२ जेष्ठ २०७८, आईतवार

एक्लो छोरालाई अंशबण्डा(कविता)

kamdardainik.com (First, Fast & Accurate)

-घरडी कमलेश

 

निन्याउरो अनुहार
टाउकोमा दुबै हात
ओझिला आँखा
शरीरको बोझ भरथेग गर्न नसकेर
लत्रेका खुट्टा
मनको अन्तर्द्वन्द्वले
व्याकुल भएको म, आज
एक्लो छोरालाई अंशबण्डा दिन
खेतको आलिमा
मुर्दा सरि थचक्क बसेको छु।

 

बामे सार्न सिकाउदाको हर्ष
बिनाकारण खिस्स हास्ने बानी
मम्मिसङ्ग झगडा परे
खाना खान बोलाउदाको
ठुस्किने ब्यहोरा
सुत्दा बा’को पाखुरा
सिरानी नभए सम्म
माछाका जस्ता टल्किने उस्का आँखा
अलिकती चर्को स्वरमा पनि
आंशु खसाल्ने उस्को बानी
आजभोलि मेरा आँखा
ओभाना हुन दिएको छैन
नजरले भ्याएसम्म आलिको
एक फन्को आँखा दौडाएर सोच्छु
साच्चै यो त्यही तोतेबोलीमा ‘बा’ भनि
अंगाल्न आउने छोरा हो र?

 

चिटिक्क बनाएर स्कुल पठाएको छोरा
धुलोले नचिनिने भएर घर फर्किदा
सुकिला कपडामा
कालो मसिले लिपपोत गरेरै आउथ्यो
हातमा कलमले बनाएको घडीमा
सुइले यति बज्यो भनेर सिकाउने उ
आज मेरै बाह्र बजाउदै छ!
साच्चि उ त्यही छोरा हो र?

 

अगेनाको तातो कुरेर सुतेको बिरालोलाई
अङ्गालोमा भिरेर
बिरालोकै पुच्छर उस्लाई नै झुक्याएर
उस्लाई नै टोक्न लगाउने उ
साच्चै बलियो खेलाडी रैछ
आज मेरै दुखले आर्ज्याको सम्पत्ति
मलाई नै गिज्याएर हडप्न
गाउलेलाई अङ्गालोमा लिइ
मेरै अस्तु
मेरै पिण्ड
मेरै हातबाट
मलाई नै खुवाउदै छ
साच्ची उ त्यही मेरा छोरा हो
जो
सानोमा को खाइ, को खाइ गर्दा
मेरो मुखको निकाली आफू खाने गर्थ्यो!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *