२ जेष्ठ २०७८, आईतवार

बाख्रापालनले महिलाको दैनिकी फेरियो

kamdardainik.com (First, Fast & Accurate)

‘‘बाख्रा पाल्छु राम्रै छ बजार
दुईटा बोका बेच्यो कि तीस हजार
चिन्ता छैन केही
मलाई कोरिया नि यहीँ, मलाई हङ्कङ पनि यहीँ, मलाई अष्टे«लिया नि यहीँ’’ ।

गायक पशुपति शर्माको यो गीतले भनेझैँ निस्दी गाउँपालिका वडा नं ५ बहपुर बस्ने खुमीसरा रानाले एउटै खसी रु ३७ हजारमा बिक्री गर्नुभयो । आफूले पालेको खसी यतिधेरै मूल्यमा बिक्री गर्न पाउँदा उहाँ अहिले दङ्ग हुनहुन्छ ।

दुई चार पैसाका लागि सधैँ श्रीमान्को भरपर्न बाध्य राना अहिले आफैँले पालनपोषण गरेको एकै खसीबाट रु तीस हजार नगद हातपार्न पाएपछि उहाँका खुशीका आँशु झरेका छन् ।
उहाँको घरमा अहिले छ वटा माउसहित २१ वटा बाख्रा छन् । यसभन्दा अघिल्ला वर्षमा उहाँले बाख्रा बिक्रीबाटै रु दुई लाखभन्दा बढी आम्दानी गर्नुभएको थियो । रानाले दुई वटा माउ बाख्राबाट व्यवसाय सुरु गर्नुभएको हो । अबका दिनमा बिगतको भन्दा दोब्बर बढी आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

“बाख्रा पाल्न थालेपछि हातमा पैसा छैन खाली, एउटै खसीलाई पर्छ रु ३० हजार भन्दा बढी, यो व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छौँ, पाँच जनाको परिवारको लालनपालन राम्रोसँग चलेको छ” उहाँले भन्नुभयो । खोर व्यवस्थापन र घाँसपातको सुबिधा राम्रो भएपछि उहाँलाई व्यवसायमा थप उर्जा मिलेको छ ।

त्यस्तै सोही ठाउँकै उर्मिला सुनारीले गत साउनदेखि हालसम्ममा मात्रै १८ वटा खसी बाख्रा मात्रै बिक्री गरिसक्नुभएको छ । सो बिक्रीबाट करिब रु तीन लाख आम्दानी लिन पाउँदा उहाँलाई व्यवसायमा थप उत्साह मिलेको छ । सुनारीले घरमा पालेको खसी बढीमा ४५ किलोसम्म बिक्री गर्न सफल हुनुभएको छ । उहाँको घरमा हाल सातवटा माउ बाख्रासहित २५ वटा खरी जातका बाख्रा छन् ।

गत आर्थिक वर्षमा करीब रु साढे दुई लाख बराबरको खसी बिक्री गर्नुभएका सुनारीले यसवर्ष गतवर्षको तुलनामा दोब्बर कमाई गर्ने लक्ष्यका साथ व्यवसायमा लाग्नुभएको छ । सुन्तला खेतीमा संलग्न रहेको सुनारीको परिवार अहिले बाख्रापालनमा मात्रै आश्रित बनेको छ । उहाँ भन्नुहुन्छ, “बाख्रामा खासै लगानी गरिएको छैन तर आम्दानी भने नसोँचेको भएको छ, पहिला खाली जग्गामा सुन्तला खेती गरेका थियौँ, त्यसबाट पनि आम्दानी राम्रै थियो तर सुन्तलाको तुलनामा बाख्राबाट अझ बढी आम्दानी हुन थालेपछि अहिले बाख्रापालनलाई मुख्य आयस्रोत बनाएर श्रीमान् श्रीमती नै यस व्यवसायमा आबद्ध छौँ” ।

विसं २०७१ मा हेफर इन्टरनेशनल नेपालले गाउँका महिलालाई बाख्रापालनमा लगानी गरिदिएपछि बाख्रापालनमा महिलाहरु लागेका हुन् । व्यवसायउन्मुख हुदै गरेका महिलाहरुलाई थप प्रोत्साहन गर्न विसं २०७३ मा गल्धा सामाजिक महिला सहकारी गठन भएपछि गाउँभरी नै बाख्रापालन गर्ने महिलाको लहर छायो ।

यस सहकारीले ग्रामीण भेगका महिलालाई समेट्दै २८ वटा उपसमूह बनाएर व्यवसायमा सहयोग गरिरहेको छ । संस्थाले वार्षिक रु दुई करोड ५१ लाख बराबरको कारोबार गर्दै आइरहेको छ । बाख्रापालनमा महिलालाई उत्साहित बनाउँदै गाउँ गाउँमै पुगेर खसी बोका खरिद गरी बजार पठाउने गरेपछि उनीहरु बख्रापालनमा आकर्षित हुँदै गएका हुन् । सहकारीमा हाल पाँच सय १८ सेयर सदस्यमध्ये चार सय ६९ सदस्य बाख्रापालनमा आश्रित छन् ।

एकै व्यक्तिले २५ माउ बाख्रासम्म पाल्ने गरेको पाइएको छ । बाख्रापालनबाट एक सदस्यले कम्तिमा रु एक लाख देखि सात लाख सम्म वार्षिक कमाई गर्न सफल भएका छन् । सदस्यलाई मध्यनजर गर्दै गाउँबाटै सहकारीले एउटा निश्चित दरभाउ कायम गरी जिउँदो खसी बोका तौलेर रु दश सहकारीमा राखेर बजार पठाउने कार्यले बजारीकरणको समस्या झेल्नु परेको छैन । तौलको आधारमा मूल्य भने फरक फरक कायम गरिएको छ ।

बीस किलोसम्मको खसीलाई प्रतिकिलो रु तीन सय ६० मा, २० किलो देखि ३० किलो सम्म रु चार सय २० मा, ३० देखि ३६ किलो सम्म रु चार सय ५० मा बिक्री गर्ने गरिएको छ । त्यस्तै ३६ किलो देखि ४० किलोसम्म रु चार सय ८० मा, ४० किलो देखि ५० किलो सम्म रु पाँच सय, ५० किलो देखि माथिको तौल भएका खसी बोकालाई रु पाँच सय ४० प्रतिकिलो मूल्य कायम खरी खरिद गर्ने गरेको सहकारीका व्यवस्थापक दिलमाया राना बताउनुहुन्छ ।

त्यस्तै बीऊ पाठी प्रतिकिलो तीन सय ४०, ब्याडे बोका पाँच सयमा खरिद गर्ने गरिन्छ । सहकारीले खरिद गरेको सो मूल्यमा प्रतिकिलो केही रकम लिएर बजारमा बिक्री गर्ने गरेको व्यवस्थापक रानाले जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीमा गत आर्थिक वर्षमा नौ सय ९८ वटा खसी बोका खरिद बिक्रिबाट रु दुई लाख ५८ हजार आम्दानी भएको छ । यस आर्थिक वर्षको चैत मसान्त सम्ममा एक हजार २१ वटा खसी बोका खरिद बिक्रीबाट रु दुई लाख भन्दा बढी आम्दानी भइसकेको छ ।

गतवर्ष एक हजार दुई सय बाख्रा खरिद बिक्री गर्ने लक्ष्य राखेको सहकारीले यस आर्थिक वर्षको असार मसान्त भित्रमा एक हजार चार सय खसी बोका खरिद बिक्री गर्ने योजना बनाएको छ । सहकारीले गाउँका पाँच स्थानमा खसी बोका खरिद बिक्री सङ्कलन केन्द्रमार्फत् नवलपुरको कावासोती, पोखरा, पाल्पाको रामपुर बजारमा खपत गर्दै आएको छ । निस्दी गाउँपालिकाको वडा नं ५ गल्धालाई मात्र कार्यक्षेत्र बनाएर काम गरिरहेको सहकारीले अब वडा नं ३ झिरुवास र वडा नं ६ अर्चलेसम्ममा क्षेत्र बिस्तार गर्ने योजना बनाएको छ ।

महिलालाई बाख्रापालनमा गाउँपालिकाको सहयोग

यहाँका महिलाहरुले बाख्रापालनमा राम्रै कमाई गर्न थालेपछि निस्दी गाउँपालिकाले बाख्रा सहयोग कार्यक्रम ल्याएको छ । खसी बोका उत्पादन गरी गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन र ग्रामीण भेगका महिलाको आयस्तर उकास्न महिला लक्षित बाख्रा प्रवद्र्धन कार्यक्रम पालिकाले सुरु गरेको छ ।

गाउँपालिकाले स्थानीय गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थासँग साझेदारी गरी बाख्रा प्रवद्र्धन कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा सहकारीमा आबद्ध एक सय महिलालाई एक÷एक वटा माउ बाख्रा निशुल्क सहयोग गरिएपछि बाख्रापालनमा उनीहरू थप आकर्षित बनेका छन् । साथै सहकारीको मातहतमा रहेका दशवटा समूहलाई एक÷एक वटा उन्नत जातको बोका समेत उपलब्ध गराइएको छ ।
गाउँपालिकाको पशु सेवा शाखाले सङ्घीय बजेट अन्तर्गत सशर्त कार्यक्रममार्फत् रु नौ लाख ९० हजार, गाउँपालिकाको लागत साझेदारी कार्यक्रमबाट रु नौ लाख ९० हजार र सहकारीको रु तीन लाख २३ हजार गरी करिब रु २३ लाखको लागतमा बाख्रा वितरण गरिएको हो । सहकारीले पशु सेवा शाखाको उद्देश्य पूरा गरेको र खसी बोका राम्रो उत्पादन गरी बजारमा बिक्री गर्न सफल भएकाले बाख्रापालनमा गाउँपालिकाले सहयोग गरेको निस्दी गाउँपालिका पशु सेवा शाखा संयोजक ओमबहादुर मश्राङ्गीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले निर्वाहमुखी बाख्रापालन गर्ने पुरानो संस्कार छाडेर आधुनिक प्रबिधिबाट व्यावसायिक बाख्रापालन गरेर आत्मनिर्भर बनाउन बाख्रा प्रवद्र्धन कार्यक्रम ल्याएको जानकारी दिनुभयो । “भूगोलको हिसाबले कृषि र पशु क्षेत्रका कार्यक्रम गर्न निस्दी गाउँपालिका उपयुक्त रहेको हुदा गाउँपालिकाले आम्दानी बढाउने उद्देश्यले महिलालाई प्रोत्साहन गर्दै बाख्रा अनुदानमा सहयोग गरेका हौँ”, अध्यक्ष सारुले भन्नुभयो ।

बाख्रापालन आर्थिक उपार्जनको स्रोत भएकाले महिलालाई व्यवसायी बन्ने अवसर दिएको सहकारीका अध्यक्ष तीरणकुमारी श्रेष्ठले बताउनुभएको छ । निस्दीमा हेफर इन्टरनेशनल नेपालले आधारशीला तालिम दिएपछि महिलाले व्यवसायिकतालाई जोड दिदै बाख्रापालन गर्दै आएका छन् । गाउँपालिकाको सहयोगमा बाख्रा पाएपछि आयआर्जन वृद्धि गर्न थप टेवा पुग्ने सीता अर्याल बताउनुहुन्छ ।

“गाउँमा प्रायः सबैका घरमा बाख्रा पालिएको छ, केहीले ठूलो सङ्ख्यामा पाल्नुभएको छ भने केहीले दुई÷चार वटा भएपनि बाख्रा पालेकै हुनुहुन्छ, महिलालाई प्रोत्साहनका लागि गाउँपालिकाले थप माउ बाख्रा सहयोग गरेपछि व्यवसायमा जोश जाँगर बढेको छ”, उहाँले भन्नुभयो, “यस सहकारीले विशेषगरी बाख्रापालनमा जोड दिँदै आएको छ । ग्रामीण भेगमा घाँसपात र चरनको प्रशस्त सुबिधा, बजारमा खसी बोकाको माग दिनहुँ बढ्दै जानु र बाख्रा पालेर राम्रै कमाउन सक्ने सम्भावना देखेपछि यस सहकारीका महिला बाख्रापालनमा आकर्षित भएका हुन् ।

बजारमा मासुको मूल्य वृद्धिहुँदै गएको अवस्थामा आर्थिक क्षेत्रमा परनिर्भर रहने यहाँका महिला अहिले घर घरमा बाख्रा पालेर आत्मनिर्भर बन्दैछन् । सहकारीले बाख्रापालनका अतिरिक्त अदुवा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ भने स्थानीय जातका कुखुरा संरक्षण जस्ता विभिन्न कृषि कार्यमा अगाडि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *