेसबुकमा एउटा फोटो पोस्ट गरेँ । पोस्ट गरेको केही मिनेट पछि एक जना साथीले कमेन्ट गर्यो ” कति एउटै ज्याकेटको फोटो हेर्नू ?”

त्यो कमेन्टले साँच्चै मलाई सोच मग्न बनायो । आँखा अगाडि अतित झल्झल्ती आईदियो । एकछिनमा रिप्लाई दिएँ “मलाई पुराना सम्बन्ध र पुराना किताब बहुत प्यारा लाग्छ । यो ज्याकेट होईन । यो मेरो किताब हो । जहाँ मेरो जिन्दगीका केही अक्षर लेखिएका छन् !”

मैले बिगत सम्झेँ। मेरो आमालाई सम्झेँ । घर सम्झेँ। बा सम्झेँ। म सानो हुँदा मेरी आमा बिहानै च्यात्तिएको चोली लाएर कम्मरमा आधा च्यात्तिएको धरोमा सबैरे उठ्नु हुन्थ्यो । एक हातले आँसि (हसिया) र अर्को हातले बरियो ( नाम्लो) डोर्याइदै लाग्नुहुन्थ्यो भिर तिर । बासी रोटिका टुक्राहरु टोक्दै दैलोमा म कुरी रहन्थे आमाको बाटो । बकुल्लाले माछा कुरे जस्तो । एक औँशीले पुर्णिमा कुरे जस्तो । रातले बिहानी कुरे जस्तो ।

बा सम्झिएँ । भालेको नबास्दै उठेर खाली गाग्री बोकेर तल धारोमा पानी लिन हिँड्नु हुन्थ्यो । गाउँमा त्यो बेला धारो घर भन्दा टाढा थियो । सम्झेँ । घरको छानो फेर्न आमाको चोली फेर्न , मेरो पछाडी टाला हानेको 2 बर्ष पुरानो जाँगे फेर्न कालिपार (भारत) हिँड्नु भएका मेरा बा ।

कुरा सात आठ बर्ष पहिलेको हो । म त्यो बेला सात कक्षा पढ्थेँ । भख्खरै हाम्रो बारीमा सुन्तलाका कलिला बोटहरू रोपेका थिए । मेरा बा आमा अशिक्षित हुन । कृषि कर्म गरीरहने एक इमानदार किसान परिवार ।सुन्तलाका बोट रोपेर सुन्तला फलाउने बाको योजना थियो त्यो । सुन्तला फलेपनि बजार नपाउने अर्को समस्या थियो । गाउँमा अशिक्षित , अन्धविश्वासि मान्छे धेरै हुन्थे। सुन्तला बेच्न कि जाजरकोट खलंगा जानु पर्थ्यो कि त चौजरजहारी बजार । अनि फाट्टफुट्ट चाडपर्बमा लाग्ने मेलाहरुमा !

म सम्झिन्छु । आठ क्लास पढ्दा पहिलोपटक बा संग बोरोमा चना बोकेर जाजरकोट गएको त्यो समय । त्यो बेला 50 रुपियाँ पाथी थियो । मैले लिएको जम्मा पाँच पाथी भएको थियो । आखिर 5 घन्टा हिडेर जम्मा त्यत्ति । न पसिनाको मूल्य न त्यसरी बोकर नाम्लोले निधारमा बसेका छापको मूल्य । तर मलाई जसरी पनि आठ क्लासको अंग्रेजी डिस्नरी किन्नु थियो । त्यही पैसाले डिस्नरी किनेर छातीमा सुम्सुमाउदै घर पुगेँ । समय बित्दै गयो । कहिले काउली ,कहिले प्याज ,कहिले सिमी बोकेर कहिले चौरजहारी बजार त कहिले जाजरकोट खलंगा पुगिरहन्थे बुवासंग। यो बेला सम्म साना सुन्तलाका बोटहरु हर्लक्क बढ्दै थिए । बिस्तारै फूले पनि । भमराहरू एक फूलबाट अर्को फूलमा सरेको देख्दा लाग्थ्यो, “यहाँ फूलको रसपान गर्न बाँकी म एउटो त रहेछु !”

ऋतुहरु फेरिँदै गए। अब सुन्तला फल्न थाले । त्यही समयमा बुबाले सुन्तलाको बोटमा कुखुराको कुहिएको अन्डाहरु फाल्दिनु भएको थियो । किनकी कुखुराका अन्डाहरू फलेको सुन्तलाको बोटमा फाल्दा , सुन्तलाका दाना ठूला फल्छन् भन्ने जनबिस्वास थियो । त्यो बर्ष सुन्तला फल्ने समयमा ठूलो हावा हुरी र असिना पानी आई दियो । सपना सारा हुरी उडायो । लाग्यो धेरै कुराको आसमा बाँच्नु पनि ब्यर्थ रहेछ । अर्काको भरमा जिन्दगी जिउनु पनि भ्रम रहेछ । कति खेर असिनाको एक ढिकाले दिलको सिक्का पल्टाइदिदो रहेछ थाहै नहुने ।

केही दिनहरु गोठालोमा बिती गए । केही दिनहरु स्कुलको प्राङ्गणमा अनि केही दिनहरू साथी संगीका घर आँगनमा । कुनै समय थियो , स्कुलका भित्तामा फलानो प्लस फलानो लेखिन्थ्यो । बाटोका ढुङ्गाहरूमा चकले लेख्दै हिँडीन्थ्यो ।

अर्को बर्ष फेरि बसन्त ऋतु आयो । फेरि सुन्तला फुल्न थाले । भमराहरू उसै गरी डुल्न थाले । मेरो मनले सोच्यो , कतै फेरि उही असिना पानी आएर सपना उडाई दिने त होईन ? हरेक समय अतित बल्झिदिन्छ । पुरानो घाऊ बल्झे जस्तै । चाहे त्यो प्रेमको किन नहोस्। चाहे त्यो जीन्दगीको नै किन नहोस् ।

बाले पहिले जस्तै गरि राख्नु भो कुहिएका अन्डाहरु सुन्तलाका बोटहरूमा । यो पाली आएन असिनाको बर्षा ।आएन रोगको महामारी ।लटरम्म फले बोटभरी सुन्तला । मेरो मन भरी पलाए खुशीका पालुवा । बाको हृदय भरी खुशी फुल्यो । सपना थियो सुन्तला बेचेर ज्याकेट किन्ने ।

समय बित्दै गयो । एसएलसी पास गरियो । राम्रै नम्बर आयो । अबको सपना राजधानी थियो । सहरमा थियो । असारको महिना केही सपनाहरूको भारी बोकेर लागियो सपनाको सहर तिर । बाढीमा जंगलबाट बग्दै बग्दै आएको काठ जस्तै मलाई पनि समयको बाढीले गाउँ बाट राजधानी उतार्यो । एक जुनसुकै कुरा पनि आँखाले देख्नु भन्दा पहिले कल्पना गर्दा सुन्दर लाग्ने रहेछ । सपना ,प्रेम , ठाउँ, प्रकृति जेसुकै पनि । धेरै बुट्टाहरु भरिने रहेछ । धेरै बखान गरिने रहेछ । धेरै सजावट गरिने रहेछ । तर यथार्थको धरातलमा उभिए पछि सामिप्यको नजिक पुगे पछि सबै चिज थाहा भैजादो रहेछ । मलाई पनि त्यस्तै भयो । राजधानीमा मैले सोचेको जस्तो बागबजार रहेनछ। मैले कल्पना गरेको जस्तो रत्नपार्क रहेनछ। मैले सुनेको जस्तो बसपार्क रहेनछ । त्यही बिचमा ए सपनाहरूको झोला बोकेको एक गाउँको मान्छे समयको छालहरूलाई पछार्दै भक्तपुरको एक कुनामा पुग्यो ।

यहाँ औकातमा खाईदो रहेछ भातका सिताहरु । पैसाको बाटोमा हिँड्ने रहेछन पाइलाहरु । हैसियतसँग बिक्दो रहेछन कपडाका थानहरु । कवाडी संग बेचिंदा रहेछन् , सपना लेखेका कागजका पानाहरू ।

एक गरिब किसानको छोरा संग सभय संग लड्नु बाहेक अरू बिकल्प नै थिएन । आमाको आशीर्वाद , बाको स्वाभिमान बोकेर हिँडे। सोचेँ कुरा काट्नेहरू काट्दै गरून । म मेरो बाटो हिँडी रहन्छु । कलेज भर्ना भएँ । साईन्स पढ्ने दृढ इच्छा शक्तिले जित्यो । मलाई साइन्सका हिसाब , डेरीभेसनको त्यती पिर लाग्दैन थियो जति पिर मलाई घरको आर्थिक अवस्थाको लाग्थ्यो । कसरी छाक टार्ने , कसरी कलेज फि बुझाउने भन्ने पिरले घोचीरहन्थ्यो जसरी आलो घाउले हृदय घोचीरहन्छ ।

केहि महिना बिते । दशैँ आयो । घर फर्किने बेला भयो । कलेजबाट दशैंको शुभकामना सहित एउटा फाइलमा भ्याकेसनको होमवर्कको सिट आयो । लाग्यो, यो हाम्रो रमाइलो बिदा होइन चाडपर्वको नाममा कलेजले होमवर्क बिदा दिई राखेको छ । केही थान खुशीका पोका बोकेर , केही नोटहरु बोकेर एक पुरानो बस चढेर गाउँ उक्लिएँ।

करिब 27 घन्टाको बस यात्रा पछि पुगियो जन्मभुमि । टेकियो बचपनमा धुलो उढाउदै हिँडेका बाटाहरु । महसुस गरियो डाडोतिर चिसो हावाका स्पर्शहरु । गाउँमा चाडपर्वको बेला मेलाहरु धेरै लाग्थे । धेरै साथीहरूको जम्काभेट हुने ठाँउ मेला नै हुन्थ्यो । यस्तै मेलाहरूबाट धेरै जोडीहरू बिवाहमा परिणत हुन्थे । घरको अगाडिको बारीमा सुन्तलाका बोटहरू लटरम्म फलेका थिए । समय संगै सुन्तलाका दानाहरूमा पहेँलो रंग बस्दै थियो । दशैले घरको दैलो छोड्ने बेला हुँदै थियो । बिस्तारै तिहार पनि छुट्ने तरखरमा थियो । बिदाका दिनहरु सकिँदै थिए । फेरि गाउँ छोडेर आउनु नै थियो ।

सहर जानु भन्दा पहिले एउटा मेला मनाएर जाने निर्णयमा म पुगेँ। त्यहीँ समयमा चौरजहारिमा ठूलो मेला लाग्थ्यो । जो संखपिपलको मेला भनेर चिरपरिचित छ । जहाँ धेरै जिल्लाबाट मान्छेको आगमन हुन्थ्यो । त्यहाँ विशेष सुन्तला , बदाम ,जेरी र उखु धेरै बिक्री हुन्थे । हाम्रो बारीमा फलेका सुन्तला पनि त्यही मेलामा लिएर बेच्ने निर्णय बाले सुनाउनु भयो । मैले हुन्छ भनेँ । बाले त्यो बेला मलाई भनेको याद छ । “तँलाई लाज लाग्छ होला भारी बोकेर जान , चिनेको साथी हुन्छन होला ।” गरिबी संग पौँठेजोरी खेलेर हुर्केको म भुईमान्छेलाई भारी बोक्न के को लाज ? नाई बा म पनि भारी बोक्छु । सुन्तला बोक्छु भनेर भनेँ बालाई । हाम्रो घरबाट 2 घन्टाको पैदल यात्रा पछि पुगिन्छ चौरजहारीको मेला । एका बिहानै घाम उठ्नु भन्दा पहिले , बा आमा र म सुन्तलाको भारी बोकेर मेला तिर लाग्यौं । बिचमा साथीहरु भेटिन्थे । जिस्काउलान् भन्ने डरले देखे नि नदेखे जस्तो गर्थें । टाउको निहुराएर हिँड्न पनि सिकाउँदो रहेछ गरिबीले । मेलाको एक छेउ कुनामा सुन्तला बेच्न बस्यौँ हामी । आमाको छेउमा म बसेँ । मेरो छेउमा बा बस्नु भयो । मेरी आमा निरक्षर हुन । उहाँलाई पैसाको कारोबार गर्न आउँदैन थियो । बालाई त आउँछ। त्यही पैसा लिने र फिर्ता दिने काम मेरो भागमा परेको थियो । बा र आमाको सुन्तला बेच्ने काम । सुन्तला बेचेर साँझ घर फर्किँदा पैसा गनेको त जम्मा मुल्य दुई हजार भएछ। त्यसरी मेलामा सामान बोकेर मैले धेरै कमाएको, त्यही दुई हजार थियो । त्यो भन्दा पहिले सामान त धेरै बोकियो तर त्यत्रो पैसा हुँदैन थियो ।

अब सहर फर्किने बेला भयो । त्यो सुन्तला बेचेको पैसा बुवाले ले तँ नै राख् न भनेर मलाई हातमा थमाउनु भयो । मेरो गोजीको लागि हजारको नोट नयाँ थियो । हजारको नोटको लागि मेरो गोजी नयाँ थियो । फेरि टेकियो काठमाडौको छाति । केही सपनाहरू बोकेको एक थान जिन्दगी लिएर । काठमाण्डौंमा जाडोको सिजल सुरू भैसकेको थियो । चिसो सिरेटोले घोच्न थाल्यो । बेग हानी गाको हावाले हानिरहन्थ्यो । ठिकै त्यसै गरी गरिबीले मुटुमै हान्थ्यो बेला बेला ।

केही दिन पछि त्यही दुइ हजारले “द नर्थ फेस” कम्पनीको ज्याकेट किनेँ । सुन्तला बेचेर ज्याकेट किन्ने मेरो सपना पुरा भयो । निधारमा नाम्लोका डोबहरुको दुखाईमा मलम लगाउदै किनेको पहिलो सामान । त्यही भएर सबैलाई पहिलो भेट प्रिय लाग्ने रहेछ । पहिलो माया प्रिय लाग्ने रहेछ । पहिलो कमाई प्रिय लाग्ने रहेछ । मलाई पनि त्यही पहिलो कमाई बहुत प्यारो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *