२१ फाल्गुन २०७७, शुक्रबार

महिला तस्करीमा नयाँ रुटः माल्दिभ्सको श्रम स्वीकृति, मान्छे यूएईमा

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं । पछिल्लो समय मानव तस्करहरुले महिला कामदारको तस्करीमा नयाँ रुटको प्रयोग गर्न थालेको रहस्य खुलेको छ । केही समय अगाडि भिजिट भिषामा नेपाली महिला घरेलु कामदारलाई यूएई हुँदै खाडीका विभिन्न देशहरुमा पुर्‍याउने गरेका तस्करहरुले भिजिट भिषामा कडाई भएपश्चात् अहिले माल्दिभ्सको व्यक्तिगत श्रम स्वीकृति निकालेर नेपाली कामदारलाई यूएई पुर्‍याउने गरेको खुलेको छ ।
सरकारले भिजिट भिसामा यूएई जान कडाइ गरेपछि मानव तस्करले रुट परिवर्तन गर्न थालेका हुन् । माल्दिभ्सका लागि व्यक्तिगत श्रम स्वीकृति लिए पनि रोजगारीका लागि यूएई पुगेको केही नेपाली महिला अजमानको हाउसमेड मण्डीमा रहेको त्यहाँस्थित एक गैह्रआवासीय नेपालीले जानकारी दिए । २०२१ जनवरी २२ देखि फेब्रुअरी ८सम्ममा करीव २१३ जना नेपाली कामदारले माल्दिभ्सको व्यक्तिगत श्रम स्वीकृति लिएको जानकारी वैदेशिक रोजगार कार्यालय काठमाडौंले जनाएको छ । त्यसमध्ये करीव ११० जनाका हाराहारी महिला कामदारहरु खाडीदेखिमा घरेलु कामदारको रुपमा यूएई पु¥याइएको स्रोतले बतायो ।

माल्दिभ्सका लागि व्यक्तिगत श्रम स्वीकृति जारी गरेका व्यक्तिको नाममा मानव तस्करले श्रम स्वीकृति लिनुअघि नै यूएईको भिजिट भिसा निकालेर तयारी अवस्थामा बस्छन् । नेपालबाट व्यक्तिगत श्रम स्वीकृति लिएर माल्दिभ्स हिँडेकाहरुको हवाई टिकटमा ट्रान्जिट यूएईमा राखिने गरेको र त्यहाँबाट उनीहरु पछिल्लो समय कोही पनि महिला कामदार माल्दिभ्स नगएको बुझिन आएको छ । पछिल्लो समय व्यक्तिगत श्रमस्वीकृतिमा मानव तस्करी बढ्दै गएको तथ्यलाई यो घटनाले उजागर गरेको छ । चितवनकी सविना (नाम परिवर्तन) हाल यही प्रक्रियाबाट यूएई पुगेकी छिन् । उनी अहिले घरेलु कामदारको रुपमा यूएईमा काम गर्न थालिसकेकी छन् । तस्करहरुको सेटिङ्गमा श्रम कार्यालय हुँदै अध्यागमनसम्म पहुँच हुने गरेको यो घटनाले देखाएको छ ।

व्यक्तिगत श्रम स्वीकृति माल्दिभ्सको लिएका कामदारको भिसा तस्करले रद्द गरेर त्यसको ठाउँमा भिजिट भिसा लगाउँछन् । यो काम अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्नुअघि र जहाजभित्र प्रवेश गरेपछि भिसा परिवर्तन हुनेगरेको माल्दिभ्सको श्रम स्वीकृति लिएर यूएई पुगेकी एक महिलाले दूतावासलाई बयान दिएको दूतावासका कर्मचारी बताउँछन् ।भिजिट भिसामा सरकारले कडाइ गर्न थालेपछि एउटा देशको व्यक्तिगत श्रम स्वीकृति लिएर तस्करले घरेलु रोजगारीका लागि अर्को देशमा महिला कामदार ओसार्ने थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *