काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समिकरण गर्ने विषयमा तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।
नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्नेछन् ।
माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।
