२ जेष्ठ २०७८, आईतवार

“अलविदा साथी”(कबिता)

kamdardainik.com (First, Fast & Accurate)

-घरडी कमलेश

सानो मान्छे
सानो कुरामा, ठूलो झगडा हुँदा
अबदेखि मेरो घरको बाटो हिड्लास् भनेको
क्षणभरमै अङ्गालोमा बाधिइ
ढुङ्गाको डोजर र एक्साभेटरले बनाएको
एक्सप्रेस रोडमा
ढुङ्गाकै गाडी कुदाउने हामी
ढुङ्गा आज पनि त्यही छ
तर त, त्यही ढुङ्गाको कापमा
अस्ताइस् नि साथि

सानो खोलाको भाक्लोमा
ढुङ्गा र घासको गारोले बाध बाधी
हुटिन्जेल डुबुल्की लगाएर
तातो ढुङ्गामा लम्पसार परि
जिउ तताएर,
बालमनोबिज्ञानको सर्बश्रेस्ठ खोजमा
बालुवाबाट पानी निकाल्न
एकोहोरो खनेको त्यही किनारामा
बालुवा बनि हराइस् नि साथि

दिउँसै चन्द्रमा देखिएको दिन
घाम दिदिले जुन बहिनिलाई
दिएको श्रापले भेट नहुने कथा सुनाउने उ
इन्द्रेणी देखिएको दिन
बा’ले सानो गरि कटाएको कपाल
बढाउन जोर जोरले चिल्लाउथ्यो
आकाशगंगामा चम्किएका तारालाई
कौतहुलताको नजरले हेर्दै
मरेका मान्छेहरुको आत्मा हो भनी सम्झाउथ्यो
आज त्यही तारामा विलीन हुँदा
उ कुन चाहिँ हो ठम्याउन
मलाई हम्मेहम्मे परिरा’छ

केही छन्द रामायणका
केही महाभारत , अनि केही गिताका
केही स्वस्थानी ब्रतकथाका
मनपरी गाउने उ
केही अङ्ग्रेजी र्‍यापका
केही नेपाली लोकदोहोरी
केही हिन्दिका मिक्स गरि
आफ्नै सुर र तालमा रम्ने उ
केही चलचित्रका
केही गाउँका भद्रभलादमी
हुबहु दुरुस्त नक्कल गर्ने उ
हेर्दाहेर्दै ,
मानसापटललाई झक्झाकाउने
उस्को आवाज र चर्तीकला छोडेर
आफू हेर्दाहेर्दै अलप भो

आज उ छैन
उस्का याद छन
संगै हिडेका बाटा
गरेका झगडा र भलाकुसारी
बालमस्तिष्कले गरेका उरन्ठिला उपद्रो यहीँ छ
उस्ले,
बाहिरी संसार बुझ्नै पाएन
किशोरावस्था पार नगरी
अर्कै लोकको यात्रा तय गर्‍यो
युवावस्थाको रमाइलो र निराशापन भोग्नै पाएन
पैसाको बिटोले भगवान किनेको देख्न पाएन
घाम दिदी र जुन बहिनीको भित्रि कथा बुझ्न पाएन
मैले पढेको भौतिक र रसायन शास्त्रको ज्ञानले
उस्ले बालपनमा भनेका कुराको खण्डन गर्नै पाएन

यत्ति बुझे,
सबैको कात्रो बनिसक्यो
बस् नाम तोकेर किन्न मात्रै बाकी हो
रहने याद रैछ
मान्छे आज छ भोलि छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *