ग्रामिण सवारी भाडादर कायम हुन सकेन, यात्रु ठगिने क्रम बढ्दै

आर्थिक राजनीति समाचार

सोलुखुम्बु । सोलुखुम्बुका ग्रामिण सडकमा सञ्चालित सवारी साधनको भाडादर कायम नहुँदा आफुहरु ठगिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । सदरमुकाम सल्लेरीबाट जिल्लाका बिभिन्न स्थानका लागी छुटने सवारीसाधनको भाडा निर्धारण हुन नसक्दा यात्रु ठगिने क्रम बढेको उनीहरुले गुनासो गरेका हुन् ।

गाउँ÷गाउँ सम्म धुले सडक पुगेसँगै सो क्षेत्रमा सञ्चालन हुने सवारी साधनको भाडादर निर्धारण हुन नसक्दा चालकले आफुखुसी भाडा लिने गरेको थुलुङ दुधकोशी गाउँपालिका १ का इन्द्र बहादुर खडकाको गुनासो छ ।

जिल्ला प्रसाशन कार्यालय सोलुखुम्बुले २०७५ साल कार्तिक १५ गते भाडादर निर्धारण गरेको भएपनि त्यस यता भाडादर निर्धारण गर्न सकेको छैन् । सल्लेरीदेखि नेलसम्मको भाडा बिगतमा १ सय ५० रुपैया तिर्दे आएको भएपनि अहिले २ सय भन्दा बढि तिर्नुपरेको सोताङ गाउँपालिका ३ का रमेश गौतमको भनाई छ । सल्लेरी देखि नेले सम्मको सडक पक्की भएपनि भाडादर भने बढ्दै गएको उहाँको भनाई छ ।

पछिल्लो पटक निर्धारण गरिएको भाडादरअनुसार सल्लेरी–साल्मे ७० रुपैया, सल्लेरी–तिङला १५० रुपैया, सल्लेरी–बुढीडाडाँ ४५० रुपैया, सल्लेरी–रोक्ती ३ सय रुपैया, सल्लेरी–दिब्लीघाट ७ सय रुपैया, सल्लेरी–गोराखानी ४५० रुपैया, सल्लेरी–नेले बर्खुघाट–मुक्ली ६ सय रुपैया, सल्लेरी–टाक्सिदु ५ सय, सल्लेरी–पञ्चन ५ सय रुपैया भाडा निर्धारण भएको थियो ।

तर अहिले कतिपय सडक स्तरोउन्नोती भए पनि भाडा भने झन बढदै गएको थुलुङ दुधकोशी गाउँपालिका ८ का भिमराज राईले गुनासो गर्नुभयो । यता प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले ब्यवसायी र सरोकावाला निकायसगँ छलफल गरिसकेकाले चाडै भाडादर निर्धारण गर्ने आश्वसन दिनुभयो ।