७ बैशाख २०७८, मंगलवार

मित्रसेन दाहालको अधुरो सपना ‘इको भिलेज’

kamdardainik.com (First, Fast & Accurate)

सुदर्शन अर्याल
सात वर्षअघि त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट सेवानिवृत्त भएपछि राधा शर्माको सामु दुई वटा बाटा थिए-हिँड्डुल गर्न सकेसम्म राजनीतिमा सक्रिय हुने या शान्त वातावरणमा बाँकी जीवन बिताउने ।

त्यही बेला मित्रसेन दाहालको मैत्री सेवा आश्रमको अवधारणा सुनेपछि उनी दोस्रो विकल्पमा गइन् । शंखरापुर नगरपालिकाको झुले गाउँमा अवस्थित ज्येष्ठ नागरिक मैत्री सेवा आश्रम चल्तिको वृद्धाश्रमभन्दा धेरै उन्नत किसिमको ज्येष्ठ नागरिक निवास हो ।

यहाँ बिहान पौने ५ बजेदेखि दैनिकी सुरू हुन्छ । नित्यकर्म सकेर सबैजना योगध्यानमा लाग्छन् । ७ बजेको बिहानी खाजा, १० बजे खाना, दिउँसो साढे २ बजे खाजा र साँझ ७ बजेको खानासँगै आश्रमका २५ जना वृद्धवृद्धा र १३ जना कर्मचारीको दैनिकी सकिन्छ ।

मैत्री सेवा आश्रमका कोही पनि परिवारबाट अवहेलित भएर साहारा खोज्दै आएका होइनन् । ज्येष्ठ नागरिकमैत्री वातावरण खोज्नेहरूको बस्ती हो, जेपी फाउण्डेसनद्वारा संचालित जेष्ठ नागरिक ग्राम ।

यो ग्राममा साना ठूला गरेर ३३ वटा घर छन् । यीमध्ये एउटा भवनमा सत्संग हल र अस्पताल छ । गम्भीर किसिमको स्वास्थ्य सेवा आवश्यक पर्नेलाई त्यो सुविधा पनि चौबिसै उपलब्ध छ । हिँडडुल गर्न नसक्नेहरूलाई छुट्टै सुविधा छ ।

आश्रमका कुल १७ मध्ये ८ वटा कुटी ‘प्याक’ भइसकेको छ । एउटा कुटीमा एक्लै वा एकै परिवारकालाई मात्र राखिन्छ । अरुका लागि सामूहिक भवन छ । खाना र अन्य सुविधा भने सबैलाई एउटै छ ।

बेलायतमा नर्सिङ पढेकी रेवता राई आश्रमको व्यवस्थापनसँगै जेष्ठ नागरिकहरूको सुश्रुषामा खट्छिन् । ‘बाँकी जीवन बिताउन आउनुभएका आमाबाबु हामीसँग हुनुहुन्छ’, उनी भन्छिन्, ‘उहाँहरूको सेवामा कमी हुन दिएका छैनौं ।’

कसरी सुरु भयो नयाँ योजना ?

करिब साढे दुई दशकअघि आफ्ना पिताको नामबाट मित्रसेन दाहालले सुरु गरेको फाउण्डेसन हो, जेपी फाउण्डेसन । मित्रसेनको ७ फागुनमा ह्रदयघातबाट निधन भइसकेको छ ।

सुरुमै बृहत् परियोजनाका साथ सुरु भएको आश्रमको अवधारणालाई मूर्त रुप दिन स्व. मित्रसेन दाहाल र उनको टिमलाई झण्डै २ दशक लाग्यो ।

आश्रमको योजना नै ‘भएकासँग लिने, नभएकालाई दिने’ थियो । त्यसको लागि सम्पत्ति भएकाहरूसँग सम्पर्क र सम्पत्तिविहीनहरूको पहिचान आवश्यक थियो । साथै वृद्धाश्रमभन्दा भिन्न एउटा नमुना गाउँ बनाउनुपर्ने चुनौती पनि थियो ।

त्यसको लागि जेपी फाउण्डेसनले सबभन्दा २५ वर्ष पहिले ३०० रोपनी जग्गा किनेको थियो । त्यसबेला झुले जाने सजिलो बाटो समेत थिएन । सुरुवाती चरणबाटै यो योजनामा जोडिएका अरुणकुमार सुवेदी (स्व. मित्रसेनका साढुभाइ) अनुसार आश्रम सञ्चालनको लागि मुख्य गरेर ३ किसिमको स्रोतलाई प्राथमिकता दिइयो- सरकारी सहयोग, दाताको सहयोग र आश्रम प्रवेश गर्न चाहनेहरूले दिएको पैसा ।

त्यसबेला भारतको धर्मार्थ ट्रस्टबाट पनि केही सहयोग मिलेको सुवेदी बताउँछन् । उनकाअनुसार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाली सेनाको कल्याणकारी कोषको सहयोगबाट १०-१० वटा घर बने । अन्य क्षेत्रको सहयोग परिचालनबाट १३ वटा समेत गरी ३३ घर/भवन बनिसकेका छन् ।

अहिले पनि ग्रामको नियमानुसार सहयोग गर्ने वा आफैं बस्न चाहनेको लागि जग्गा उपलब्ध गराउने गरिएको सुवेदी बताउँछन् ।

स्व. मित्रसेनको ‘इको भिलेज’ परियोजना भने पूरा हुन बाँकी छ । मुख्यतः अस्पतालको स्तरोन्नति र ज्येष्ठ नागरिक लेखनवृत्तिलाई सघाउने पुस्तकालय विकासको काम अधुरो छ । सुवेदी भन्छन्, ‘आश्रम माथिको डाँडामा नेपालमा प्रचलित सबै धर्मको प्रतीक चिहृन अंकित स्तम्भ राख्ने र शान्ति निकेतनको अवधारणामा नमुना गाउँ बनाउने योजना उहाँले पुरा गर्न पाउनु भएन ।’

ग्रामले बीचैमा अभिभावक गुमाएको उनले बताए । सुवेदीका अनुसार, ३-४ सय वृद्धवृद्धा आनन्दपूर्वक बस्न सक्ने एउटा नमुना गाउँ बनाउने स्वर्गीय दाहालको सपना थियो ।

योजनाकारको असामयिक निधनले गर्दा यतिबेला सिंगो ज्येष्ठ नागरिक ग्राम शोकाकुल छ । अझ शोकको दियो जलाउने काम त त्यो शुक्रबारे भेटघाटले गर्नु परेको छ, जसमा मित्रसेन नछुटाई सहभागी हुन्थे । ‘पछिल्लो चार वर्षयता उहाँ हरेक शुक्रबार आश्रमका आमाबुबासँग बिताउनुहुन्थ्यो’, सुवेदी भन्छन्, ‘आमा, बा, दाजु, दिदी जस्ता साइनोले बोल्दै आश्रमका सबैको तितो-मिठो सुन्नुहुन्थ्यो ।’

फागुन ७ गते शुक्रबार पनि धेरै आमाबुबाहरूले मित्रसेनलाई सुनाउने गुनासोका सूची तयार पारेर राखेका थिए । यसपालि उनी बुधबार पनि आश्रममा आएका थिए, तर शुक्रबार आई हाल्छु भन्दै हतारमा काठमाडौं फर्किएका थिए । आश्रम लैजाने औषधि र फलफूल बिहीबार नै किनेका थिए । तर, शुक्रबार विहान नौ बजेतिर आएको अर्कै खबरले झुलेको जेष्ठ नागरिक ग्राममा रुवाबासी मच्चायो ।

मित्रसेन शुक्रबार महाराजगन्जको सहिद गंगालाल अस्पतालमा मुटुको नियमति जाँच गराएर झुले पुग्ने योजना अनुसार चावहिलस्थित घरबाट निस्कनै लागेका थिए । त्यती नै बेला उनको पेटमा चर्को पिडा भयो । आफूलाई निकै गाह्रो भएको भन्दै मोजा लगाउन सोफामा बसेका उनी त्यहीँ ढलेको साढुभाइ सुवेदी बताउँछन् । त्यसको पाँच मिनेटमा ओम अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको थियो ।

युवादेखि ज्येष्ठनागरिकसम्मको ‘धाम’

उमेरले चारदशक नकाटेका अभिनेश कार्की दम्पतीले दुई वर्षअघि आफू र डिल्लीबजारमा रहेको आफ्नो सर्वस्व झुलेको जेष्ठ नागरिक ग्राममा आश्रमलाई समर्पित गरे । निसन्तान उनीहरू प्रतिष्ठानको रेखदेखमा आजीवन त्यही ग्राममा बस्ने सम्झौता गरेर आएका हुन् । ‘अनावश्यक दुःख बेसाएर आफूलाई दुःखी बनाइरहनुभन्दा जीवनभरि आश्रममा सेवा गर्ने र बुढौंलीमा आश्रमले सहयोग गर्ने सम्झौता गरेर हामी यहाँ बस्न थालेका हौं’, कार्की भन्छन् ।

भक्तपुरका ७६ वर्षीय कृष्ण प्रजापति पनि आफ्नो सबै सम्पत्ति सुम्पिएर आश्रममा बस्न थालेको ४ वर्ष भयो । उनी घरायसी झण्झटमा फसेर बस्नुभन्दा यो जीवनलाई उपयुक्त ठान्छन् । यहाँ बस्ने सबै आश्रमलाई ‘मुक्तिधाम’ भन्छन् । आमाबुबा, दिदीबहिनी र दाजुभाइको साइनोले आश्रमलाई एक परिवार बनाएको छ । यो परिवारका हरेक सदस्यमा नयाँ उमंगको विकास भएको उनीहरू बताउँछन् ।

काठमाडौंबाट आफ्नै गाडीमा आश्रम आउँदा मित्रसेन दाहाल बाटोमा मकै बेच्नेहरूले फालेका खोस्टा जम्मा गरेर ल्याउँथे । आश्रम परिसरमा पसेपछि उनी सबभन्दा पहिले दक्षिणपट्टीको गाईफार्मको अवस्था बुझ्थे । त्यसपछि आश्रमतिर उकालो लाग्थे ।

अब उनले गरेका सोधपुछ र रेखदेख सम्झनामा सिमित हुन पुगेको छ । उनको बारेमा सोध्दा सात दशक कटेका आमाबुबाहरूले समेत अभिभावक गुमाएको, टुहुरा जस्ता भएका बताए ।

आश्रम व्यवस्थापनको सम्पूर्ण जिम्मा पाएकी रेवता राई अकस्मात दाहालको स्वर्गवास भएपछि संस्थालाई सम्हाल्ने, अगाडि बढाउने ठुलो चिन्ता भएको बताउँछिन् । ‘यहाँका मान्छे मात्रै होइन, अध्यक्षज्यूको अभावमा यहाँका गाईहरू समेत टुहुरा भएका छन् । हामी अहिलेसम्म पनि शोकबाट माथि उठ्न सकेका छैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *